नेकपा माओवादी केन्द्र पाख्रीवास नगर समितिको अध्यक्षमा बजगाई चयन
धनकुटा । नेकपा माओवादी केन्द्र पाख्रीवास नगर समितिको अध्यक्षमा मुक्ती प्रसाद बजगाई चयन हुनुभएको छ । माओवादी केन्द्र पाख्रीवासको प्रथम नगर सम्मेलन मार्फत बजगाईको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी चयन गरेको हो ।
समितिको वरिष्ठ उपाध्यक्षमा ओम प्रकश निरौला, उपाध्यक्षमा योगेन्द्र कार्की, टिका मगर र योगेन्द्र लिम्बु, सचिवमा बलाराम खड्का, सह-सचिवमा चिरञ्जिवी राई र मोहन गुरुङ र कोषध्यक्षमा मिनकुमारी गहतराज रहेका छन् ।
त्यस्तै अन्य सदस्यहरुमा १ तिर्थमाया सार्की, दलवहादुर मग्रान्ती, संगम मगर जीतवहादुर तामाङ, भवानी अधिकारी, रविन दर्लामी, दिलवहादुर अधिकारी, प्रेम कटुवाल, रोशन कटुवाल,रणवहादुर मगर, मानवहादुर राई, योगेन्द्र राई,क्षितिज राई, तेजवहादुर राना, गुणवहादुर राना, सुरेश तुम्वा, टंकवहादुर मगर, टेकवहादुर बस्नेत, सुन्दर राई लगायत रहेको नवगठित नगर कमिटीले जनाएको छ ।
इलाममा १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन
इलाम, १२ मंसिर ।आगामी स्थानीय तह, प्रदेश र संघीय निर्वाचनलाई लक्षित गरेर इलामको नौ स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएको छ । पालिकास्तरमै नामदर्ता कर्मचारी खटाएर १० मंसिरदेखि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेकाे हाे ।
हरेक पालिकामा १० दिन फोटो खिच्ने र नाम दर्ता हुने जिल्ला निर्वाचन अधिकारी देवीचरण फुयाँलले जानकारी दिए । इलाममा दुई चरणमा नामावली संकलन गरिँदैछ । पहिलो चरणमा पाँच वटा र दोस्रो चरणमा चार पालिकामा मतदाता नामावली संकलन हुनेछ । पहिलो चरणमा माङसेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, सन्दकपुर गाउँपालिका र माइजोगमाई गाउँपालिकामा नामावली संकलन हुनेछ । पालिकाको केन्द्रमा हुने नामावली १७ मंसिरबाट सुरु भएर २६ मंसिरमा सम्पन्न हुनेछ ।
यस्तै, दोस्रो चरणमा सूर्योदय नगरपालिका, रोङ गाउँपालिका, माई नगरपालिका र चुलाचुली गाउँपालिकामा मतदाता नामावली संकलन हुने छ । दोस्रो चरणमा मतदाता नामावली संकलन हुने पालिकाहरूमा २९ मंसिरबाट सुरु भएर ९ पुससम्म चल्नेछ । जिल्ला सदरमुकाम रहेको इलाम नगरपालिकामा भने विषेश कार्यक्रमअन्तर्गत मतदाता नामावली संकलन नहुने भएको छ ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमा फोटोसहितको मतदाता नामावली संकलन हुने भएकाले इलाममा विषेश कार्यक्रम नहुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको केन्द्रमा हुने मतदाता नामावली संकलनमा १६ वर्ष उमेर पूरा गरी नागरिकता भएकाहरूले फोटो खिचाउने र नाम दर्ता गराउन सक्नेछन् ।
स्थानीय तहको भन्दा फरक ठाउँको ठेगना भएकाहरू भने नामावली संकलन गराउनको लागि बसाई सराईको कागज पेश गर्नुपर्ने छ । अन्यत्र भएर विवाह गरेर आएकाहरूले भने विवाह दर्ताको प्रमाण पेश गर्नुपर्ने छ । स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलनको लागि यसअघि फोटोसहितको मतदाता नामावली संकलनमा खटिएका अनुभवी कर्मचारी परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी फुयाँलले जानकारी दिए ।
फोटोसहितको मतदाता नामावली संकलनको लागि जिल्ला स्तरमा सरोकारवालाहरूसँग अन्तरक्रिया सम्पन्न भएको छ भने पालिकास्तरमा पनि सरोकारवालसँग अन्तरक्रिया गरिने छ । मतदाता नामावली संकलनका लागि कर्मचारीलाई तालिम दिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन आयोगले तोकेको कार्यतालिका भित्रै इलाममा पनि फोटोसहितको मतदाता नामावली संकलन हुन लागेको हो ।


