प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ, १३ पुस । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
अध्यक्ष दाहाल निवास खुमलटारमा आज मध्यान्ह भएको सो भेटवार्तामा सरकार सञ्चालन, विस्तारलगायत समसामयिक विषयमा छलफल भएको जनाइएको छ । अध्यक्ष दाहाललाई भेट्न अध्यक्ष ओली खुमलटारस्थित निवासमा पुग्नुभएको हो । यसअघि आजै बिहान प्रधानमन्त्री दाहालले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको थियो । दाहाल नेकपा (एमाले)लगायत विभिन्न सात राजनीतिक दल तथा स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।
आँखा शिविरबाट तीन सय सात लाभान्वित
डडेल्धुरा, १३ पुस । स्थानीय गन्यापधुरा गाउँपालिकामा आयोजना गरिएको निःशुल्क आँखा शिविरबाट तीन सय सात जना लाभान्वित भएका छन् । वडा नं स्थित ४ कैलपालमाण्डौ स्वास्थ्य चौकीमा वडा नं ४ र ५ को आर्थिक सहयोग र नेपाल नेत्र ज्योति सङ्घ, गेटा आँखा अस्पताल र जिल्लास्थित आँखा अस्पतालको प्राविधिक सहयोगमा मङ्गलबार एकदिने शिविर आयोजना गरिएको थियो । आँखाको उपचार गराउन जिल्ला सदरमुकाम डडेल्धुरालगायत अन्य अस्पताल जान नसक्ने ज्येष्ठ नागरिक तथा आर्थिक अभावले उपचार गर्न नसक्ने स्थानीयवासीले गाउँमै राखिएको निःशुल्क शिविरबाट सेवा लिएका हुन् ।
शिविरमा उपचार गराउनेहरुको भीड लागेकाले अब चाँडै गाउँपालिकाभित्र शल्यक्रियासहित आँखाको उपचार गराउन शिविर आयोजना गरिने गाउँपालिका अध्यक्ष इन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । आर्थिक अवस्था कमजोर भएका लक्षित समुदाय र ज्येष्ठ नागरिक तथा असहायका लागि शिविर आयोजना गरी सेवा प्रदान गरिने उहाँले बताउनुभयो । आँखाको उपचार मात्रै नभई अन्य दीर्घ रोगको औषधोपचारका लागिसमेत गाउँपालिका भित्रै शिविर आयोजना गरी स्थानीय सर्वसधारणलाई सेवा प्रदान गरिने उहाँको भनाइ थियो ।
वडावासीहरुको समस्या पहिचान गरी शिविर आयोजना गरिएको वडाध्यक्ष नरेशकुमार भट्टले बताउनुभयो । उक्त गाउँपालिकाजस्तै जिल्लाका अन्य क्षेत्रका महिलामा पाठेघरको समस्या, आँखासम्बन्धी समस्या, दीर्घ रोगी र अन्य समान्य तथा जटिल प्रकृतिका रोगीका लागि पनि शिविर आयोजना गर्नुपर्ने स्थानीयवासीको माग थियो । शिविरमा चिकित्सक डा मुकेश पाण्डेयसहित अन्य चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको सहभागिता थियो ।


