लालीगुराँस नगरपालिका : मुसाङ्गखेलको कृषि पर्यटन संभावना

जीवनप्रसाद राई ।

अवधारणा :
देश संघिय प्रणालीमा गएपछि स्थानीय तहहरुले कृषि पर्यटन क्षेत्रमा समेत प्रभावकारी काम गर्ने अधिकार पाएका छन । धेरै स्थानीय तहहरुले आ आफनै तरिकाले कार्यक्रमहरु गरिरहेका छन् ।

आ-आफनै तरिकाले गरिने त्यस प्रकारको कार्यहरुले कति प्रभावकारी कामहरु भए त्यो मुल्यांकनको बिषय होलान तर यस लालीगुराँस नगरपालिकाले आफनो कार्यक्षेत्रमा कस्तो प्रभावकारी कार्य गर्न सकिन्छ त्यो भने महत्वको बिषय हो । ९ वडामा बिभाजित यो नगरपालिका भित्र एकैपटक सबै कृषि पर्यटनको प्रभावकारी कार्य गर्न सकिदैन । यसरी संभव हुन नसक्नुमा आर्थिक, स्रोतसाधान तथा मानवीय सीप अनि साधनको अभावका कारणले हो ।

थोरै रकमबाट हुने प्रभावकारी कार्यको लागि एउटै वडाको पनि निश्चित ठाँउमा मात्रै यस्ता कार्यक्रम संचालन गरि प्रभाव बिस्तार गर्न सकिएमा त्यसबाट सिंगो नगरपालिका तथा अन्य क्षेत्रमा समेत प्रभाव बिस्तार गर्नेछ । यस नमुना कृषि पर्यटनको कार्यक्रम लागु गर्नका लागि मुसाङ्गखेल उपयुक्त यसकारणले देखिन्छ । खाँटी लिम्बु संस्कार भएको बस्ती तथा पानी, प्राकृतिक सौन्दर्यको खानी भएको ठाँउ । यसका साथै ग्रामीण कृषि सडकको पनि बिस्तार भईसकेको फाईदा पनि ।

 

 

उद्धेश्यहरु :

प्रस्तुत कार्यक्रमको निम्न खालका उद्धेश्यहरु रहेका छन ।

१) परियोजना शुरु भएको ५ बर्ष भित्रमा कार्यक्रम लागु भएको ठाँउ तथा नगरक्षेत्र भित्रको प्रतिब्यक्ति आय कम्तिमा पनि रु ३ हजार अमेरिकी डलर पुर्याउने ।
२) कार्यक्रम लागु भएको ५ बर्ष भित्रमा मुसाङखेल क्षेत्रलाई नेपालकै नमुना कृषि पर्यटन क्षेत्र तथा प्रमुख पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्ने ।
३) बृहतम आधुनिक प्राचीन बिषयहरुको संगमस्थल बनाई बिधार्थीहरु, बृद्धाहरु, सरोकारवालाहरु तथा नीति निर्माण तहका ब्यक्तिहरुका लागि अध्ययन तथा अवलोकन क्षेत्रको रुपमा बिकास गर्ने ।
४) चरा, निगुरो, तरकारी, जंगली जनावर, माछा, फलफुल, वनस्पति, फुल, पुस्तकालय, होम स्टे (घरबास), लिम्बु संस्कार संस्कृति, नमुना घर, लगायतको संगमस्थल बनाउने ।
५) बिभिन्न वनस्पति, फलफुल तथा कृषिवन जन्य बस्तुहरुको प्रसस्त्रै मात्रामा बिरुवाहरु पाउने स्थानको रुपमा बिकास गर्ने ।

गरिने कृयाकलापहरु :

