सञ्चारमन्त्री कार्की झिनो मतान्तरले अगाडि
काठमाडौं, १४ मंसिर । बहालवाला पाँच मन्त्री पराजित भइसकेका छन् । जसमा गृहमन्त्री बालकृष्ण खाण, खानेपानीमन्त्री उमाकान्त चौधरी, ऊर्जामन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।
सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ बाट झिनो मतले अगाडि छन् । उनलाई एमालेका जगदीश कुसियैतले पछ्याइरहेका छन् । सुनसरी ४ को मतगणना अन्तिमतिर आइपुग्दा मन्त्री कार्की कुसियैतभन्दा ५८ मतले अगाडि छन् । कार्कीले २७ हजार चार सय ४० र कुसियैतले २७ हजार तीन सय ८२ मत पाएका छन् ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार कुसियैतलाई पछाडि पार्दै कार्की विजयी भएका थिए । तर यसपटक माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि कार्कीलाई चुनाव जित्न निकै सकस परिरहेको छ । अब चार हजार मत गन्न बाँकी छ । त्यसैले अहिले नै कसले जित्छ भन्ने अनुमान गर्न कठिन छ ।
तीन दशमलव ५१ अङ्कले घट्यो नेप्से
काठमाडौँ, १४ मङ्सिर (रासस) ः
पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो ।
आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने घटेको छ ।
लघुवित्त र व्यापार समूहको उपसूचक क्रमशः शून्य दशमलव २७ र १६ दशमलव ४२ अङ्कले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १८ दशमलव ८५ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन समूहको उपसूचक १८ दशमलव ३७, वित्त समूहको उपसूचक १७ दशमलव ८४, जीवन बीमा समूहको उपसूचक १७ दशमलव ५४, अन्य समूहको उपसूचक ९ दशमलव ७६ र निर्जीबन बीमा समूहको उपसूचक ७ दशमलव ५० अङ्कले घटेको छ ।
बैंकिङ समूहको उपसूचक शून्य दशमलव ३१, होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ३८, जलविद्युत् समूहको उपसूचक दुई दशमलव २९, लगानी समूहको उपसूचक शून्य दशमलव २३ र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १२ अङ्कले घटेको छ ।
आजको कारोबारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता चार दशमलव १७ प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन् ।
आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु चार करोड ७९ लाख ३४ हजार चार सय २३ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा भने नविल बैंक लिमिटेडको शेयर चार सय ९६ पटक कारोबार भएको छ ।—


