घोषणापत्र :(कविता)
कविता
घोषणापत्र
-ध्रुव एलेक्स
कापीको एउटा पत्तोमा
साना – साना कुराहरु लेखौं
जुन कुरा सबैलाई
ठुला – ठुला लागुन् ।
लेखौं न ; अब उप्रान्त
छिमेकी मुलुकबाट कुनै सामान ल्याइने छैन
तपाइलाई आवश्यक वस्तु
आफैँ उत्पादन गर्नुस् या
अब सरकारले गर्छ ।

भनौं न भो अब विदेश नजानुस्
केही वर्ष यहिं दु:ख गर्नुस्
दु:ख पछि सुख आउँछ
सुख आएसँगै विदेशीहरु यहाँ आउछन्
काम गर्छन र फर्किन्छन ।
यहाँको पवित्र जलले
धेरै पुजा गर्यौ , धेरै पटक स्नान गर्यौ
खास उपलब्धि केही भएन
अब जललाई मल बनाऊ र फलाऊ उज्यालो
बरु सुन्दरता हराए हरावस् चाँदनीको ।
भनिदिनोस्
माटोमा मिल्न तयार हुनुहोस्
तपाई माटोमा मिल्न तयार हुनुभयो भने
त्यो बाँचेर दिएको बलिदानी हुनेछ
त्यहाँ कार्ल मार्क्स ले भने झै बद्लिदो परिवेश निर्माण हुनेछ
र त्यो नयाँपनालाई भन्न सकियोस्
हेर्नुस हामीले ल्याएको कृषि क्रान्ति ।
घोषणापत्रमा उल्लेख भएको हुनुपर्छ
समाज कसरी बनाउने भन्ने कुराहरु
जो कार्यानयन कसरी गर्ने भन्ने चिन्ताले
ऊ रातभर सुत्न नसकोस्
त्यसपछि पो बन्न सुरु होला त मेरो देश ।
घोषणाहरुमा गर्न छुटाईएको र लेख्न मन नलागेको
एउटा कुरो गरौं र लेखौ
जस्ले राज्यको सम्पतती दुरुपयोग गर्छ
जस्ले गर्छु भनेर भनेको गर्दैन
उसलाई तारो हानिनेछ
छेलो हाने जसरी हान्न परे हानिनेछ
के यो लेख्नु पर्ने र गर्नु पर्ने विषय होइन र ?
हो भने विषय गम्भीर छ एकफेर विचार गरौ ।
हिमालका हिमालहरुलाई
पहाडका पहाडहरुलाई
तराईका मैदानहरुलाई
तपशीलमा जस्ताको त्यस्तै राख्दा पनि
घोषणापत्र त बलियो बन्ने रहेछ ।
कापीको एउटा पत्तोमा
साना – साना कुराहरु लेखौं
जुन कुरा सबैलाई
ठुला – ठुला लागुन् ।।
-पाख्रिबास,धनकुटा

