बढ्न थाल्यो चिनीको मूल्य

पछिल्लो समय भारत सरकारले चिनी निर्यातमा रोक लगाएसँगै नेपाली बजारमा चिनीको मूल्य बढ्न थालेको छ । पछिल्लो १५ दिनको अवधिमा किलोमै रु २० ले चिनीको मूल्य बढेको गुनासो आएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी उद्योगीसँग छलफल गरेको छ । चिनीको मूल्यका विषयमा विभागले चिनी उत्पादक सङ्घ, साल्टट्रेडिङ कर्पोरेशन तथा नेपाल खुद्रा व्यवसायी सङ्घका प्रतिनिधिसँग बिहीबार छलफल गरेको हो । विभागका महानिर्देशक लीलाप्रसाद शर्माले चिनीको मूल्यको विषयमा विभिन्न निकायका प्रतिनिधिसँग विभागमा छलफल गरिएको जानकारी दिए । चिनी उत्पादकले उत्पादन लागत बढ्दा चिनीको मूल्य बढेको भन्दै भारतीय प्रतिबन्धले मूल्यमा कुनै असर नगरेको बताएको उनले जानकारी दिए ।

छलफलमा चिनी उत्पादक सङ्घका उपाध्यक्ष राजकुमार अग्रवालले पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर ढुवानीमा परेको जानकारी गराउनुभएको महानिर्देशक शर्माले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्दा त्यसको असर चिनी उत्पादनदेखि ढुवानीसम्म परेको भन्दै त्यसको कारण चिनीको मूल्य बढेको सङ्घले जनाएको छ । सङ्घले उद्योगबाटै प्रतिकिलो रु ९३.८३ मा चिनी बिक्री गर्ने गरेको छ ।“उद्योगमै चिनीको मूल्य बढेको छ, उद्योग हुँदै होलसेल तथा खुद्रा पसलमा चिनी पुग्दा मूल्य बढी हाल्छ, अहिले चिनीको मूल्य बढ्नु स्वभाविक हो”, उनले भने।भारतले जुन १ तारिखदेखि चिनी निर्यातमा रोक लगाएको थियो । भारतले चिनी निर्यातमा रोक लगाएसँगै नेपालमा चिनी उद्योगी तथा व्यवसायीले किलोमै रु २० बढाएका छन् । यसअघि प्रतिकिलो रु ९० मा पाइने चिनी भारतको प्रतिबन्धपश्चात रु ११० पुगेको छ ।

चिनीको अभाव हुँदैन : सङ्घ
भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाली बजारमा चिनीको अभाव नहुने चिनी उत्पादक सङ्घले जनाएको छ । चिनी उद्योगी तथा व्यवसायीसँग पर्याप्त मात्रामा चिनी मौज्दात रहेको सङ्घको जनाएको छ ।

चिनी उत्पादक सङ्घको तथ्याङ्कानुसार नेपालमा वार्षिक दुई लाख ७५ हजार मेट्रिक टन चिनीको माग रहेकामा आधा नेपालकै उत्पादनले पुग्दै आएको छ । नेपालमा १० चिनी उद्योगले चिनी उत्पादन गर्दै आएका छन् । स्वदेशी उद्योगले मात्रै वार्षिक एक लाख ३० हजार मेट्रिक टन चिनी उत्पादन गर्ने गरेकाले भारतले निर्यातामा रोक लगाउँदा नेपालमा खासै असर नपर्ने सङ्घले जनाएको छ । सङ्घको तथ्याङ्कानुसार चालु आर्थिक वर्षमा मात्रै नेपालका चिनी उद्योगले तीन लाख २१ हजार मेट्रिक टन चिनी उत्पादन गरेका छन् । स्वदेशी चिनी उत्पादनसँगै चालु आर्थिक वर्षको १० महिनामा नेपालले विभिन्न देशबाट रु चार अर्ब ८३ करोडभन्दा बढीको चिनी आयात गरेको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