प्रहरी उपरीक्षक संज्ञा मल्ललाई राष्ट्रसङ्घीय पुरस्कार
काठमाडौँ, २० कात्तिक (रासस) :प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा शान्ति सेनामा कार्यरत प्रहरी उपरीक्षक डा सङ्ज्ञा मल्ललाई ११औँ राष्ट्रसङ्घीय महिला प्रहरी अधिकृत पुरस्कार प्रदान गरिने भएको छ । संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी डा मल्ललाई यही कात्तिक २३ गते महासचिव एन्टेनियो गुटरेसले उक्त पुरस्कार प्रदान गर्नुहुने जनाएको छ ।
डा मल्ल कङ्गोस्थित शान्ति सैन्यमा स्वास्थ्य तथा वातावरण एकाइका प्रमुख हुनुहुन्छ । उहाँले राजधानी किन्सासामा उक्त एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो ।
चाडपर्वले समाजलाई सहअस्तित्वको बाटामा अघि बढाउन अभिप्रेरित गरून् : अध्यक्ष नेपाल
काठमाडौँ, २० कात्तिक (रासस) : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले तिहार र नेपाल संवत्जस्ता चाडपर्वले सामाजिक सद्भाव एवं भ्रातृत्वका साथ राष्ट्रिय एकता कायम गर्न सबैलाई अभिप्रेरित गरून् भन्ने कामना गर्नुभएको छ । यस वर्षको तिहार र नेपाल संवत्का उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै उहाँले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाउनुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालले तिहार र नेपाल संवत्ले खराब प्रवृत्तिको अन्त्यसहित सबैको अस्तित्वलाई ग्रहण गर्दै एकापसको सम्मान एवं एकतामा जोड दिएको उल्लेख गर्नुभएको छ । यी चाडपर्वले समाजलाई सहअस्तित्वसहितको असल बाटामा अघि बढाउन हामी सबैलाई अभिप्रेरित गरून् भन्दै अध्यक्ष नेपालले सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।