यस परियोजनालाई मुर्तरुप दिनका लागि निम्न खालको कृयाकलापहरु गरिनेछन ।

१) होम स्टे लाई दर्ता प्रकियामा लैजानुपर्ने ।

यसलाई दर्ता गरिसकेपछि आवश्यक रुपमा पुर्वाधारहरु निर्माण गरिदै जानुपर्नेछ । जस्तै कम्तिमा पनि ५ घर आवश्यक पर्नेछ भने बाँकी रहेका अरुले पनि यो काम गर्छु भनी प्रतिबद्धता जनाएमा यसलाई बढाउदै जानुपर्नेछ । होम स्टे नै मुख्य गन्तब्यको रुपमा स्थापित हुनेछ । यसलाई प्रतिफलयुक्त बनाउनका लागि अन्य बिबिध खालका कार्यहरु साथ साथमा गरिनुपर्नेछ । यो होम स्टे मा लिम्बु संस्कार संस्कृतिमा आधारित खाना, बस्न, तथा नाचगान एवं साँस्कृतिक कार्यक्रमहरु समेत समावेश गरि पर्यटकहरुलाई आकर्षित गर्ने ।

२) चरा तथा जंगली जनावरहरु हेर्न पाउने ब्यवस्था र साईनबोर्डहरु राख्ने ।

केवल होम स्टेका लागि मात्रै पनि मानिसहरु आउदैनन तर त्यहाँ अन्य हेर्न पर्ने प्रसस्त्रै खालका बिषयहरु भएमा त्यसले पर्यटकहरुलाई आकर्षण गर्नेछ । त्यही भएर यहाँ पाईने चराहरुलाई चरा बिज्ञ ल्याई तिनको बिषेशता तथा तिनको ठुला ठुला फोटोहरु राखि यहाँ यस प्रकारका चराहरु हेर्न पाईनेछ भनेर कार्य गर्ने । साथै यहाँ आउने मानिसहरुले जंगली जनावरहरु समेत हेर्न पाउने ब्यवस्था गर्ने । यहाँ आउने पर्यटक तथा बाल बच्चाहरुलाई समेत बिहानै तथा बेलुकापख चराहरु हेर्न पाईने ठाँउमा कार्यव्रmमहरु बनाई घुमाउने । यो एउटा आर्कषण हुनेछ ।

३) होम स्टेलाई नै आर्कषण गर्नका लागि नै माछापालन ब्यवसायलाई प्रर्बदन गर्ने ।

भकारी माछापालन ब्यवसायलाई प्रोत्साहन गर्दै यसलाई प्रभावकारी ढंगले कार्य गर्ने । खासमा यो मुसाङखेलमा धेरै जसो मानिसहरु लिम्बुहरु नै भएकोले उनीहरुको जीवनस्तर उकास्दै यसलाई नयाँ बिकासे मोडल बनाउन कार्य गर्ने । थोरै पानी तथा थोरै ठाँउमा माछा पालेर पनि निकै आम्दानी गर्ने ठाँउको रुपमा बिकास गर्ने यसै गरि यो माछापालन ब्यवसायलाई पर्यटकहरुका लागि एउटा महत्वपुर्ण गन्तब्यको रुपमा समेत बिस्तार गर्ने ।

४) माछाका नमुना प्रदर्शनी तथा अवलोकन क्षेत्र :

भकारी माछापालनलाई प्रोत्साहन गर्दै यसलाई नै नमुना कृषि पर्यटन कार्यव्रmम बनाउनका लागि नेपाली खोला नालामा पाईने प्राय सबै प्रकारका माछाहरुलाई संकलन गरि राम्रो संगले मार्वलको कोठा बनाई सफा पानीमा माछा पालेर यसलाई समेत पर्यटकीय गन्तब्य बनाउने । जसमा बिधार्थीहरु यसका सरोकारवाला निकाय तथा यसलाई एउटा गन्तब्यको रुपमा बिकास गर्नका लागि माछामा’र्न सुबिधा हुने, यसैगरि माछा हेर्नका लागि दाना किनेर लैजानुपर्ने, आदिको समेत ब्यवस्थापन गर्न सकिन्छ । यसका लागि दुई प्रकारको सुबिधा दिनुपर्नेछ । बिना शुल्क पनि माछा हेर्न पाउने तथा शुल्क सहितको माछा हेर्न पाउने अलग्लै ब्यवस्थापन गरिनु पर्दछ ।

५) हाँस तथा टर्कीपालन:

