स्थानीय तहले निर्माण गर्न लागेका अस्पताल शिलान्यासमै सीमित

जनकपुरधाम, २६ फागुन । तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले देशका करिब चार सय स्थानीय तहका एकसाथ आधारभूत अस्पताल शिलान्यास गरेका थिए ।
२०७७ मंसिरमा एकै साथ विभिन्न चार सय स्थानीय तहमध्ये धनुषाका स्थानीय तहमा पनि शिलान्यास गरिएको थियो । तर ती अस्पताल शिलान्यासमै सीमित भएका छन् ।

सबैला, धनुषाधाम, क्षीरेश्वरनाथ, शहीद नगर, विदेह, मिथिला विहारी, हंशपुर नगरपालिका तथा औरही, बटेश्वरलगायतका गाउँपालिकाले १० देखि १५ शैयाका सुविधा सम्पन्न अस्पताल निर्माणका लागि शिलान्यास गरेका थिए ।

धनुषाधाम नगरपालिकाले १५ शैयाको अस्पतालका लागि फाउन्डेसन तयारी गरे पनि बाँकी स्थानीय तहले काम नै गर्नसकेका छैनन् । ‘पहिलो चरणको काम सम्पन्न भई ठेकेदारहरूको भुक्तानीसमेत भइसकेको छ, दोस्रो चरणको कामका लागि बजेटको सुनिश्चितता भएसँगै अस्पतालको कामलाई गति दिन्छौं,’ धनुषाधाम नगरपालिका मेयर बालेश्वर मण्डलले भने ।

सबैला नगरपालिका मेयर विजयशंकर साहले झन्डै १० करोडको लागतमा निर्माण हुने अस्पतालका लागि जग्गाको व्यवस्थापन गरी शिलान्यास भएको बताए । ‘अस्पतालको डिपीआर तयार भयो तर मोबिलाइजेसनको रकम नै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नपठाउँदा काम अगाडि बढ्न सकेको छैन । त्यसैले अहिले शिलान्यास गरेर त्यतिकै छाडेका छौ,’ उनले भने ।

हंशपुर नगरपालिकाले १० शैयाको अस्पताल निर्माणका लागि पटक–पटक टेन्डर गरिसकेको छ । तर मेयर र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण काम अगाडि बढ्न सकेको छैन । ‘अस्पताल निर्माणका लागि तीन महिनाअघि नै टेन्डर निकालिसकेका थियौं । तर प्रमुख प्रशासकीय अधिकृत परिवर्तन भए । नयाँ आएका प्रशासकीय अधिकृतले पुनः अर्को टेन्डर गरे । त्यो पनि भएन । फेरि नयाँ टेन्डर गरियो । एउटै योजनाको तीनपटक टेन्डर गरियो । तर काम भने हुन सकेन,’ नगरपालिका मेयर रामज्ञान मण्डलले भने ।

क्षीरेश्वर नगरपालिकाले १५ शैयाको अस्पताल निर्माणका लागि जग्गाको व्यवस्थापन गरेको छ । तर जग्गाको विषयमा नगरपालिका कार्यपालिकामै विवाद भएकाले अहिलेसम्म टेन्डरसमेत हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत प्रमोद घिमिरेले बताए ।

बटेश्वर गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउतमाथि नै अख्तियारमा मुद्दा परेपछि काम रोकिएको छ । शहीद नगर नगरपालिकाको पनि उस्तै अवस्था छ । मेयर उदय बरबरियाले सुरुमा जग्गासम्बन्धी विवादका कारण अस्पताल निर्माणमा ढिलाइ भएको बताए । ‘भर्खर टेन्डर भई सम्झौता गरेर काम अगाडि बढाएका छौ । पहिलो चरणको काम सम्पन्न भएपछि मात्रै दोस्रो चरणको काम गर्छौं,’ उनले भने ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