प्रसूति तथा स्त्रीरोग अस्पताल विशिष्टीकृत स्वास्थ्य संस्था हो : राष्ट्रपति

काठमाडौँ, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रुपमा स्थापित भएको बताउनुभएको छ । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६३ औँ वार्षिकोत्सव कार्यक्रम तथा बृहत् स्तनपान व्यवस्थापन केन्द्रको उद्घाटन कार्यक्रममा उहाँले अस्पतालले ६३ वर्षदेखि महिला तथा नवजात शिशुलाई निरन्तररुपमा सेवा प्रदान गरेर मातृ मृत्यु दर र शिशु मृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले अस्पतालले प्रसूति तथा स्त्री रोगका साथै नवजाज शिशुसम्बन्धी सरल र कम खर्चिलो, सुविधायुक्त तथा गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको बताउनुभयो । छ दशकअघि ४० शय्याबाट सुरुआत भएको यस अस्पतालले हाल चार सय ७९ शय्याबाट सेवा दिइरहेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।

उहाँले अस्पतालको आफ्नो पहलमा ह्युमन मिल्क बैंक ‘अमृत कोष’को स्थापना गरिनुलाई मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रका एक ऐतिहासिक थालिनेका रुपमा पाएको बताउनुभयो । “दूध दान गर्नु पुरानो अभ्यासको रुपमा रहेको छ”, उहाँले भन्नुभयो, “अमृत कोषले सुव्यवस्थित र संस्थागत रुपमा आमाहरुबाट दान गरिएको दूधको सङ्कलन, प्रशोधन र भण्डारणले गरी आवश्यक पर्ने शिशुलाई वितरण गर्ने छ ।”

अमृत कोषको स्थापनाबाट नेपालका मातृ तथा शिशुमृत्यु दर घटाउन महत्वपूर्ण योगदान पु¥याउनुका साथै स्तनपान महत्वबारे जनचेतना जगाउने विश्वास व्यक्त गर्नुभयो । यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा विशेष गरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाउँमा पु¥याउन पहल गर्नु पनि प्रशंसनीय रहेको उहाँको भनाइ रहेको छ । अस्पताललाई प्रविधिमैत्री बनाउन उपलब्ध गराएको अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न अस्पताल व्यवस्थापन सक्रिय रहेको महसुस गरेको उहाँले बताउनुभयो ।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोहीअनुरुपको जनशक्तिको तयार गर्न मुलुकको सामु विद्यमान चुनौती रहेको उहाँको भनाइ रहेको छ । “स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजना निर्माण गर्न अस्पतालको अनुभव, कार्य क्षेत्र र सेवा विस्तारबाट सहयोग प्राप्त हुनेछ”, उहाँले भन्नुभयो, “नेपाल सरकारका सम्बन्ध संस्थाले यसतर्फ आवश्यक पहल र समन्यव गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।”

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले सातवटै प्रदेश र ७७ जिल्लामा प्रसूति सेवा विस्तार गर्न थालिएको जानकारी दिनुभयो । उहाँले नेपालमा पनि निकट भविष्यमा स्वास्थ्यका अत्याधुनिक उपकरण ल्याएर उपचार गर्ने जानकारी दिनुभयो ।

अस्पतालका निर्देशक डा अमिरबाबु श्रेष्ठले उच्च मातृ मृत्युदर र शिशु मृत्युदरलाई कम गर्नका लागि अस्पतालले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँका अनुसार आर्थिक वर्ष २०७८÷७९ मा कूल ३३ हजार आठ सय ५५ महिला भर्ना भएकोमा प्रसूतितर्फ २६ हजार छ सय पाँच र स्त्रीरोगतर्फ चार हजार नौ सय ३० को उपचार तथा २४ हजार तीन सय ६९ गर्भवती महिलाको प्रसूतिबाट २४ हजार पाँच सय ९३ शिशुको जन्म भएको छ । उहाँले नवजात शिशुको स्वास्थ्यलाई ख्याल गर्दै अस्पतालमा पूर्ण स्तनपान नीति लागू गरिएको र यस वर्ष अस्पतालले सरकारबाट तोकिएको विभिन्न २० सूचाङ्क पूर्ण हासिल गरी मातृशिशुमैत्री अस्पतालको रुपमा मान्यता पाएको बताउनुभयो ।

सोही अवसरमा राष्ट्रपति भण्डारीले बृहत् स्तनपान व्यवस्थापन केन्द्र ह्युमन मिल्क बैंक ‘अमृत कोष’को पनि उद्घाटन गर्नुभयो । निर्देशक श्रेष्ठले अमृत कोषबाट सुत्केरी आमाबाट सुरक्षितरुपमा दान गरी दूध सङ्कलन, प्रशोधन, परीक्षण र भण्डारण गरी आवश्यक शिशुलाई दूध उपलब्ध गराइने बताउनुभयो । ह्युमन मिल्क बैंकबाट आमाको दूधबाट वञ्चित शिशु प्रत्यक्ष लाभान्भित हुने अस्पतालका डा कल्पना उपाध्याय सुवेदीले जानकारी दिनुभयो ।

विसं २०१६ श्रीकृष्ण जन्माष्टमीको दिन ४० शय्याबाट स्थापना भएको अस्पतालमा अहिले चार सय ७९ शय्या रहेको छ । नेपाल सरकार र जर्मनी सरकारको सहयोगमा अस्पतालले तारकेश्वर र चन्द्रागिरी नगरपालिकामा ५०/५० शय्याको प्रसूति तथा नवजात शिशु अस्पतालको निर्माणको सम्झौता सम्पन्न भई निर्माणको प्रक्रिया अगाडि बढेको अस्पतालका निर्देशक डा श्रेष्ठले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।