पर्यटकहरुलाई नै आकर्षित गर्ने उद्धेश्य अनुरुप हाँस तथा टर्कीको ब्यवसायलाई समेत प्रबर्धन गर्ने जसमा स्थानीय ब्यक्तिहरुलाई धेरै भन्दा धेरै मात्रामा सहभागी गराउने तथा तालिम तथा भ्रमणको ब्यवस्था गर्ने । यसलाई समेत आम्दानीको प्रमुख ब्यवसाय बनाउने ।

६) कुखुरापालन ब्यवसाय :

होम स्टेलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि स्थानीयलाई आकर्षक रुपमा कुखुरापालन तर्फ आकर्षित गर्ने कार्यव्रmमलाई अगाडि बढाउने । लोकल कुखुराको सबैभन्दा नजिकको बजार भनेको नै होम स्टे हो र बाँकी भएको कुखुराहरुलाई अन्यत्र बजारमा समेत पुर्याउने लक्ष्य राखी कार्य गर्ने ।

७) ढाका कपडा बुनाई ब्यवसाय :

ढाका कपडा बुनाई लाई ज्यादै प्राथमिकता दिने साथै यसबाट बनाउन मिल्ने बिभिन्न खालका सामाग्रीहरु निर्माण गरि यसलाई कोशेली घरको रुपमा स्थापित गर्ने र यो ठाँउमा अन्य बिभिन्न कोशेलीहरुलाई समेत राखेर पर्यटकहरुलाई कोशेली बोक्नका लागि प्रोत्साहित गर्ने ।

८) फुल खेती र प्रर्बधन :

होम स्टेलाई प्रभावकारी बनाउन तथा होम स्टेमा आउने पर्यटकहरुलाई स्वागत गर्नका लागि समेत आवश्यक पर्ने फुल खेतीलाई प्रोत्साहन गर्ने । जापानमा पर्यटक बिस्तारका लागि धेरै प्रकारका फुलको बिरुवाहरु रोपिएका थिए रे त्यसले गर्दा जापानको ग्रामीण पर्यटन बिकासमा ज्यादै ठुलो र राम्रो प्रभाव परेको थियो । यस्तै यो क्षेत्रमा फुलको बिभिन्न प्रजातिहरु रोपेर समेत पर्यटकहरुलाई आकर्षित गरिनेछ ।

९) अर्गानिक कृषि बस्तुहरुको उत्पादन तथा प्रबर्धन कार्यक्रम  :

हामीले अर्गानिक कृषि बस्तुको रुपमा बिभिन्न बहसहरु गरिराखेका छौ । अर्गानिक कृषि बस्तु कसरी उत्पादन गर्ने भन्ने बिषयमा धेरै छलफलहरु भई सकेका छन तर यहाँ सजिलो संगले उत्पादन गर्न सकिने तथा प्रकृतिले नै दिएको त्यस प्रकारका कृषि बस्तुहरुको चिनारी गरि उत्पादनमा प्रोत्साहन गर्ने जस्तै ः सिस्नुको उत्पादन र प्याकिङ, निगुरोको उत्पादन तथा यसको प्रशोधन, स्कुस खेतीलाई प्रोत्साहन, चिण्डेको खेती बिस्तारका लागि कार्यक्रम तथा गँदेको खेती गर्ने तरिकाहरु लगायतका कार्यव्रmमहरु गर्ने जस्को बजार होम स्टे हुनेछ ।

१०) धेरै वनस्पतिजन्य बस्तुहरुको प्रदर्शनी कार्यक्रम संचालन गर्ने :

एकै ठाँउमा धेरै भन्दा धेरै कृषि बस्तुहरु, वनस्पतिजन्य बस्तुहरु, फलफुल जन्य बस्तुहरुको नर्सरी स्थापना गरि यसलाई एक आकर्षक गन्तब्यको रुपमा बिकास गर्ने । जहाँ बिधार्थीहरुले बाली बिरुवा तथा बिभिन्न वनस्पतिहरुको जानकारी लिने तथा ज्ञान लिने अवसर पाउन सक्नेछन । नेपालका बिभिन्न ठाँउबाट आउने सरोकारवाला हरुले यहाँ आकर्षक रुपमा बाली बिरुवाहरुको अवलोकन गर्ने अवसर तथा त्यसको ब्यवसायिक बिस्तारको बारेमा महत्वपुर्ण ज्ञान लिएर जानेछन ।

