प्रदेश १ मा आज ६६ जनामा कोरोना संक्रमण पुष्टि,१ को मृ त्यु
विराटनगर, १ मंसिर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण भएको छ । ६५७ जनाको पीसीआर परीक्षण गर्दा ६२ र १३७ जनाको एन्टिजेन परीक्षण गर्दा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो ।
मोरङको विराटनगरमा २६, सुनबर्षी, बेलबारी, लेटाङ, कटहरी, सुन्दरहरैचा, बुढीगंगा र कानेपोखरीमा १–१, झापाको भद्रपुरमा ४, विर्तामोडमा ३, मेचीनगर र अर्जुनधारामा २–२, कनकाई, दमक, शिवसताक्षी, कमल र झापा गाउँपालिकामा १–१, सुनसरीको धरान, इनरुवा र इटहरीमा २–२, बर्जु र बराहक्षेत्रमा १–१, उदयपुरको रौतामाईमा २, उदयपुरगढीमा १, संखुवासभाको खाँदबारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक पुरुषको मृ त्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
काजीथुम्कामा भ्यू टावर निर्माण
बनेपा, १ मङ्सिर (रासस) ः काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–५ स्थित काजीथुम्का डाँडामा पर्यटन प्रवद्र्धनका लागि दृश्यावलोकन स्तम्भ (भ्यू टावर) निर्माण गरिएको छ । सो क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले वाग्मती प्रदेश सरकार र गाउँपालिकाको सहयोगमा सो स्तम्भ निर्माण गरिएको हो । गाउँको अग्लो डाँडामा भ्यू टावर निर्माण भएपछि गाउँको पर्यटन प्रवद्र्धन हुनेमा स्थानीय बासिन्दा खुसी देखिन्छन् । दृश्यावलोकन स्तम्भ निर्माण भएपछि यहाँ रोजगारीमा समेत वृद्धि हुने हुँदा स्थानीयवासी निकै खुसी भएको स्थानीय बासिन्दा अनिल गौतमले बताउनुभयो ।
गाउँसम्म आवतजावत गर्न पक्की सडक निर्माणसँगै अस्पताल भवन, पोखरी, धारालगायतका काम यहाँ भइरहेको उहाँको भनाइ छ । विकासका नयाँ लहर थपिँदै गएपनि रोजगारीको अवसर गाउँमा नभएका कारण युवा भने अझै पनि रोजगारीका लागि सहरतिर जाने अवस्था रहेको उहाँको भनाइ छ । “गाउँमा जति दुःख गरेपनि खान लगाउन मात्रै पुग्नेभएपछि थप कमाउनका लागि रोजगारीका लागि बाहिर जानुपर्ने बाध्यता छ”, स्थानीयवासी गौतमले भन्नुभयो, “गाउँमा भएको कमाइले खाउलाउमा नै जीवन कट्ने अवस्था भएका कारण विकल्पमा सहर पस्नु यहाँका बासिन्दाको बाध्यता हो ।”
अर्का स्थानीय बासिन्दा ईश्वर गौतमले गाउँको शिरमा भएको अग्लो डाँडाबाट जताततै देख्न सकिने ठाउँमा भ्यु टावर निर्माण गरेर अझ थप पर्यटन प्रवद्र्धनको काम गरेकोमा खुुसी थपेको बताउनुभयो । अहिले सो ठाउँमा पदमार्गका लागि दुई ठाउँबाट सिँढी निर्माण गर्नाका साथै टावर भएको स्थानमा पर्यटकका लागि मेच निर्माण गरिएको उहाँले बताउनुभयो ।
गाउँपालिका प्रमुख कार्यकारी अधिकृत महानदास लामाका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा प्रदेश सरकार र गाउँपालिकाको संयुक्त लगाानीमा सुरु भए यो स्तम्भको निर्माण सकिएको छ । दुईतिरबाट जाने बाटोमा सिँढी निर्माणका लागि प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रु ५० लाख लागतमा सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्यमध्यको एक काजीथुम्कामा भ्यु टावर निर्माण भएपछि आन्तरिक पर्यटकको आवागमन भइरहेको गाउँपालिकाले जनाएको छ ।


