दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न
बिराटनगर,चैत्र २८ । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना बिच पदोन्नति हुनु हुने प्रहरी कर्मचारीहरुलाई दर्ज्यानी चिन्हले सु-शोभन गरिएको छ ।
प्रहरी प्रधान कार्यालयको बिभिन्न मितिको पत्रले प्रहरी बरिष्ठ नायब निरीक्षक, प्रहरी बरिष्ठ हवल्दार र प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका ७७ जना प्रहरी कर्मचारीहरुलाई प्रहरी नायब महानिरीक्षक अरुण कुमार बि.सी.ले दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नु भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख बि.सि.ले पदोन्नति हुनु हुने सम्पुर्ण प्रहरी कर्मचारीहरुलाई बधाई तथा शुभकामना प्रदान गर्नु हुदै पदोन्नतिले थप जिम्मेवारी बढेको अवगत गराउदै आफ्नो कर्तब्य जिम्मेवारीका साथ निर्वाह गर्न समेत निर्देशन दिनु भयो ।
सु-शोभन कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षकहरु, प्रहरी निरीक्षकहरु, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेको थियो ।
जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी छ : प्रदेश प्रमुख गुरुङ
चितवन, २८ चैत (रासस):गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले जातीय पहिचानका लागि राजनीति बुझ्न जरुरी रहेको बताउनुभएको छ । तमु ह्युल छोंज धी गुरुङ् राष्ट्रिय परिषद्को चौथो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उहाँले राजनीति बुझ्न नखोज्ने जातीय स्वभाव भएकाले यो समुदाय पछि परेको धारणा राख्नुभयो ।
जातीय स्वायत्तताका लागि राजनीतिको रस बुझ्न जरुरी रहेको गुरुङको भनाइ थियो । उहाँले भन्नुभयो, “यो समुदायले राजनीतिमा पहँुच बढाउन आवश्यक छ ।” राजनीतिक दलभित्र रहेर सङ्घर्ष गर्नुपर्ने उहाँले बताउनुभयो । राजनीति बुझेर त्यहाँभित्र आफ्नो बलियो उपस्थिति खोज्न उहाँको आग्रह थियो ।
सो अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष ग्याल्जे लामा शेर्पा, तमु प्ये ल्हु सङ्घ नेपालका अध्यक्ष हितकाजी गुरुङ, तमु धीं नेपालका अध्यक्ष हुम गुरुङलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।
महाधिवेशन मङ्गलबारसम्म चल्ने छ । महाधिवेशनमा सहभागी हुन ६५ जिल्लाका झण्डै एक हजार प्रतिनिधि चितवन आएका छन् । महाधिवेशनले तीनवर्षे कार्यकालका लागि ७७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने आयोजकले जनाएको छ ।
–––


