एमसीसी टेबल गरेपछि सञ्चारमन्त्री कार्कीको सुरक्षा बढाइयो
काठमाडौं । सरकारले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको सुरक्षा बढाइएको छ । सञ्चार मन्त्रीको सुरक्षामा नेपाल प्रहरीले अगुवा गाडीसहित थप सुरक्षाकर्मी परिचालन गरेको छ । फागुन ८ मा सञ्चार मन्त्री कार्कीले अर्थमन्त्रीको तर्फबाट प्रतिनिधिसभामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल गरेका थिए ।
एमसीसीको विरोध गर्नेहरूले आक्रमण गर्न सक्ने सुरक्षा विश्लेषणका आधारमा गाडीसहित सुरक्षाकर्मीको थप टोली परिचालन गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले जानकारी दिए । उनको निजी सुरक्षा अधिकृतमा यसअघि दुई जना प्रहरी नायव निरीक्षक (सई) खटाइएको थियो । कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले नाराबाजी गरेका थिए ।
खानेपानी परियोजना हस्तान्तरण
विराटनगर, ९ फागुन (रासस) ःमोरङको रतुवामाई नगरपालिका–९ स्थित जनता माध्यमिक विद्यालयमा निर्माण गरिएको खानेपानी परियोजना विद्यालयलाई हस्तान्तरण भएको छ ।
अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब रु छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो । विद्यालयका विद्यार्थीलाई खानेपानी पिउन परियोजनाले धेरै मद्दत गर्ने परियोजनाका निर्देशक इलियास हसन चौधरीले जानकारी दिनुभयो ।
रतुवामाई नगर प्रमुख रविन राईले परियोजनाबाट तयार भएको प्लान्टले विद्यार्थी र विद्यालयका कर्मचारीलाई खानेपानीको सुविधा पुगेको बताउनुभयो । उहाँले पछिल्लो समयमा मानिसले जारको पानी खाने प्रचलन बढिरहेको अवस्थामा परियोजनाबाट तयर गरिएको प्लान्टबाट शुद्ध खानेपानी विद्यार्थीले पिउन पाउनाले खुसी व्यक्त गर्नुभयो ।


