बेलायतमा कोरोना भाइरसको संक्रमण घट्न सकेन
लन्डन,१९ मङ्सिर । बेलायतमा कोरोना भाइरसको सङ्क्रमण पछिल्ला हप्ताहरुमा झन् बढेको देखिएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ अहिले पनि दैनिक ४० हजार जनाभन्दा बढी नै सङ्क्रमित हुने गरेका छन् । शनिबार मात्र पनि यहाँका ४२ हजार ८४८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । पछिल्ला केही दिनमा यहाँ सङ्क्रमण झन् बढेको पाइएको बताइएको छ ।यहाँ १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप उपलब्ध गराइएको जनाइएको छ । बेलायतका स्वास्थ्य अधिकारीहरुले सरकारी प्रयासका बाबजुत पनि यहाँ कोरोनाबाट हुने संक्रमणमा दैनिक कमी नआएको बताएका छन् । अधिकारीहरुले बेलायतमा अहिलेसम्म सङ्क्रमित हुनेको संख्या १ करोड नाघेको जनाएका छन् ।
यहाँको स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएअनुसार यहाँ पछिल्लो २४ घन्टामा देखिएका सहित यहाँ यो भाइरसबाट अहिले सम्म १ करोड ४२ हजार जनाभन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।बेलायतका स्वास्थ्य अधिकारीले गएको २४ घन्टामा मात्र यहाँ यो सङ्क्रमणबाट व्यक्ति १२७ जनाको मृ,त्यु भएको छ । योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ४५ हजार भन्दा बढीको मृ,त्यु भएको छ ।बेलायतमा कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये करिब सात हजार जना अझै पनि अस्पतालमै उपचाररत रहेका छन् । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्ला दिनहरुमा बेलायतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको र पछिल्लो पटक फेला परेको ओमिक्रोन भेरियन्ट पनि देखिएकाले सतर्क रहन भन्नुभएको छ ।
अमेरिकी र रुसी राष्ट्रपतिबीच वार्ता हुने
मस्को,१९ मङ्सिर।अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच वार्ता हुने भएको छ ।उहाँहरुबीच आगामी मंगलबार भिडियो कन्फ्रेन्सिङमार्फत् वार्ता हुने भएको बताइएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै चिनियाँ समाचार समिति सिन्ह्वाले सो समाचार दिएको छ ।
प्रवक्ता पेस्कोभले रुसी समयानुसार मंगलबार साँझ दुई देशका राष्ट्रपतिकाबीचमा भिडियो वार्ता हुन लागेको हो । सो वार्ता कति लामो समयसम्म हुन्छ भनी सोधिएको एक प्रश्नमा प्रवक्ता पेस्कोभले उहाँहरुको चाहनाअनुसार हुने जवाफ दिनुभएको छ । सो वार्ताका क्रममा युक्रेनलगायतका विषयमा कुराकानी हुने पनि उहाँले जानकारी दिनुभएको सो समाचार समितिले जानकारी दिएको छ ।


