चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्यो : मन्त्री राई
खोटाङ । प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् ।
एकल पहिचान, बहुपहिचान वा भूगोलका आधारमा प्रदेशको नामकरण गर्ने विषयमा दलबीचमा मतभेद हुँदा पाँच वर्षसम्म प्रदेशको नामकरणले किनारा पाउन नसकेको मन्त्री राईको भनाइ थियो । मन्त्री राईले प्रदेशको पहिचान सहितको नामकरणमा एमालेको साथ नहुने भएकाले वर्तमान गठबन्धन सरकारले मात्र नामकरण गर्न सक्ने अवस्था नभएको बताए । ‘प्रदेशको नाम ल्याउनुपर्छ भन्ने छ तर गठबन्धनलाई ५० सांसदको समर्थन चाहिन्छ । त्यसका लागि एमालेको साथ चाहिन्छ । एमाले कोसीभन्दा दायाँबायाँ गर्नुहुन्न भन्ने पक्षमा छ,’ मन्त्री राईले भने, ‘यही कारण सम्भवतः यो कार्यकालमा प्रदेशको नाम आउने देखिन्न ।’
मन्त्री राईले निवर्तमान मुख्यमन्त्री शेरधन राईले चाहेको भए यसअघि नै प्रदेशले नाम पाइसकेको अवस्था हुने उल्लेख गरे । तर, ओलीको निर्देशनमा शेरधनले पहिचान सहितको नामकरण गर्न नसकेको टिप्पणी गरे । मन्त्री राईले आसन्न प्रदेश र संघीय निर्वाचनमा पहिचान विरोधीलाई चिनेर मत दिनुपर्ने बताएका छन् ।
प्रदेश १ मा एमालेको ३९, कांग्रेसको २१, माओवादी केन्द्रको १५, एकीकृत समाजवादीका १०, जसपाको ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना सांसद छन् । नामाकरणकालागि दुई तिहाइ बहुमत अर्थात् ६२ सांसदको समर्थन चाहिन्छ ।
बर्सेनि कान्द्राको बाढीले सास्ती
भजनी, ३ भदौ (रासस) :कैलालीको भजनी नगरपालिका–५ की सरस्वती बोहराको नगरपालिकामा काम प¥यो । सेवा लिनका लागि कान्द्रा नदी डुङ्गा तरेर नगरपालिका आउनुपर्ने उहाँको बाध्यता छ । नदी तर्न प्रतिव्यक्ति रु २० तिर्नुपर्छ ।
“नगरपालिकाको सेवा लिन पैसा तिर्नुपर्छ”, बोहराले भन्नुभयो, “दैनिक आवतजावत गर्नुपर्छ, हरेक दिन पैसा तिरेर मात्रै भजनी बजार पुग्नुपर्ने बाध्यता छ ।”
भजनी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदीमा डुङ्गा सञ्चालनको ठेक्का दिएको छ । ठेक्का नगरपालिकाको मुख्य आम्दानीको आन्तरिक स्रोत हो । वार्षिकरूपमा सबैभन्दा बढी राजस्व सङ्कलन नदी ठेक्काबाट हुन्छ । नगरपालिकामा सेवा लिनका लागि वडा नं ५, ७ र ९ का स्थानीयले कान्द्रा नदी तरेरै आउनुपर्ने बाध्यता छ । केही ठाउँमा स्थानीय सरकारले झोलुङ्गे पुल निर्माण गरेका कारण आवतजावत सहज छ । हुलाकी राजमार्गसँग जोडिएको वडा नं ५ र ७ का अधिकांश नागरिक दैनिक डुङ्गाको भरमा भजनी बजार पुग्छन् । कान्द्रामा अहिलेसम्म तीन झोलुङ्गे पुल निर्माण भएका छन् ।
नगरपालिकाको वडा नं ७ का राजकुमार चौधरी स्थानीय नागरिकलाई आवतजावतका लागि स्थानीय सरकारले सहज वातावरण बनाउनुपर्ने बताउनुहुन्छ । उहाँ डुङ्गा निःशुल्क चढ्न पाउनुपर्ने बताउनुहुन्छ । “सबैसँग पैसा हुँदैन” उहाँले भन्नुभयो ।
वडा नं ५ कै पवन जैशी भजनी बजारस्थित महुन्याल बहुमुखी क्याम्पसमा अध्ययन गर्नुहुन्छ । उहाँले दैनिक क्याम्पस जाँदा नदी वारपार गरेको रु २० डुङ्गा सञ्चालकलाई तिर्नुहुन्छ । “आम्दानीको स्रोत छैन । घरबाट पैसा माग्न सधैँ सकिदैन” उहाँले भन्नुभयो । पवनजस्तै सयौँ विद्यार्थी नदी तरेर क्याम्पस जाने गरेका छन् । बजार क्षेत्रमा महुन्याल माध्यमिक नमूना विद्यालय छ । वर्षात्को समयमा बाढीकै कारण विद्यार्थी विद्यालय जान सक्दैनन् ।
स्वास्थ्योपचारका लागि पनि नदीपारिका नागरिकले भजनी बजार नै आउनुपर्छ । सामान्य उपचारका लागि पनि बजार आउनुपर्ने बाध्यता रहेको स्थानीय कृष्ण चौधरी बताउनुहुन्छ । “रातिको समयमा बिरामीलाई झनै समस्या हुन्छ”, उहाँले भन्नुभयो । हुलाकी राजमार्गको थेकीपुरमा पक्की पुल निर्माण भएपछि समस्या समाधान हसने स्थानीयवासीको भनाइ छ । पुल निर्माणको काम ११ वर्षअघि सुरु भएको हो । अझै पूरा हुनसकेको छैन । रु चार करोड ४३ लाखमा साल्पारशेर्पा लामा बिरुवाले संयुक्तरूपमा सो पुल निर्माणको ठेक्का पाएको थियो । पुल निर्माणका लागि निर्माण कम्पनीले ३० महिनाको समय पाएको थियो । समयावधि पटक–पटक थप्ने गरिएको छ । हुलाकी राजमार्ग आयोजना धनगढीका इञ्जीनियर पदम मडै पुरानो तोडेर नयाँ ठेक्का गरी पुलको बाँकी काम सम्पन्न गरिने बताउनुहुन्छ ।


