धनकुटामा २ जना सहित प्रदेश १ मा आज २२ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगर, १६ फागुन । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २२ जनामा कोरोना संक्रमण भएको छ । ३७० जनाको पीसीआर परीक्षण गर्दा १४ र २६६ जनाको एन्टिजेन परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६, मोरङमा ५, धनकुटामा २ र तेहृथुममा १ जनामा संक्रमण देखिएको हो । झापाको मेचीनगरमा २, भद्रपुर, बुद्धशान्ति, दमक र बाहृदशीमा १–१, मोरङको विराटनगर, बेलबारी, सुन्दरहरैचा, कानेपोखरी र पथरीशनिश्चरेमा १–१, धनकुटाको धनकुटामा २ र तेहृथुमको म्याङलुङमा १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १८ महिला र १६ पुरुष रहेका छन् । सक्रिय संक्रमितको संख्या ८४५ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय तह निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने तयारी
काठमाडौँ, १६ फागुन (रासस) :निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै सम्झौता भइसकेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । आयोगद्वारा आज आयोजित नियमित पत्रकार भेटमा उक्त कम्पनीसँग रु ११ करोडमा कागज खरिदका लागि सम्झौता भएकामा महिना अवधिभित्र उपलब्ध सर्त रहेको जानकारी दिइयो ।
स्थानीय तहसँग त्यहाँ सक्रिय रहेको राजनीति दलको विवरणका आधारमा उम्मेदवार सङ्ख्या आँकलन गरी कति प्रकारका मतपत्र छपाउने भन्ने विषय टुङ्गोमा पुग्न भने बाँकी नै छ । निर्वाचन आयोगमा दर्ता रहेका १११ राजनीतिक दलमध्ये स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका लागि ८० राजनीतिक दलले दल दर्ताका लागि निवेदन दिएका छन् ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि यही फागुन ५ गतेदेखि १५ गतेसम्म ११ दिनको समयावधि दिएर दल दर्ताका लागि निवेदन दिन आह्वान गरिएको थियो । निर्वाचनका लागि आवश्यक पर्ने १५ प्रकारका सामग्री प्रदेश र निर्वाचन कार्यालय खरिद गरी व्यवस्थापन गर्नसमेत आयोगले निर्देशन दिइएको छ । स्थानीय तह निर्वाचनका लागि आयोगले अर्थ मन्त्रालयसँग रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट माग गरेको छ । रकम निकासाका सम्बन्धमा आयोग र मन्त्रालयबीच छलफल भइरहेता पनि हालसम्म निकासा भइ नसकेको जानकारी दिइयो ।


