किरात राई यायोख्खा धनकुटाको दोश्रो बैठक सम्पन्न
पहिचान विरोधि उम्मेद्वारलाई चुनावमा भोट नदिने गरि किरात राई यायोख्खा अघि बढ्ने
धनकुटा । किरात राई यायोख्खा धनकुटाको दोश्रो बैठक आज धनकुटामा सम्पन्न भएको छ ।
किरात राई यायोख्खा धनकुटाका अध्यक्ष उद्वमणी राईको अध्यक्षता तथा केन्द्रीय सचिव अस्मिका राईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले १ नं प्रदेशको नाम किरात प्रदेश राख्न पहल गर्ने प्रयास स्वरुप आगामी निर्वाचनका लागि उठेका उम्मेद्वारहरु सँग छलफल तथा अन्तरक्रिया गर्नेबारे छलफल गरेको छ ।
बैठकमा बोल्ने वक्ताहरुले पहिचान विरोधि उम्मेद्वारलाई आउदो चुनावमा भोट नदिने गरि किरात राई यायोख्खा अघि बढ्ने वताएका छन् । आगामी मंशिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उठेका विभिन्न राजनितिक दलका उम्मेद्वार मध्ये जस्ले प्रदेश नं १ को नाम किरात प्रदेश राख्ने घोषणा पत्र तयार गरि प्रतिवद्वता जनाउदछ उहि उम्मेद्वारलाई मात्र भोट दिने गरि किरात राई यायोख्खा प्रदेश समितिमा प्रस्ताव गरिएको यायोखा प्रदेश नं १ का उपाध्यक्ष सञ्जय सन्तोषी राईले जानकारी गराउनु भयो ।
किरात राई सम्वद्व विभिन्न संघ संगठनका पदाधिकारीहरुले उपस्थिती जनाएको बैठकमा किरात राई यायोख्खाको हालै सम्पन्न संघिय अधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित अस्मिका राई, सदस्य अञ्जना राई र प्रदेश उपाध्यक्षमा निर्वाचित सञ्जय सन्तोषी राईलाई खदा ओढाएर सम्मान गरिएको थियो ।
बैठकले श्याम प्रकाश राई, मीन वहादुर राई र आशा राईलाई जिल्ला कार्य समिति सदस्यमा थप गरेको छ । बैठकमा सम्पूर्ण सल्लाहकारहरुको तर्फबाट उमेश राई , निवर्तमान अध्यक्ष नगेन्द्र राई लगायतले मन्तव्य राखेका थिए ।




