इटहरीमा सोल्टी होटल लिमिटेडले बैशाख देखि पाँच तारे होटल संचालनमा ल्याउने
सुनसरी । सोल्टी होटल लिमिटेडले पहिलोपटक आफ्नो व्यवस्थापनमा नेपालमा हाइ इण्ड होटल संचालनमा ल्याउने भएको छ।
भारतीय र आन्तरिक पर्यटकलाई केन्द्रित गर्दै सुनसरीको इटहरीमा संचालनमा ल्याउन लागिएको होटल आउँदो वैशाखबाट संचालनमा ल्याउने योजना रहेको कार्यकारी निर्देशक विनोद पौडेलले बताए।
‘मुलुकको हस्पिटालिटी क्षेत्रमा पाँच दशक लामो इतिहास बोकेको होटल ‘सोल्टी होटल लिमिटेडलाई’ व्यवस्थापनको जिम्मा दिएका छौं। हाम्रो नेपालकै ब्राण्ड राम्रो छ। विदेशी किन ल्याउनु भनेर सोल्टीलाई व्यवस्थापनको जिम्मा दिएका छौं,’ उनले भने।
सोल्टीले पहिलोपटक आफ्नो व्यवस्थापनमा बाहिरी होटल संचालनमा ल्याउन लागेको हो। सुरुमा गरिमा नाम दिइएको होटलमा सोल्टीको व्यवस्थापन आएसँगै सोल्टी वेस्टेण्ड नाम रहने उनले जानकारी दिए। उनका अनुसार होटलले तीन महिनाभित्रै क्यासिनो संचालनमा ल्याउनका लागि यतिखेर विभिन्न कम्पनीसँग छलफल गरिरहेको छ।
सात वर्ष अघि निर्माण सुरु गरिएको होटल भूकम्प, नाकाबन्दी, कोभिड लगायत विभीन्न कारणले संचालनमा आउन ढिला भएको बताउँदै उनले भने,’निर्माण सुरु भएको सात वर्ष भइसकेको छ। बल्ल हामी फिनिसिङको अन्तिम चरणमा छौं। हामी अहिले संचालनको संघारमा छौं।’
कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।
दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभीन्न सुविधा रहेको उनले जानकारी दिए।
‘यो होटल बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा संचालनमा ल्याउनेछौं।इटहरी आफैं पनि बिजनेस हब भइसकेको छ। यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको मागलाई मध्यनजर गर्दै हामीले होटल निर्माण गरेका हौं। कोभिड यता पश्चिमा मुलुक नभएर भारत, बंगलादेश लगायत मुलुकलाई नै बजारीकरण गर्न आवश्यक देखिएको छ,’ उनले भने।
सात वर्ष अघि ९० करोड रुपैयाँको लागत अनुमान गरिएको होटल निर्माणमा हालसम्म डेढ अर्ब रुपैयाँ लागत लागिसकेको उनले जानकारी दिए।
इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष भीम पौडेल र गोर्खा डिपार्टमेन्ट स्टोर इटहरीका सञ्चालक बलराम आचार्यको संयुक्त लगानीमा यो होटल सञ्चालनमा आउन लागेको हो।
होटलमा तीनवटा रेस्टुरेन्ट हुनेछन्, जसमध्ये ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ। अर्को फाइन डाइनिङमा सयजना सजिलै बस्न सक्छन्। तेस्रो ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी छ । त्यस्तै एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल छन्।
होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका सुविधा रहने उनले बताए। ‘इटहरी कुनै पर्यटकीय क्षेत्र होइन, यहाँ घुम्नकै लागि भनेर कोही पर्यटक आउँदैनन्,’ उनले भने, ‘तर यहाँ व्यापारिक पाहुना प्रशस्त आउँछन्। विवाह, मनोरञ्जन, जन्मोत्सव, वैवाहिक वर्षगाँठ, नयाँ वर्ष लगायतका समारोह मनाउन भारतका ग्राहक यहाँ आउँछन्। सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले दिने बिजनेस पनि राम्रो छ।’-इटहरी खबर


