प्रदेश १ मा हल्का वर्षाकाे सम्भावना
काठमाडौं, २२ मंसिर /हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ ।दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ को पहाडी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति प्रदेश १ र २ मा आंशिकदेखि सामान्य बदली रहनेछ । बिहीबार दिउँसो प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशका पहाडी भूभागमा पनि बदली रहनेछ । बिहीबार राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
‘देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु हुन अनुरोध छ,’ महाशाखाले भनेकाे छ ।
मेस्सी र एम्बाप्पेको दुई/दुई गोलमा पीएसजीकाे जित
काठमाडौं, २२ मंसिर/स्टार खेलाडी लियोनल मेस्सी र किलीयन एमबाप्पेले २-२ गोल गरेको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ ।
घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको समूह ‘ए’ को खेलमा पीएसजीले क्लब ब्रुगलाई ४–१ अन्तरले पराजित गर्दै उपविजेताको रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । खेलको दोस्रो मिनेटमा पीएसजीले एमबाप्पेको गोलमा अग्रता लियो । ७ मिनेटमा एन्जल डी मारियाको पास एमबाप्पेले भलीमार्फत दोहोरो अग्रता बनाए ।
खेलको ३७औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पिएसजीलाई ३–० को अग्रता दिलाए । ६७औँ मिनेटमा माट्स रिट्सले गोल गर्दै ब्रुगलाई ३–१ को अवस्थामा झारे । तर ७६औँ मिनेटमा आफैंलाई फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दे मेस्सीले टोलीलाई ४–१ को जित दिलाए ।
यसै समूहको अर्काे खेलमा म्यानचेष्टर सिटी आरबी लाईपजिगसँग २–१ ले पराजित भयो । पिएसजी ६ खेलमा ३ जित २ बराबरी र १ हार सहित ११ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम १६ मा स्थान बनायो । सिटी १२ अंकसहित शीर्ष स्थानमा रहँदा ७ अंक बनाएको आरबी लाईपजिग र ४ अंक बनाएको क्लब ब्रुग समूह चरणबाटै बाहिर रहे ।


