सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौँ, ७ माघ । सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । वैदेशिक रोजगारमा जाने व्यक्तिका परिवारलाई सर्वसुलभ स्वास्थ्य सेवाको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बीमा बोर्डले उक्त प्रक्रिया सुरु गरेको हो । बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ ले निर्दिष्ट गरेअनुसार ‘वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यविधि, २०७८’ स्वीकृत गरेको छ । ऐनमा भएको व्यवस्थालाई कार्यान्वयन गर्न बोर्डले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल गरिरहेको बोर्डका सूचना अधिकारी शोभित रिजालले जानकारी दिनुभयो ।

“वैदेशिक रोजगारमा गएका व्यक्तिका परिवारलाई स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध गराउन बोर्डले स्वास्थ्य बीमा ऐन, २०७४ भएको व्यवस्था अनुसार कार्यविधि जारी गरेको छ, उक्त व्यवस्था कार्यान्वयन गर्न श्रम मन्त्रालयसँग छलफल भइरहेको छ, श्रम मन्त्रालयले स्वीकृत गरेपछि कार्यान्वयनमा जान्छ,” उहाँले भन्नुभयो । कार्यविधि स्वीकृतिमा आएसँगै वैदेशिक रोजगारीमा जाने प्रत्येक व्यक्तिले अनुमति लिँदा परिवारको स्वास्थ्य बीमाको अद्यावधिक परिचयपत्र पेस गर्नुपर्नेछ । कार्यक्रममा आबद्धताका लागि बोर्डले वैदेशिक रोजगार विभागसँग समन्वय गरी श्रम स्वीकृति दिने कार्यालयमा स्वास्थ्य बीमा कार्यक्रममा आबद्धता हुने व्यवस्था मिलाउनुपर्नेछ ।

वैदेशिक रोजगारमा गएको व्यक्तिको परिवारको बीमालेख नवीकरण बीमालेखको म्याद समाप्त हुनु एक महिना अगावै गर्नुपर्ने कार्यविधिमा उल्लेख छ । बीमालेख अनलाइन वा दर्ता सहयोगीमार्फत गर्न सकिनेछ ।बोर्डले सातै प्रदेशका प्रदेश शाखा कार्यालय र ७७ जिल्लाका सम्पर्क शाखा कार्यालयलाई पत्र लेख्दै वैदेशिक रोजगारमा जाने कामदारका परिवारलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने कार्यमा आवश्यक सहयोग, सहजीकरण र समन्वय गर्न निर्देशन दिएको छ । नेपालको संविधानको धारा (५१) को उपधारा ज (१५) मा ‘नागरिकको स्वास्थ्य बीमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने’ व्यवस्था गरेको छ । त्यस्तै, स्वास्थ्य बीमा ऐन, २०७४ को दफा (३) को उपदफा (४) मा ‘वैदेशिक रोजगारीमा जाने कामदारको परिवार स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध हुनुपर्नेछ’ भनी उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस.. नवलपुर, ६ माघ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल मौलाकालिका मन्दिर जानका लागि केबुलकार निर्माण सुरु गरिएको छ । सम्पूर्ण प्रक्रिया सकेर केबुलकार निर्माणका लागि कन्स्ट्रक्सनको काम सुरु भएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको मौलाकाली केबुलकार कम्पनीले आगामी एक वर्षभित्र मौलाकालिका मन्दिरमा केबुलकार सञ्चालनमा ल्याउने गरी निर्माणको काम सुरु गरेको हो । “मौलाकाली केबुलकार सञ्चालनका लागि औपचारिक अनुमतिका सबै काम सकिएको छ”, ढकालले भन्नुभयो, “अब हामी फिल्डमा कन्स्ट्रक्सनको काममा जुटेका छौँ ।” केबुलकार निर्माणको काम सुरु भइसकेको उल्लेख गर्दै उहाँले बढीमा एक वर्षभित्र केबुलकार सञ्चालनमा ल्याउने बताउनुभयो ।