११) स्थानीय स्रोत साधानहरुको भरमर उपयोग गर्ने तरिका :

स्थानीय स्तरमा पाईने बाँस, काठ, माटो र ढुंगाको प्रयोग गरि बस्ने, सुत्ने, खाने, पढ्ने ठाँउहरु बनाउने त्यो पनि आकर्षक तरिकाबाट बनाउने । संस्कृति झल्कने खालको भौतिक पुर्वधारको निर्माण गरि त्यसबाट कामहरु अघि बढाउने । कार्यालय, पुस्तकालय, घरहरुको निर्माण स्थानीय सामाग्रीको प्रयोग गरि बनाईनेछ ।

१२) बालबालिकाको मनोरन्जन स्थलको निर्माण :

खासमा आजभोलिका बाल बच्चाहरु भनेका बिबिध खाले मनोरन्जन मन पराउने हुन्छन । तिनका लागि हामीले नै केही नयाँ यस्ता गन्तब्यहरुको निर्माण गर्न जरुरी रहेको छ । जसमा फुलबारी गार्डेन निर्माण, खेल खेल्ने ठाँउहरुको निर्माण लगायतका महत्वपुर्ण कार्यहरु हुनेछन ।

१३) पर्य पर्यटनका लागि कार्य हरु गरिनेछन :

होम स्टे मात्रै आकर्षक गन्तब्य हुनै सक्दैन । होम स्टेलाई प्रभावकारी बनाउनका लागि पर्यपर्यटनको पनि महत्वपुर्ण योगदान हुनेछ । बिभिन्न प्रजातिका वनस्पति तथा अन्य बन पैदावरहरुको चिनारी तथा खोला नाला छेउमा पाईने बस्तुहरुको समेत परिचय तथा तिनको महत्व दर्शाउने छुटटै खालको ठाँउको निर्माण गरिनेछ । जहाँ मानिसहरु खुशीले घुम्न पाउनेछन र यसको मनोरन्जन लिन पाउनेछन ।

१४) प्राकृतिक थाल बटुकाको प्रयोग गर्ने थलो :

केराको पात, चिउरीको पात तथा सालको पातमा खाने ब्यवस्थापन पनि गरिनेछ । यसो गरिनुको प्रमुख उद्धेश्य हो । यो ठाँउको चिनारीको लागि त छदैछ । यसका साथै यस प्रकारका सामाग्री बनाउने महिला दिदी बहिनीहरुलाई आर्थिक आय आर्जनका लागि समेत महत्वपुर्ण मानिनेछ । भोज, भतेर, पर्व, काज, व्रिmया, बिबाह, ब्रतवन्ध्र आदि र पर्यटकहरुलाई समेत यसबाट महत्वपुर्ण फाईदा हुनेछ । यस प्रकारको कामबाट हाल भारत तथा जर्मनीमा समेत महत्वपुर्ण प्रगति गरिरहेका छन ।

१५) बहुआयामिक अध्ययनशाला पुस्तकालयको निर्माण गर्ने :

हाल नेपालमा अध्ययन गर्ने प्रबृतिको बिस्तार भएता पनि तिव्रगतिमा हुनुपर्ने उक्त कार्य बिस्तारै भएको छ । यही कारणले यो क्षेत्रलाई सिकाई गन्तब्यको रुपमा समेत बिकास गर्ने लक्ष्य लिईनेछ । पत्रकार, बिधार्थी, कृषक, कृषि संग सम्बन्धित नागरिकहरु तथा लामो समयसम्म सस्तोमा बस्न पाउने ब्यवस्था आदिको समेत बिकास गरिनेछ । जो ब्यक्तिहरुले पुस्तकालयबाट प्रसस्त्रै खालका सुबिधाहरु प्राप्त गर्नेछन । यसका लागि फ्रि वाईफाईको ब्यवस्थापन देखि सिकाईका लागि आकर्षक कार्यव्रmमहरु लन्च गरिनेछन ।

१६) कोशेली घरको निर्माण :

