गाउँगाउँमा ‘सेतो पुतली झुस’ समस्या

धु्रवसागर शर्मा/गलेश्वर, ३ असोज । म्याग्दीका शहरी क्षेत्र तथा ग्रामीण भेगमा ‘सेतो पुतलीको झुस’को समस्या देखिएको छ । घरघरका भित्तादेखि सार्वजनिक संस्था, सरकारी तथा निजी क्षेत्रका कार्यालय र बिजुलीका खम्बालगायत ठाउँमा ‘झुस’ ले सर्वसाधारण हैरान भएका हुन् ।

जिल्ला सदरमुकाम बेनी बजारका १८ वर्षीय युवा अमृत पुनको झुस आँखामा परेर ज्योति नै गुमेको छ । सेतो पुतलीबाट विशेषगरी विद्यार्थी र युवायुवती बढी प्रभावित भएका चिकित्सकले बताएका छन् ।

गत भदौ पहिलो सातादेखि सुरुआतभएको समस्याबाट जिल्लाका अधिकांश क्षेत्र प्रभावित बनेका छन् । गत भदौको दोस्रो साता झुस आँखामा परेर समस्या भएपछि उपचारका लागि बेनी अस्पताल पुगेका युवा पुनलाई तुरुन्तै पोखराको हिमालय आँखा अस्पताल पठाइएको थियो । पुनको आँखाको रेटिना पुरै बिग्रिसकेकाले ज्योति गुमेको बेनी अस्पताल आँखा उपचार शाखाकी नेत्र सहायक प्रकृति ढुङ्गानाले जानकारी दिनुभयो ।

चिकित्सकीय भाषामा सेतो पुतलीको झुसबाट आँखाको ज्योतिमा पर्ने नकारात्मक असरलाई सिजनल हाइपरसुट पन्युवाइटिस (एसएचएपीयू–सापु) नामकरण गरिएको छ । ग्रामीण भेगमासमेत सापुका बिरामी बढेका स्थानीयले बताएका छन् । जिल्लाका बेनी नगरपालिकासहित मालिका, मङ्गला, धवलागिरि र रघुगङ्गा गाउँपालिकामा आँखाका बिरामी बढेका र यसो हुनुका कारण सेतो पुतलीको झुस नै रहेको आँखा उपचार शाखाका दिनेश बानियाँले बताउनुभयो ।

चिकित्सकका अनुसार सापुका लक्षणमा सुरुमा आँखा रातो हुने, चिप्रा नलाग्ने तथा उज्यालोमा हेर्न नकिदैन  । साथै आँखाको दृष्टिमा कमी तथा नानी सेतो हुँदै जाने र पीप जम्छ । “यसको उपचार भनेकै जतिसक्दो छिटो पीप निकाल्नु हो”, हिमालय आँखा अस्पतालकी मेडिकल डाइरेक्टर डा इलिया श्रेष्ठले भन्नुभयो, “४८ घण्टाभित्र उपचार भए निको हुन सक्छ ।”

झुस आँखामा परेपछि समस्या भई आँखा उपचार केन्द्रमा उपचारका लागि आउने बढेका आँखा उपचार केन्द्रकी नेत्र सहायक ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार झुसले भदौ दोस्रो सातापछि कम्तीमा १२ सङ्क्रमित उपचारका लागि केन्द्रमा आएका छन् । उनीहरूमध्ये बेनी अस्पतालबाट चार, नेत्रज्याति सङ्घ आँखा उपचार केन्द्रबाट चार गरी आठ जनालाई पोखरा पठाइएको थियो अन्यको बेनीमै उपचार भइरहेको छ ।

आँखाको नानीमा पुतलीको धेरै झुस गाडिएका कारण आँखा सुक्खा हुने भएकाले उपचारमा समस्या हुने गरेको र त्यस्ता बिरामीलाई पोखरा पठाइएका सङ्घ आँखा उपचार केन्द्रका नेत्र अधिकृत दिनेश बानियाँले बताउनुभयो ।

बागलुङ, पर्वत र कास्कीमासमेत सेतो पुतली बढ्दै गएको पाइएको छ । साँझ बत्ती बाल्ने समयमा देखापर्ने पुतलीको बाक्लो झुण्ड बिहान उज्यालो भएसँगै हराउने गरेको सर्वसाधारण बताउँछन् ।

सेतो पुतलीको प्रजननको याम पनि भएका कारण यो समयमा अघिल्ला वर्षभन्दा बढी मात्रामा पुतली देखिएका छन् भने बिरामीको सङ्ख्या पनि उत्तिकै बढेको मेडिकल डाइरेक्टर डा श्रेष्ठले जानकारी दिनुभयो ।

कसरी हुन्छ सङ्क्रमण

चिकित्सकका अनुसार सेतो पुतली छोएर वा अन्य माध्यमबाट यसको रौँ आँखासम्म पुगेमा सापुको सङ्क्रमण फैलिन सक्छ । सङ्क्रमण भएमा आँखा दुख्ने, रातो हुने तर चिप्रा नआउने, आँखाको नानी सेतो हुँदै जाने, आँखा सुख्खा हुने जस्ता लक्षण देखिन्छन् । उपचारमा ढिलाइ भए क्रमशः आँखा कम देख्दै दृष्टि नै पूर्णरूपमा गुम्नसक्ने बताइएको छ ।
बेनी आँखा उपचार केन्द्रका चिकित्सक बानियाँका अनुसार प्रायः एउटा आँखामा मात्रै देखिने यो रोगले धेरै छिटो असर गर्ने गर्छ । यो रोगले जुनसुकै उमेर समूहका मानिसलाई सताए पनि बालबालिकालाई बढी आक्रमण गरेको पाइन्छ ।

झुसबाट बच्नका लागि भरसक सेतो पुतली भएको ठाउँमा नजान, जानै परे चस्मा लगाउन र आफू बसेको ठाउँमा पुतली आए सजग हुन र हात वा शरीरका अन्य भागमा पुतली बसेमा वा छोइएमा साबुन पानीले हात धुन चिकित्सकको सुझाव छ । यसैगरी सुत्ने बेलामा घरका झ्याल ढोका बन्द राख्ने, झुल प्रयोग गर्ने र बच्चालाई सुरक्षित राख्न सक्ने हो भने झुस समस्याबाट बच्न सकिने जनाइएको छन् । (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