कोशी कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुने
विराटनगर, ५ माघ । प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा अक्सिजनको अभाव नहुने गरि सरकारले प्रवन्ध मिलाएको छ । सामाजिक विकास मन्त्री जयराम यादवले कोभिड अस्पतालमा अक्सिजनको अभाव नहुनेगरि प्रवन्ध गर्नका लागि आज मन्त्रालयमा अक्सिजन आपुर्तीकर्ताहरुसँग छलफल गर्नुभएको छ । आपुर्तीकर्ता उद्योगका प्रतिनिधिहरुले मन्त्री यादव समक्ष कोभिड अस्पतालमा अक्सिजनको कुनै अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन् ।
मन्त्री यादवले मारुती अक्सिजन इण्डस्ट्रिज, भाजुरत्न र विनायक अक्सिजन इण्डस्ट्रिजका प्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो । उहाँले कोभिड अस्पतालमा अक्सिजनको आपुर्तीका लागि पहिले गरेको कार्यका लागि धन्यवाद दिदै आगामी दिनमा पनि सोही अनुसारको सेवा दिन आपुर्तीकर्ताहरुलाई आग्रह गर्नुभयो ।
मन्त्री यादवसँगको छलफलमा भाजुरत्नका केदार श्रेष्ठ, मारुतीका विवेक अग्रवाल र विनायकका मनोज ढकाल सहभागी हुनु भएको थियो । आपुर्तीकर्ताहरुले अक्सिजनका खाली शिलिण्डरहरु समयमै उपलब्ध गराईदिनु पर्ने बताएका थिए ।
प्रदेश सरकारले कोभिड अस्पतालमा ७६ वेड विस्तार गरेको छ । यसअघि ९६ बेडको अस्पताल सञ्चालनमा थियो ।
विपद्मा जनातासँग सरकार : मन्त्री कार्की
विराटनगर, ५ माघ (रासस) : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले विपद्मा प्रदेश सरकार जनतामाझ रहने विश्वास दिलाउनुभएको छ । मन्त्रालयद्वारा आज आयोजित स्थानीय तहलाई बारुणयन्त्र हस्तान्तर कार्यक्रममा उहाँले विपद्मा जनतालाई सरकारले सचेत र सजग बनाउने बताउनुभयो ।
उहाँले प्रदेशको १३७ वटै स्थानीय तहमा नगर रक्षक, स्काउट र युवालाई सचेतना तालिम दिने बताउँदै प्रदेश सरकार नयाँ ढङ्गले काम गर्ने प्रयास गरेको छ भत्रुभयो । उहाँले स्थानीय तहमा कानुनसम्बन्धी परामर्श र सेवा दिन मन्त्रालय तत्पर छ भन्दै जनताका सेवामा जनप्रतिनिधि तदारुकतासाथ लाग्न आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रदेश नं १ संसदीय दलका नेता राजीव कोइरालाले सुनसरीको दक्षिणी क्षेत्रका बर्सेनि आगलागीको समस्य देखिएको अवस्थामा देवागञ्ज गाउँपालिकाले प्राप्त गरेको बारुणयन्त्रबाट नागरिकको धन सम्पत्ति क्षति हुनबाट जोगिने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “आगलागी भएको समयमा सहरी क्षेत्रबाट जाने दमकल ढिलो पुग्दासम्म नागरिकको घर जलेर खरानी भइसक्थ्यो, अब आगलागीमा ग्रामीण जनताले सहरको मुख ताक्नु पर्दैन ।”
आन्तरिक मामिला तथा कानुन सचिव कालीप्रसाद पराजुलीले विपद्को घटनाबाट जोगिन दमकलको उचित प्रयोग हुनुपर्ने बताउनुभयो । उहाँले ग्रामीण क्षेत्रलाई केन्द्रित गरी दिइएको दमकलबाट स्थानीय जनताले बढीभन्दा बढी लाभ लिन सकोस् शुभकामना दिनुभयो । उहाँले दमकल मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्र सञ्चालनका लागि दिइएको हो भत्रुभयो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपाकिाका प्रमुख भीम पराजुलीले महानगरमा पाँचवटा बारुणयन्त्रमध्ये दुई वटा बिग्रेको अवस्थामा प्रदेश सरकारबाट प्राप्त दमकले नागरिक सेवामा मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भयो । सुनसरी देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहताले सुख्खा मौसममा यस क्षेत्रमा बर्सेनि आगलागीको घटना हुने गरेको तर दमकलको अभावमा जनताले व्यापक क्षति बेहोर्नुपरेको समस्या अब कम हुनेछ भत्रुभयो ।
सो अवसरमा मन्त्रालयले सुनसरीको देवागञ्ज गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई एक÷एक थान नयाँ बारुणयन्त्र सहयोगस्वरुप प्रदान गरेको छ । देवानगञ्ज गाउँपालिकाले प्राप्त दमकलबाट हरिनगर र बर्जु गाउँपालिका संयुक्तरूपमा यसको रेखदेख, मर्मत र सुरक्षाको काम गर्ने भनी मन्त्रालयसँग दुई पक्षीय सम्झौता पनि गरेको छ ।