यो क्षेत्रमा आउने सबैका लागि एक छुटटै फरक शैली र आकर्षणका लागि कोशेली घरको निर्माण गरिनेछ । जसका लागि नगरपालिकाका सबै महिला तथा सीप भएका ब्यक्तिहरुलाई बस्तु उत्पादनका लािग प्रोत्साहन गरिनेछ । सबै खालका बस्तुहरुको एकै ठाँउमा बेच्ने प्रबन्ध मिलाईनेछ ।

१७) जमघट स्थलको निर्माण :

जसरी सिक्किममा एमजी मार्गमा मानिसहरुको भीडभाड लाग्ने गर्दछ । त्यसैगरि यस ठाँउमा पनि पर्यटकहरु बेलुकीपख घुम्नका लागि एक आकर्षक गन्तब्य बनाईनेछ । यो ठाँउमा बेलुका प्रसस्त्रै मात्रामा रेष्टुरेण्टहरु तथा अन्य खानाका परिकार पाईने तथा किनमेलका लागि समेत सुबिधा भएको ठाँउहरु निर्माण गरिनेछ । फराकिलो ठाँउको रुपमा बिकास गरि यो ठाँउमा एटिएम र अन्य कार्डहरु समेत चल्ने ठाँउको रुपमा बिकास गरिनेछ ।

१८) सर सफाईको कार्य :

प्रसस्त्रै मात्रामा पर्यटकहरु आउने बितिकै यसमा प्रत्यक्ष प्रभाव भनेको नै सरसफाईमा हो । यसका लागि सरसफाई कमिटि तथा अभियान नै संचालन गरिनेछ । जस्मा शरिरीक तथा अन्य ठाँउहरुको लागि हुनेछ ।

१९) तालिमहरु संचालन :

बेला बेलामा यो ठाँउमा तालिमहरु संचालन गरिनेछ । जसमा तालिमका लागि बाहिर लाने तथा तालिम दिने मानिसहरु गाँउमै ल्याएर पनि संचालन गरिनेछ । ग्रामीण संस्कृतिमा आधारित खानेकुराहरु बनाउने तालिम, संस्कृतिका लागि तालिम, अन्य बस्तुहरु निर्माण गर्ने तथा पर्यटकहरुलाई सधै खुशी बनाउनका लागि तालिम तथा बजार ब्यवस्थापनका लागि समेत तालिमका प्याकेजहरु संचालन गरिनु पर्ने हुन्छ । यसका लागि समेत कार्यहरु गरिनेछ ।

लगानी स्रोत जुटाउने तरिका तथा गरिने प्रयासहरु :

यस कार्यक्रम संचालन गर्नका लागि लगानीको मात्रा पनि निकै नै लाग्ने हुन्छ र यसमा पैसाको लगानी मात्रै नभएर जनसहभागिता पनि उतिकै आवश्यकता पर्दछ । यसैगरि तन, मन र धन तिनवटै कुराहरुको संगम चाहिन्छ । कुनै पनि काम सम्पन्न गर्नका लागि ईच्छाशक्तिको राम्रो आवश्यकता पर्दछ भने यसैगरि स्थानीय जनताको साथ पनि चाहिन्छ । सबैभन्दा पहिला स्थानीय स्रोत साधानको परिचालन गर्दै यसमा हामीले लगानीको स्रोत पनि जुटाउने प्रयत्न निम्न प्रकारले गरिनेछ ।

१) सर्बप्रथम स्थानीय स्तरमा रहेको जमिनहरु स्थानीयहरुले सरल रुपमा कार्यक्रमको लागि प्रदान गरिनु पर्दछ । किन्नका लागि पनि सहुलियत तथा कतिपयले जमिन कार्यक्रमको लागि सितैमा दिएमा त्यसले निकै राम्रो प्रभाव पर्नेछ । यसैले सकेसम्म यहाँका जनताबाट जमिनहरुलाई सम्झौता गर्दै अगाडि बढ्नु पर्दछ ।

