प्रधानमन्त्री दाहाल – राजीनामा मागिहाल्ने संस्कार राम्रो भएन

काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक उद्देश्यका लागि प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागिहाल्ने संस्कार राम्रो नभएको बताएका छन्।

इटाली भ्रमणबाट फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री दाहालले राजीनामा दिने भए देऊ, नभए सदन चल्दैन भनेर विपक्षीले गरेको अवरोध राम्रो नभएको बताए।

उनले उपप्रधानमन्त्री, मन्त्रीहरूसँग छलफल गरेर यस विषयमा प्रष्ट पार्ने स्पष्ट पारे। स्पष्टीकरणको मौका नै नदिई एकोहोरो राजीनामा मात्रै माग्ने संस्कार राम्रो नभएको प्रधानमन्त्री दाहालको भनाइ छ।

यस्तै देशव्यापीरूपमा महामारीका रूपमा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारको तर्फबाट आवश्यक मेहनत गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद्को बैठक, अन्य सरोकारवाला निकायसँगको छलफलमा पनि सो रोग नियन्त्रणका लागि आवश्यक पहल गरिएको र लाखाैं पशु चौपायालाई खोप लगाइएको बताए।

प्रधानमन्त्रीको हैसियतमा संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागिता आफैँमा महत्त्वपूर्ण रहेको उनले जानकारी दिए। विश्व समुदायमा नेपालको उपस्थिति र हैसियत थप स्थापित गर्न सम्मेलन महत्त्वपूर्ण रहेको प्रधानमन्त्री दाहालको भनाइ छ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए।

सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम-२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गरेका थिए। सो अवसरमा प्रधानमन्त्री दाहाले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताएका थिए।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो। भेटवार्तामा उनीहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो। उनीहरूबीच कृषि र जलविद्युत्का क्षेत्रमा सहकार्य तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो। भेटका क्रममा उहाँहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसंघबीचको सम्बन्धलाई अझ मजबुत बनाउनेबारे छलफल भएको थियो।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।