महिलालाई नेतृत्वमा पुग्नै सकस

हुमाकान्त पोखरेल,तम्घास, २३ मङ्सिर ।नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णुकुमारी सापकोटा कांग्रेस गुल्मीकी निर्वतमान सचिव हुनुहुन्छ । उहाँले सचिवपछि जिल्ला सभापतिकै आकांक्षा राख्नुभएको थियो । आफ्नो उम्मेद्वारीसमेत घोषणा गर्नुभएकी उहाँले अन्तत सभापति छोड्नुभयो र प्रदेश सदस्यमा उम्मेद्वारी दिनुभयो ।प्रदेशको निर्वाचनमा पनि जिल्लातर्फको महिला कोटाबाट उम्मेद्वारी दिनुभयो । “जिल्ला सचिव भएको बेला राम्रो काम गरेकी थिएँ, मेरो सक्रियता पनि थियो”, उहाँले भन्नुभयो्, “सभापति भएर काम गर्छुभन्ने थियो तर सम्भव भएन ।” पार्टीको जिल्ला बैठकमा आफ्नो नाम सभापतिका लागि सिफारिस नहुँदा दुःख लागेको सापकोटाको भनाइ छ । दुई उपसभापतिको व्यवस्था भए पनि जिल्ला वा पालिकामा एक जना महिला पनि उपसभापतिसम्म आउन नसक्नु सिङ्गो पार्टी नेतृत्वकै कमजोरी भएको उहाँ बताउनुहुन्छ ।

यस्तै मदाने गाउँपालिकाकी उपाध्यक्ष एवं नेकपा (एमाले) जिल्ला कमिटी सदस्य सरिता खड्काले एमालेबाट पालिका अध्यक्षका लागि उम्मेद्वारी दिनुभएको थियो । अन्ततः ‘एक व्यक्ति एक पद’को अवधारणा आएपछि उहाँलाई अध्यक्ष बन्नै दिइएन् । “एक व्यक्ति एक पदको कुरा आएपछि मलाई उम्मेद्वारी फिर्ता गर्न बाध्य बनाइयो”, खड्काले भन्नुभयो, “चुनावमा गएको भए उम्मेद्वारी कायमै रहन्थ्यो ।” पुरुष प्रधान समाजमा महिला राजनीतिमा अगाडि आउनै नसकेको उहाँले उल्लेख गर्नुभयो । कांग्रेस र एमालेमा मात्र होइन, नेकपा (माओवादी केन्द्र)मा पनि अवस्था उस्तै छ । धुर्कोट गाउँपालिकाकी कार्यपालिका सदस्य कमला घर्तीले पार्टीको धुर्कोटको सचिवमा दाबी गर्नुभयो । “खटनपटनमा गाह्रो हुन्छ भन्दै धेरैले सम्झाउन खोज्नुभयो, मैले हिम्मत हारिन”, उहाँले भन्नुभयो, “महिलालाई सामाजिक रुपमा पछाडि पार्ने वर्षौँदेखिको चलन हो ।” हिम्मत नहारेकै कारण आफु सचिव बन्न सफल भएको उहाँको भनाइ छ । पार्टीले जुनसुकै जिम्मेवारी दिए पनि पूरा गर्नसक्ने घर्तीको भनाइ छ ।

नेकपा (माओवादी केन्द्र)को रेसङ्गा नगरकमिटीकी अध्यक्ष गीता थापा भने आफूमा दृढइच्छ्याशक्ति हुनुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “महिलाले समाजका साथसाथै घर पनि सम्हाल्नुपर्ने हुनाले केही कठिनाइ छ ।” कांग्रेसको भर्खरै सम्पन्न निर्वाचनमा महाधिवेशन प्रतिनिधिमा खुल्ला कोटाबाट २० जना निर्वाचित भएपनि एउटा महिला अटाउन सकेनन् । महिला कोटाबाट आठ तथा खस–आर्य महिला कोटाबाट ६ जना बाहेक अन्य पदमा महिलाले स्थान पाउनै सकेनन् ।कांग्रेसको जिल्ला पदाधिकारीका लागि २५ जना निर्वाचनमा होमिएकामा सबै पुरुष छन् । प्रमुख पद सभापति, दुई उसभापति, दुई सचिव, दुई सहसचिव र एक कोषाध्यक्षमा महिला अटाएका छैनन् । जिल्लाका १२ वटै पालिकामध्ये कांग्रेसबाट इस्मामा उपसभापतिमा पार्वता कुँवर र रेसुङ्गा नगरपालिकामा उपसभापतिमै सावित्रा भण्डारीबाहेक अन्य पालिकामा महिलालाई कांग्रेसले स्थान दिएको छैन ।

