एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने
काठमाडौँ, २५ । नेकपा (एमाले)ले आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुने दशौँ राष्ट्रिय महाधिवेशनका लागि लाग्ने खर्च पार्टीका सङ्गठित सदस्यबाट उठाउने भएको छ । एमालेले पार्टी सङ्ठगित सदस्यबाट न्यूनतम रु एक सय लेबी उठाउने भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङ्ले महाधिवेशनमा लाग्ने खर्च पार्टी सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँका दरले उठाइने जानकारी दिनुभयो । “महाधिवेशनमा लाग्ने खर्च यसपटक हामीले पार्टीका नेता तथा कार्यकर्ताबाट उठाउने निर्णय गरेका छौ,” उहाँले भन्नुभयो, “सङ्गठित सदस्यबाट न्यूनतम १०० रुपैयाँ र स्वैच्छिक १०० भन्दा बढी जति पनि दिन पाउने गरी सङ्गठित सदस्यबाट पैसा उठाउँछौ ।”
एमालेका करिब सात लाख ३० हजार पार्टीका सङ्गठित सदस्य रहेको बताइएको छ ।
पार्टी मातहतका सबै कमिटीलाई सर्कुलर जारी गर्दै बैंकमा पैसा जम्मा गर्न लगाइने सचिव तामाङले बताउनुभयो । एमालेको महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । पार्टीले स्वतः हुने प्रतिनिधिबाट रु तीन हजार र निर्वाचनबाट छनोट गरिने प्रतिनिधिबाट रु दुई हजारका दरले महाधिवेशन शुल्क तोकेको छ ।
यो पनि पढ्नुहोस्..राप्ती अस्पतालमा अक्सिजन अभाव नहुने
दाङ, २५ कात्तिक । तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा अब अक्सिजनको अभाव नहुने भएको छ । सो अस्पतालमा अक्सिजन प्लान्ट र रिफिलिङ कक्ष सञ्चालनमा आएपछि अक्सिजन अभाव नहुने भएको हो । प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन उत्पादन सुरु भएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा विनोद सिंहले जानकारी दिनुभयो । रु एक करोड ५० लाखको लागतमा प्लान्ट निर्माण गरिएको हो । हाल दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको छ ।
उत्पादन सुरु भएपछि तत्कालका लागि आवश्यकपर्ने अक्सिजन प्रार्याप्त भएको अस्पतालले जनाएको छ ।अस्पतालको रु तीन लाख आर्थिक व्ययभार कम भएको अस्पताल प्रशासनले जनाएको छ । यसअघि अस्पतालमा दैनिक आवश्यकपर्ने करिब १० अक्सिजन सिलिण्डर बाहिरबाट खरिद गरेर काम चलाउनुपर्ने बाध्यता थियो । अक्सिजन उत्पादन र रिफिलिङ गर्न सकिने भएपछि अब कोभिड–१९ महामारीको समयमा पनि बिरामीको सहजै उपचार गर्नसकिने अस्पतालले जनाएको छ । गत जेठ ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालसहित नेपालका १२ अस्पतालका लागि रु १६ करोड ८० लाख बजेट छुट्याउने निर्णय गरेको थियो ।
अक्सिज अभावले कोरोना सङ्क्रमितको ज्यान जान थालेपछि प्लान्टको व्यवस्था गरिएको हो । अस्पतालकै परिसरमा दैनिक ६ हजार लिटर अक्सिजन उत्पादन गर्नसक्ने क्षमताको अर्को प्लान्ट निर्माण सुरु भएको छ । क्यानडा सरकारको सहयोग र नेपाल रेडक्रस दाङको समन्वयमा प्लान्ट निर्माण थालिएको हो । प्रादेशिक अस्पतालमा एक महिनादेखि कोरोनाका बिरामीलाई लक्षित गरी कोभिड वार्डसमेत सञ्चालनमा ल्याएको छ । बालबालिकाका लागि ३० अति सघन कक्ष, अन्य उमेर समूहका लागि ३० सघन उपचार कक्ष र १० एचडियु कक्षसमेत निर्माण गरिसकेको अस्पतालका व्यवस्थापक द्रोर्ण वलीले जानकारी दिनुभयो ।