२) यस कार्यक्रमको लागि सबैभन्दा भरपर्दो आर्थिक स्रोत नै लालीगुराँस नगरपालिका हो । यसबाट नमुना कार्यव्रmमको लागि निरन्तर रुपमा रकमको आशा गर्न सकिन्छ । तर धेरै कामहरु सम्पन्न गर्नुपर्ने हुनाले प्रदेश सरकार तथा केन्द्र सरकारको पनि उतिकै अनुदान तथा आर्थिक सहयोग आवश्यकता पर्दछ । यसैले सोही अनुसारको कार्यक्रम तय गरि कार्यक्रमलाई अगाडि बढाईनेछ ।

३) छिमेकी दातृ निकायहरु जस्तै भारत, भुटान तथा अन्य दक्षिण एसियाली मुलुकहरुको समेत साथ खोजिनेछ । यसका साथै मित्र राष्ट्र चीनको समेत साथ खोजिनेछ । तर सबैभन्दा बढी भरपर्दो आफनै साधान र स्रोतहरुलाई लिईनेछ ।

४) नेपालमै काम गर्ने बितिया संस्था तथा यस्तै अन्य कुनै परोपकारी संस्थाहरुको समेत साथ र सहयोग लिईनेछ ।
५) नियमित रुपमा कोषको कार्यव्रmमलाई अगाडि ल्याईनेछ । सकेसम्म स्थानीय नागरिकहरुलाई कोष जम्मा गर्नलाई प्रोत्साहन तथा उत्साहित गरिनेछ । यो सबैभन्दा बलियो आधार हुनेछ ।
६) स्थानीयहरुको सहयोग भएमा केही बित्तिय संस्थाबाट समेत क्रृण लिएर काम गरिनेछ । तर यो कामलाई भने अन्तिम बिकल्पका रुपमा मात्रै गरिनेछ । साथै यो काममा नगरपालिकाले स्पष्ट रुपमा दह्रो साथ दिन आवश्यक हुन्छ ।

७) दातृ निकायको साथ सहयोग पाउनका लागि आवश्यक सम्पुर्ण बिकल्पहरु प्रयोग गरिनेछ ।
८) यस कार्यव्रmमलाई अगाडि बढाउनका लागि व्रmाउड फन्डिङ्गको समेत सहयोग लिईनेछ । र यहाँ लगानी गर्न चाहनेहरुका लागि समेत स्थान खुल्ला गरिनेछ ।
९) ब्यक्ति, संस्था वा अन्य हरुलाई समेत लगानी गर्ने र ल्याउने बातावरण तयार गरिनेछ ।

यस कार्यक्रमलाई अगाडि बढाउनमा बलियो तथा कमजोर पक्षहरु :

कमजोर पक्षहरु :
-यहॉंका मानिसहरुमा बाटो खन्ने समयमा ठेक्का दिने चलन चलाईएको हुनाले उनीहरुलाई यो कार्यक्रम गाँउकै लागि र आफनै लागि हो भन्ने र यसबाट गाँउको बिकास हुने कुरामा सम्झाउन तथा बुझाउनलाई निकै समय लाग्नेछ ।
– चेतना जगाउनु पर्ने निकै ठुलो आवश्यकता देखिन्छ ।
– खासमा कामको मेलोमेसो नपाएका एकल जातिहरुको बसोबास भएकोले पनि यहाँ काम गर्नका लागि निकै समस्या रहेको छ ।
– सामाजिक परिचालनको अभाव निकै देखिन्छ ।

बलिया पक्षहरु :
– कार्यक्रम अगाडि बढाउनका लागि यहाँका मानिसहरु कन्भिन्स भएका खण्डमा उनीहरु जमिन दिन पनि तयार रहेका छन् । कार्यक्रम संचालन गर्न मोडल परियोजनाका लागि जमिन पहिलो शर्त हो ।
– कार्यक्रमको मर्म बुझिसकेपछि र केही आम्दानी हुने देखिसकेपछि भने यहाँका मानिसहरु मेहनत गर्नका लागि पनि निकै अघि सार्नेछन । जुन परियोजनाको लागि निकै राम्रो पक्ष हो । यसैगरि पैसा आउने भएमा यहाँका मानिसहरु काम गर्न सक्छन ।
– संस्कृति परम्परा तथा एकल जातिय कुराको लागि यो ठाँउ निकै राम्रो मानिन्छ । यहाँका मानिसहरुमा त्यागी भावनाको बिकास गर्न सकिएमा त्यसले निकै राम्रो काम गर्न सक्नेछ ।

