सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन
चितवन, ११ मंसिर/नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।
अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् ।
आफू उत्तरार्धतर्फ लागेकाले अहिले सबैलाई मिलाएर लैजाने प्रयासमा ओली रहेको उनी निकट नेताहरू बताउँछन् । केपी ओली बन्द सत्रस्थलतर्फ केहीबेरअघि प्रवेश गरिसकेका छन् । प्रवेश गर्ने क्रममा उनले केही प्रतिक्रिया दिएनन् ।
एमाले महाधिवेशनप्रति गगनको कटाक्ष– त्यो त ‘ओलीवेशन’ हो
काठमाडौँ । चितवनमा जारी नेकपा एमालेको महाधिवेशनलाई कांग्रेस नेता गगन थापाले ‘ओलीवेशन’ भन्दै कटाक्ष गरेका छन् ।
शनिबार काठमाडौँमा आफूपक्षीय जिल्ला सभापति उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै नेता थापाले एमालेको अहिलेको अधिवेशन केपी ओलीलाई ‘बा’ बनाउनेहरुको भेला मात्र रहेको भन्दै व्यंग्य गरे । उनले भने, ‘आज त्यहाँ नारायणी किनारमा सबै बा का छोराछोरीहरू मात्रै छन् । सबैले बा ! बा !! मात्रै भनिरहेका छन् । त्यहाँ अधिवेशन भइरहेको छैन, ओलीवेशन भइरहेको छ ।’
उनले एमालेमा अहिले कसले ओली बा को पाउमा राम्रोसँग तेल दल्न सक्छ भन्ने प्रतिस्पर्धा मात्र भइरहेको आरोप लगाए । साथै आफूहरु अधिवेशन भने त्यस्तो नरहेको उनको भनाइ थियो ।
सो क्रममा उनले कांग्रेसको जिल्ला अधिवेशनबारे नआत्तिन समेत आग्रह गरे । उनले भने, ‘कांग्रेसको अधिवेशनको समाचार आउँदै गर्दा नआत्तिनुहोला साथीहरु, कहीँकतै सीमाहरू नाघिएका छन् । तर, यो हाम्रो पार्टीको अधिवेशन हो । हामीबीच जति मतभेद भए पनि त्यही बीचबाट कुशल नेतृत्व चयन गर्छौं । यो हाम्रो पार्टीभित्रको लाकतान्त्रिक अभ्यास हो ।’
तर एमालेको महाधिवेशनलाई भने उनले महाधिवेशनको संज्ञा नै दिन मानेनन् । शुक्रबार आफ्नो टोलका अभिभावकहरूले एमालेले यत्रो ७७ जिल्लाको अधिवेशन सक्दा पनि थाहै नभएको तर कांग्रेसीहरूको भने जता हेर्यो उतै लफडा मात्र देखेको बताएको रोचक प्रसंग पनि थापाले सुनाए । उनले भने, ‘मेरो जवाफ थियो कि एमाले र हामीहरूबीचमा फरक छ । हाम्रो अधिवेशन हो भने उनीहरुको ओलीवेशन हो । हाम्रो पार्टीको अधिवेशनमा कार्यकर्ताहरू सहभागी हुन्छन्, हरेक कार्यकर्ता आफैँमा स्वतन्त्र व्यक्ति हुन् । हरेक स्वतन्त्र व्यक्तिको आफ्नो मत छ, जहाँ मत हुन्छ, त्यहाँ मतभेद हुन्छ । तर, ओलीवेशनमा त्यहाँ कोही पनि स्वतन्त्र कार्यकर्ता छैनन्, त्यसैले मतभेद छैन । त्यहाँ बा बनाउनेहरु छन् ।’
उनले पार्टीको नेतृत्व नदीजस्तो सलल बगेको हुनुपर्ने समेत बताए । कांग्रेसको अबको नेतृत्वले ३५ लाख मतदाताको विश्वास जित्न सक्नुपर्ने उनको भनाइ थियो ।


