११९ वर्षीया बाटुली लामिछानेको नाम ‘गिनिज बुक’मा लेखाइँदै

काठमाडौं । बिहान–बेलुका दूधसँग मासिनो गरी पिसेको भात अनि अरु समयमा हर्लिक्स, बिस्कुट र झोल पिएर ११९ वर्षीय सर्वज्येष्ठ नागरिक बाटुली लामिछानेको दैनिकी बित्ने गर्छ । परिवारमा पाँच पुस्ताको फैलावट भइसके पनि हजुरआमा लामिछाने अहिलेसम्म स्वस्थ्य देखिन्छिन् । दाँत झरेका कारण मुखबाट समय–समयमा केही ¥याल आउँछ । फुलेका कपाल खासै झरेका छैनन् । आँखा तेजिला देखिन्छन् । बोली स्पष्ट नभए पनि अरुले कानमा पुगेर भनेका कुरा सुन्ने र बुझ्न सक्छिन् । नजिकै आएकालाई शरीरको हाउभाउबाट प्रतिक्रिया दिनसक्ने हजुरआमाका आमा लामिछाने सम्भवतः विश्वकै ज्येष्ठ नागरिक भएकाले उहाँको नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा दर्ज गराउने अन्तिम तयारी भएको छ ।

लामिछाने विश्वकै ज्येष्ठ नागरिक भएको उहाँको स्वास्थ्य परीक्षणबाट पनि पुष्टि भइसकेको छ । हालसम्म विश्वमा ११८ वर्षीय जापानी नागरिक काने तानाकाको नाममा उक्त रेकर्ड देखिएको छ । तानाकाभन्दा जेठी लामिछानेलाई नेपालले अभिलेखीकरणको प्रक्रियामा ढिलाइ गरेकाले उक्त विश्व पहिचान प्राप्तिमा ढिलाइ भएको हो । नुवाकोटको ककनी गाउँपालिका–८ थानसिंह निवासी छविलालकी श्रीमती लामिछानेको आवासका लागि बाटुली लामिछाने फाउण्डेशनले निर्माण गरेको बाला भवन बिहीबार हस्तान्तरण कार्यक्रममा यी हजुरआमालाई ह्विलचियरमा राखेर मञ्चमा लगिएको थियो ।

उनी झण्डै पाँच घण्टासम्म एकै ठाउँमा रहेर अरुले लगाइदिएको खादा, दोसल्ला ओढेर बसिन् र सहभागीको आकर्षणको केन्द्र भइरहिन् । ‘मलाई आशीर्वाद दिनुस् आमा’ भन्दै खुट्टा ढोग्न पुग्नेलाई टाउकामा हात राखिदिने, ‘मलाई चिन्नुभो ?’ भन्नेहरुलाई एकछिन हेरेर हाँसिदिनेजस्ता उहाँका व्यवहार टाढाबाट त्यहाँ पुगेकाका लागि अप्रत्यारिला लाग्थे तर उनलाई वर्षौैँदेखि देखिरहेका छिमेकी केदार भण्डारी भन्छन्, “उहाँ बलियो हुनुहुन्छ, अझै केही वर्ष केही हुँदैन, तर राज्यले उहाँलाई विश्वकै ज्येष्ठको पहिचान दिलाउन भने ढिलाइ गर्नु हुँदैन ।”

लामिछानेका ८१ वर्षीय छोरा नेत्रप्रसाद लामिछाने रातिको समयमा आमालाई पिसाब आउँदा उठेर हिँड्न पनि सक्ने र त्यसक्रममा लड्नसक्ने भएकाले एक जनाले नियमित रेखदेखको काम गर्ने गरेको बताउँछन् । बुहारी ईश्वरी लामिछानेका अनुसार सासुआमालाई हालसम्म कुनै गम्भीर रोग नभएकाले उपचारका लागि अस्पताल लैजान नपरे पनि पछिल्लो समयमा कहिलेकाहीँ ज्वरो आउने भएकाले औषधि खुवाउने गरिएको छ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकास्थित गिरानचौरमा विसं १९५९ चैत १० गते आमा देवीकुमारी तिवारी र जयनारायण तिवारीको कोखबाट जन्मिएकी उनलाई विसं २०७० वैशाख २४ गते जिल्ला प्रशासन कार्यालयबाट खटिएको टोलीले घरमै आएर नागरिकता दिएको थियो ।