– यहाँ तुलनात्मक रुपमा जाँ’ड र’क्सी खाने मानिसहरुको उपस्थिति कम रहेको छ । बाहिरका मानिसहरु यहाँ आउँदा यस्तै खालको बातावरण आवश्यकता पर्दछ ।
– यहाँ दुवैतिर खोलानालाहरु भएको कारणले गर्दा पर्यवरणीय प्रभाव ज्यादै राम्रो देखिन्छ । जसका कारण यहाँ बाहिरबाट पर्यटकहरु ल्याई प्रसस्त्रै मात्रामा देखाउने ठाँउको बिकास गर्न सकिन्छ ।
– यहाँ मोटरबाटो बनिसकेको र त्यसलाई बर्षादमा पनि चल्ने बनाउनका लागि मात्रै कार्य गर्नपर्ने देखिन्छ । यो पनि सकारात्मक पाटो नै हो ।

प्रस्तुत कार्यक्रम संचालनका लागि चाहिने समय सीमा :

कार्यक्रम संचालन शुरु भएको २०७६ चैत महिना देखि हो । तिव्रगतिमा कार्यक्रम संचालन गरि २०८१ चैत महिना सम्ममा सम्पुर्ण कार्यक्रमहरु संचालन गरिसक्नु पर्नेछ भने । यसलाई न्युनतम संचालन मात्रै गर्नका लागि २०७७ साल चैत महिना देखि नै हुनेछ ।

यसको बजारीकरण तथा बिज्ञापन गर्ने तरिकाहरु :

कुनै पनि परियोजनालाई सफलतापुर्वक संचालन गरेर मात्रै पनि हुदैन । त्यसबाट प्रतिफल राम्रो संगले प्राप्त हुन सकेन भने परियोजनाले प्रभाव बिस्तार गर्न सक्दैन र निरन्तरता पनि पाउन सक्दैन । यसैले यो परियोजनाको सफलता भनेको नै पहिलो घुम्न र आकर्षणको लागि प्रसस्त्रै ठाँउहरु बनाई त्यसलाई उचित तरिकाको बजार प्रबर्धन गर्नु हो । अत यसैले यो परियोजनालाई बजार प्रबर्धन गर्ने तरिकाहरु निम्न अनुसारको रहेको छ ।

– पुर्व प्रधानमन्त्री, मन्त्री तथा बहालवाला मन्त्रीहरुलाई यो ठाँउसम्म बेला बेलामा ल्याई कार्यक्रमहरु संचालन गर्ने ।
– कलाकार, पत्रकार, ब्यापारी तथा सामाजिक अभियन्ताहरुलाई समेत यो गाँउ ठाँउ सम्म आउनलाई प्रोत्साहन गर्ने ।
– स्कुल तथा कलेजहरुमा मार्केटिङ गर्ने यसलाई शैक्षिक पर्यटन र कृषि पर्यटनको रुपमा बिकसित गर्ने ।
– बेला बेलामा पत्रिकामा बिज्ञापन समेत गर्नुपर्दछ ।

– यसका साथै बिभिन्न संघ, संस्था एवं संगठनहरुलाई समेत यहाँ कार्यक्रम संचालन गरिदिनका लागि अनुरोधहरु गर्ने ।

(नोट : यो लेखकले परिकल्पना गरेको परियोजना मात्रै हो । स्थानीय स्तरमा हरेक नगरपालिका तथा गाँउपालिकाहरुले यसैगरि योजना बनाउन सकिन्छ । लेखकले ७७ वटै जिल्ला ८ बर्ष लगाएर कृषि पर्यटनको अभियान लिएर देशाटन गरेका थिए । प्रस्तुत परियोजना नमुनाका लागि लेखकको आउदै गरेको पुस्तक “कृषि पर्यटनमा” समेत समावेश गरिएको अंशबाट यहाँ प्रस्तुत गरिएको हो । -सम्पादक)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।