निःशुल्क स्वास्थ्य शिविरः दुई हजारभन्दा बढीले लिए सेवा
रामपुर (पाल्पा), २८ कात्तिक । पाल्पाको माथागढी गाउँपालिकामा आयोजित दुईदिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविरमा दुई हजारभन्दा बढी नागरिकले सेवा लिएका छन् । मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड टान्सप्लान्ट सेन्टर र त्रिवि शिक्षण अस्पताल काठमाडौँको प्राविधिक सहयोगमा सेभ द हार्ट र माथागढी गाउँपालिकाद्वारा आयोजित उक्त शिविरमा दुई हजार ७९५ जनाले स्वास्थ्य जाँच गराएको गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले बताउनुभयो । “कतिपय बिरामी भएर पनि अन्यत्र उपचार गर्न जान नसक्ने र आर्थिक समस्याले रोगसँग भित्रभित्रै लडेर बसिरहनुपर्ने अवस्थालाई दृष्टिगत गरेर गाउँमै शिविर आयोजना गरी सेवा दिएका हौँ, शिविरमा धेरैले सेवा लिनुभएको छ”, उहाँले भन्नुभयो ।
शुक्रबार र शनिबार दुई दिनसम्म सञ्चालन भएको शिविरमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष तथा मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाको नेतृत्वमा आएको चिकित्सकको टोलीले मुटु परीक्षण गरेको हो । मुटु परीक्षण गराएकामध्ये ६० जनामा जटिल समस्या देखिएपछि काठमाडौँ पठाइएको छ । तीमध्ये ४३ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको छ । शिविरमा ४२८ जनाको इसिजी र ३८१ जनाको इको गराइएको छ । परीक्षण गर्दा विद्यार्थीलाई पनि मुटुसम्बन्धी समस्या देखिएको बताइएको छ ।
किन बढिरहेको छैन बिजुलीको माग ?
काठमाडौँ, २८ कात्तिक । पछिल्ला दिनमा देशभित्र बिजुलीको माग बढ्न नसकेको देखिएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार देशभित्रको कूल बिजुलीको माग एक हजार ३२२ मेगावाट मात्रै रहेको छ । साँझको समयमा गणना गरिने उच्च माग (पिक डिमाण्ड) त्यति भए पनि दिउँसो र रातको समयमा बिजुलीको माग उल्लेख्यरुपमा बढ्न सकेको छैन । प्राधिकरणले एक हजार ८८९ मेगावाट घण्टा बराबरको बिजुली भारत निर्यात गरिरहेको छ । अघिल्लो सातादेखि प्राधिकरणले कूल ३९ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ ।
प्राधिकरणले बिजुलीको खपत बढाउनका लागि उद्योगी व्यवसायीलाई १३२ केभी क्षमताका प्रसारण लाइनमार्फत उपलब्ध गराउने घोषणा गरिसकेको छ । कूल २२० केभी क्षमताका प्र्रसारण लाइन धमाधम निर्माण भइरहेकाले १३२ केभी क्षमतासम्मका प्रसारण लाइनलाई वितरण लाइनमा परिवर्तन गर्न लागिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । प्राधिकरणको प्रणालीमा हाल निजी क्षेत्रका आयोजनाबाट उत्पादित बिजुलीको हिस्सा बढी छ । निजी क्षेत्रका कूल १०८ आयोजनाले बिजुली उपलब्ध गराउँदै आएका छन् । विवरणअनुसार प्रणालीमा प्राधिकरणका आयोजनाले पाँच हजार २३० मेगावाट घण्टा बिजुली उपलब्ध गराएको छ ।
सहायक कम्पनीका आयोजनाले चार हजार ३३६ मेगावाट घण्टा बिजुली उपलब्ध गराएको छ । निजी क्षेत्रका आयोजनाले प्रणालीमा कूल १२ हजार ९७५ मेगावाट घण्टा बराबरको बिजुली उपलब्ध गराएको छ । यस वर्षको तिहारको लक्ष्मीपूजाको दिन विद्युत्को उच्च माग (पिक डिमाण्ड) मात्रै एक हजार २७० मेगावाट मात्रै रहेको थियो । त्यस दिन पिक डिमाण्ड एक हजार ५०० मेगावाटको हाराहारीमा पुग्ने प्रक्षेपण गरिए पनि माग भने औसतमा नै रहन पुग्यो।
प्राधिकरणले लक्ष्मीपूजाको पिक समयमै ४८ मेगावाट विद्युत् भारत निर्यात गरेको थियो । चालू आर्थिक वर्षको अहिलेसम्मको पिक डिमाण्ड एक हजार ६१४.८ मेगावाट रेकर्ड गरिएको छ । यो विवरण गत असोज १० गतेको हो । सोही दिनको निर्यातसहित प्रणालीको अधिकतम विद्युत् माग एक हजार ७५८.८ मेगावाट थियो ।सरकारले बिजुलीको खपत बढाउनका लागि विद्युतीय चुल्होको प्रयोग र विद्युतीय सवारीको प्रवद्र्धनमा पनि उत्तिकै जोड दिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘विदेशी ग्यास छाडौँ, स्वदेशी बिजुली खपत’ गरौँ भन्ने अभियान नै सुरु गर्नुभएको छ । सोही योजनाअनुसार प्राधिकरणले नै अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने विषयमा नीतिगत तहमा छलफल गरिरहेको छ । स्पष्ट नीति, योजना र कार्यक्रम बनाएर अनुदानमा इन्डक्सन चुल्हो उपलब्ध गराउने सरकारको योजना छ । यसबाट खाना पकाउने ग्यासको आयात क्रमशः घट्ने र विद्युत्को खपत बढ्ने सरकारको विश्वास छ । पछिल्लो पटक नेपाल आयल निगमले मूल्यवृद्धि गरेपछि प्रतिसिलिण्डर ग्यासको मूल्य रु एक हजार ५७५ पुगेको छ ।


