एमाले महाधिवेशन : राति नौ बजेदेखि एक बजेसम्म मतदान
चितवन, १३ मंसिर /एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ । निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो ।
निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो । संशोधित कार्यतालिका अनुसार सोमबार अपरान्ह तीन बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ ।
अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैन । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् ।
आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ ।
चितवनबाट एमालेमा १० केन्द्रीय सदस्य, दुईपटक सांसद बनेका पोखरेल अटाएनन्
चितवन, १३ मंसिर/एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्षा ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् ।
बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल र सहसंयोजक सुरेन्द्र पाण्डेलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ । एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशिनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगर प्रमुख प्रभा बरालको नाम ओलीको प्रस्तावमा समेटिएको छ । त्यसैगरी, दलित महिलाबाट शिवकुमारी गोतामेको नाम पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।
उनीहरूले निर्वाचनका लागि मनोयन पत्र दर्ता गरिसकेका छन् । केन्द्रीय कमिटी सदस्यका आकांक्षी सांसद कृष्णभक्त पोखरेललगायत पाँच जनाको नाम भने ओलीको प्रस्तावित सूचीमा पर्न सकेनन् । पोखरेल दुई पटकसम्म केन्द्रीय सांसद भइसकेका एमाले चितवनका पूर्वअध्यक्ष हुन् ।
त्यस्तैगरी, बागमती प्रदेशका सांसद दावादार्जे लामा, विजय सुवेदी, रत्ननगर नगरप्रमुख नारायण वन र जिल्ला पूर्वअध्यक्ष हरि सापकोटा पनि परेनन् । ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा आफ्नो नाम नपरे पनि आफूले छुट्टै मनोनयन पत्र दर्ता गरेका छैनन् ।
केन्द्रीय कमिटी सदस्यमा खुलातर्फ ८४ जनाको कोटामा ८५ जना र महिलातर्फ ५३ जनाको कोटामा ५४ जनाको मनोनयन पत्र दर्ता भएको छ । केन्द्रीय कमिटी सदस्यमा सहमतिको प्रयास भइरहेको छ ।


