१८ वर्षमाथिका सबैलाई खोप लगाइने

वालिङ, २६ कात्तिक । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ ।कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
“वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ”, उहाँले भन्नुभयो, “कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।”

वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ । “वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भन्नुभयो, “त्यसैले यहाँ सबै जनाले आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासीसमक्ष अनुरोध गर्दछु ।” अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताउनुभयो ।

नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिनुभयो ।वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उहाँले बताउनुभयो । वालिङ नगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताउनुभयो ।

तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताउनुभयो । अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिनुभयो । वालिङ नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।