“केबुलकारसँगै निर्माण हुने होटलका लागि केही समय लाग्न सक्छ तर आगामी पुस महिनाभित्र केबुलकार सञ्चालनमा ल्याइसक्छौँ”, ढकालले भन्नुभयो, “अब आउने माघे सङ्क्रान्तिमा केबुलकार चढेर मौलाकालिका माताको दर्शन गर्न पाइन्छ ।” ढकालको कम्पनीले गैँडाकोटमा केबुलकारसँगै होटलसमेत सञ्चालनमा ल्याउनेछ । मौलाकाली केबुलकार कम्पनीले करिब रु साढे एक अर्बको लागतमा आयोजना अगाडि बढाएको हो । निर्माण सम्पन्नपछि सर्वसाधारणका लागि समेत शेयर निस्कासन गर्ने योजना रहेको उहाँले बताउनुभयो । “केबुलकार निर्माणका लागि सबै फर्मालिटी सकिसकेका छौँ, फर्मालिटीका लागि धेरै समय लाग्ने गर्दथ्यो”, ढकालले भन्नुभयो, “होटलसहितको सम्पूर्ण संरचना तयार गर्नका लागि भने बढीमा दुई वर्ष लाग्ने हाम्रो अनुमान छ ।”

टपस्टेशनमा कन्स्ट्रक्सन निर्माणका लागि नापजाँचको काम भइरहेको छ । मन्दिर नजिकै रहेको हेलिप्याडमा केबुलकारको टपस्टेशन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा बटम स्टेशन हुने ढकालले जानकारी दिनुभयो । केबुलकारले एकतर्फि लम्बाई एक हजार २०० मिटर लामो हुनेछ । केबुलकारमा १२ वटा डब्बा राखेर यात्रु ओसारिने उहाँले बताउनुभयो । केबुलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकालिका मन्दिर पुग्ने ढकालको भनाइ छ । अहिले मन्दिर पुग्न करिब एक हजार ८८२ खुड्किलो उक्लिँदा ४५ मिनेट समय लाग्ने गरेको छ ।

केबुलकार सञ्चालनमा आएपछि यहाँको पर्यटकीय क्षेत्रमा हरेकतर्फबाट टेवा पुग्ने उहाँको भनाइ छ । “यहाँ केबुलकार सञ्चालनमा आएपछि गैँडाकोट र नवलपुरलाई मात्रै नभइ छिमेकी जिल्लालाई समेत हरेक तरिकाबाट फाइदा पुग्छ”, ढकालले भन्नुभयो, “पर्यटन, कृषि, व्यवसाय, होटल रेस्टुराँ, रोजगारी सिर्जजनासहित धेरै तरिकाले स्थानीयलाई फाइदा पुग्छ ।” केबुलकार निर्माणका लागि स्थानीयले ४९ प्रतिशतसम्म रकम राख्न सक्नेगरी सहमति भएर काम अगाडि बढेको गैँडाकोट नगरपालिका प्रमुख छत्रराज पौडेलले बताउनुभयो । ऐतिहासिक धार्मिकस्थलका रुपमा रहेको मौलाकालिका मन्दिरमा लामो समयदेखि केबुलकार सञ्चालनको माग उठेकाले स्थानीय सहभागिता व्यवसायी ढकाललाई निर्माणको जिम्मा दिइएको पौडेलको भनाइ छ ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका निवर्तमान अध्यक्ष विष्णुहरि रिमालले मौलाकालिका मन्दिरको इतिहास करिब ५०० वर्ष पुरानो भएको बताउनुभयो । पाल्पाली राजा मणि मुकुन्दसेन देवघाट स्नानका लागि जाँदा यहाँ मौला गाडिएको ठाउँमा पूजा गरेर जाने गरेको इतिहास भएको रिमालको भनाइ छ । पूर्वपश्चिम महेन्द्र राजमार्गको नारायणी नदीको पुलबाट करिब चार किलोमिटर उत्तरतर्फ समुद्र सतहदेखि ५६१ मिटर उचाइमा मौलाकालिका भगवतीको मन्दिर छ । विगतमा वर्षको दुई पटक मन्दिरमा पूजाआजा हुने गरिएको भए पनि अहिले दैनिकरुपमा मन्दिरमा पूजाआजा हुने गरेको छ । “पहिले चैते दसैँ र बडा दसैँमा मन्दिरमा पूजाआज हुने गर्दथ्यो, ४२ सालपछि मन्दिरमा दैनिकरुपमा पूजा हुँदै आएको छ”, रिमालले भन्नुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।