नवनिर्मित भवन हस्तान्तरण गराउँदै बागमती प्रदेशका सदस्य बद्री मैनालीले लामिछानेलाई ‘जीवित देवी’को उपमा दिँदै उनको नाम विश्व रेकर्डमा लेखाउन आफ्ना तर्फबाट पनि आवश्यक सहजीकरण भइरहेकाले रेकर्ड कायम भएमा मुलुककै र गाउँको नाम थप फैलने बताए । सय वर्षभन्दा माथि पुगेका ज्येष्ठ नागरिकको मासिक भत्ता कम्तीमा रु २५ हजार हुने गरी बजेट तय गर्न पनि पहल भइरहेको बताउँदै उहाँले ज्येष्ठ नागरिकबारे अध्ययनका लागि कलेज खोल्नेतिर पनि सोच्नुपर्ने जनाए ।

नेपालमा सय वर्षमाथिका नागरिक करिब चार हजार छन् । प्रदेशका निवर्तमान कृषि राज्यमन्त्री मैनालीको प्रदेश विकास कोषको रु १० लाख र अन्य सहयोगमा हाल लामिछाने बस्दै आएको स्थलभन्दा माथिल्लो बारीमा एक वर्ष लगाएर उक्त एकतले भवन निर्माण गरिएको फाउण्डेशनका अध्यक्ष भवानी दाहालले जानकारी दिए ।

मैनालीले लामिछानेलाई मासिक रु पाँच हजार खर्च पनि दिँदै आएका छन् भने गाउँपालिकाले मासिक रु १० हजार भत्ता दिँदै आएको छ । सो भवन निर्माणका लागि छिमेकी देवकी धितालले आठ आना जग्गा दान गरेका थिए । ककनीस्थित प्रहरी चौकीबाट चार किलोमिटरको ओरालो मोटरबाटोमा रहेको यस स्थानको जग्गाको मूल्य हाल प्रतिरोपनी करिब रु १२ लाख रहेको छ । उक्त वडाका वडाध्यक्ष एवं नेकपा (एमाले) का ककनी गाउँपालिकाका अध्यक्ष शेषमान लामाले विश्व रेकर्ड कायम गर्न स्थानीयस्तरबाट सबै प्रक्रिया पूरा भइसकेको बताए ।

राष्ट्रिय ज्येष्ठ नागरिक कोषका अध्यक्ष वसन्त कार्कीले कोषका तर्फबाट लामिछानेको रेखदेखका लागि संलग्नलाई मासिक रु पाँच हजार दिने निर्णयबारे अवगत गराए । कार्कीले ज्येष्ठ नागरिकलाई बोझ नभई आदर्श र देवताका रूपमा लिन आग्रह गरे । कोषका तत्कालीन अध्यक्ष रामकृष्ण कर्माचार्यसहितको टोलीले दुई वर्षअघि लामिछाने ११७औँ वर्षमा प्रवेश गरेका अवसरमा उनको निवासमा पुगेर शुभकामनासहित अभिनन्दन गरेको थियो । त्यसयता गिनिज बुकमा नाम लेखाउन पहल गर्दै आएका कर्मार्चाले उक्त प्रक्रिया अब अन्तिम चरणमा रहेको बताए ।

ज्येष्ठ नागरिक क्षेत्रका अर्का अभियानकर्मी मोहन केसीले नेपालमा जेनेटोलोजीबारे शिक्षण संस्था र अस्पताल हुनुपर्ने माग गरे । स्थानीय राजनीतिकर्मी काशीनाथ अधिकारीले गिनिज बुकमा नाम लेखाउन सङ्घीय सरकारबाट पहल हुनुपर्ने र कम्तीमा नेपालभरिको ज्येष्ठ नागरिक भनेर प्रमाणपत्र दिन ढिलाइ गर्न नहुने आग्रह गरे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।