लण्डनबाट टुडेप्रेसडटकम नामक नयाँ न्यूजपोर्टलको शुभारम्भ
लण्डन। गत १६ जुलाई २०२३ का दिन टुडेप्रेसडटकमको शुभारम्भ भएको छ ।
लण्डनको चाइनाटाउन स्थित एक हलमा नेपाल पत्रकार महासंघ नेपालका केन्द्रीय महासचिव रोसन पुरीले वेभसाईटलाई ल्यापटपमा खोलेर शुभारम्भ गरेका हुन । अंग्रेजी माध्ययमको समाचार, लेख रचना रहने यस टुडेप्रेसडटकमले शुभारम्भ लगतै नेपाल पत्रकार महासंघ युकेका पूर्वअध्यक्ष नविन पोख्रेल, नरेश खपाङ्गी लगायतले हाल मिलाएर सफलताको निमित्त शुभ कामना दिएका थिए ।
आफूले करिब दुई दशक देखि निरन्तर नेपाली माध्ययमको न्यूजपोर्टल नेपालीसमाचारडटकम चलाए पनि छोराछोरीहरुले नबुझ्ने, नपढ्ने र नहेर्ने गरेको कारण नयाँ पुस्ताहरुलाई जोड्नको निमित्त अग्रेजी माध्ययमको न्यूजपोर्टल चलाउनु परेको साथै आदिवासी मुलवासीहरुको मुद्धालाई सशक्त र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय भाषामा पनि प्रकाशन गर्न आवश्यक महशुुस गरि यो नयाँ न्यूजपोर्टल शुरु गरिएको संचालन तथा सम्पादक विश्वास दीप तिगेलाले बताए ।
यस टुडेप्रेसडटकमका सम्पादकमा सुश्री मलियना लिम्बु र मोहन राई लगायत रहेका छन । यो न्यूज पोर्टल नेपालीसमाचारडटकमको सिस्टर प्रकाशनको रुपमा रहने जनाईएको छ ।