नेकपा (एमाले)को पालिका अधिवेशनअन्तर्गत केन्द्रीय प्रतिनिधिका लागि गुल्मीमा २१ जनाको कोटा थियो । महिलातर्फ चार र दलित महिलातर्फ एक जनाको कोटा थियो । एमालेले पनि महिलालाई कोटामा मात्रै सीमित राखेको छ । महिला कोटाबाट सीता भुसाल, नर्मदा भण्डारी, लक्ष्मीदेवी पन्थ र ललिता गौतम प्रतिनिधि थिए भने दलित महिलातर्फ जुना विश्वकर्मा प्रतिनिधि थिइन् । एमालेको जिल्ला कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव र सहसचिवमा सबै पुरुष मात्र छन् । एमालेको केही समय पहिले सम्पन्न पालिका अधिवेशनमा कुनै पनि कमिटीमा अध्यक्ष, सचिवलगायत मुख्य भूमिका हुने पदमा महिलाले स्थान पाउन सकेका छैनन् । एमालेको ४५ सदस्यीय जिल्ला कमिटी सचिवालय सदस्यमा पाँच मात्रै महिला रहेका कार्यालय सचिव गणेश श्रेष्ठले जानकारी दिनुभयो ।

माओवादी केन्द्रका जिल्ला संयोजक वीरबहादुर कार्कीका अनुसार अहिले माओवादीको जिल्ला कमिटी जिल्ला समन्वय समितिमा रुपान्तरण भएको छ । संयोजकसहित १९ जनाको सचिवालय छ । सचिवालयमा तीन जना मात्रै महिला छन् । माओवादी केन्द्रको प्रदेश प्रतिनिधि चुनिएकामध्ये पनि अधिकाशं पुरुष छन् । माओवादी केन्द्रले सदरमुकाम रेसुङ्गा नगरपालिकामा महिलालाई अध्यक्ष बनाएको छ । पार्टीको धुर्कोट गाउँपालिकामा सचिव र कोषाध्यक्ष महिला छन् । अन्य पालिकाका पार्टी कमिटीमा प्रमुख पदमा महिला आउन सकेका छैनन् । माओवादी केन्द्रले २०७४ को स्थानीय तहको निर्वाचनमा इस्मा गाउँपालिकामा महिलालाई अध्यक्ष र पुरुषलाई उपाध्यक्षको उम्मेदवार बनाएको थियो ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा प्रमुख दलहरुले पालिका अध्यक्षमा पुरुष र उपाध्यक्षमा महिलालाई उम्मेद्वार बनाएका थिए । माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको धुर्कोटमा माओवादी केन्द्रबाट अध्यक्ष र कांग्रेसबाट उपाध्यक्ष दुवै पुरुष उम्मेद्वार थिए । आगामी निर्वाचनमा पनि महिला उपाध्यक्षमै सीमित हुने देखिएको छ । अधिवक्ता एवं महिला अधिकारकर्मी हीरा कुँवर समाजमा पितृसत्तात्मक सोच हावी भएकाले महिला अगाडि आउन नसकेको बताउनुहुन्छ । दलमा पनि कार्यकारी पद नभएर उपाध्यक्ष, सहसचिव जस्ता कम भूमिका हुने पदमा राखेको कुँवरको भनाइ छ । महिला अरुलाई नेता बनाउन माध्यम बनेको तर आफू नेता बन्न नसक्नु दुःखद पक्ष रहेको उहाँको भनाइ छ । नेकपा एमाले जिल्ला सचिव सोमनाथ सापकोटा महिलालाई राजनीतिक रुपमा अगाडि बढाउन आफुहरु मानसिक रुपमै तयार नभएको स्वीकार्नुहुन्छ । “दल र समाज मानसिक रुपमै तयार भएका छैनन्”, उहाँले भन्नुभयो, “महिला कोटामै सीमित हुनुपरेको छ ।” महिला सहभागिता बढाउँदै लैजानुपर्नेमा उहाँ जोड दिनुहुन्छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।