हिउँ, हिमाल र हिउँ चितुवाको मारमा याकचौँरी

मनाङ, १७ पुस : हिमाली जिल्ला मनाङका बासिन्दाको मुख्य व्यवसाय कृषि, पशुपालन र पर्यटन हो । पर्यटक आमगन वृद्धि भएसँगै पर्यटन व्यवसायको सुरुआत भएको हो भने कृषि र पशुपालन यहाँको परम्परागत व्यवसाय हुन् ।

यहाँका स्थानीय बिस्तारै पशुपालनबाट विमुख हुने अवस्थामा छन् । घाँसको अभावले गर्दा यहाँका बासिन्दा व्यवसाय फेर्न थालेका छन् । विदेशिने क्रम बढ्नाका साथै परम्परागत व्यवसायबाट लाभ कम हुन थालेसँगै व्यवसाय परिवर्तनको अवस्थामा यहाँका बासिन्दा छन् ।

पहिलेभन्दा हिमपातमा कमी आउँदा पशुपालक किसान मारमा परेका छन् । हिमपात परेको खण्डमा यहाँ याकचौँरीका लागि घाँस पलाउने गर्दछन् । हिमपात कम हुन थालेपछि भने घाँसको कमी हुँदै गएको मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका ६० वर्षीय पशुपालक किसान याङ्चु खण्डा लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले पहिले हिउँदका लागि वस्तुभाउलाई खुवाउन घाँस सुकाएर राखिन्थ्यो, अहिले घाँस नै कम पाइन्छ, पानीको अभावले घाँस नै हुन छाड्दै गएको छ, पहिले समयमा हिउँ पथ्र्यो र घाँस पनि समयमा नै पलाउथ्यो, अहिले घाँस पलाउनै छाड्यो, पहिलेको जस्तो घाँस नै आउँदैन ।”

पशु पाल्न र कृषिमा लाग्न पानी नै मुख्य आवश्यकता रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले त खर्क पनि झन् माथि सरेको जस्तो पो लाग्छ, घाँस खोज्दै वस्तुमाथि माथि जान्छन्, हामी पछि लागिरहन्छौँ ।” जतिमाथि गयो उति नै हिउँ चितुवाको डर पनि बढ्दै जाने गरेको उहाँले बताउनुभयो । आहाराको अभावले हिउँ चितुवाले अहिले घरपालुवा पशुलाई आक्रमण गर्ने क्रम बढ्दै गएको छ ।

त्यस्तै पशुपालक किसान सोनाम लामाले माथि खर्कमा लैजाँदा चितुवाको जोखिम बढ्दै जाने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “माथि खर्कमा याकचौँरी चराउन लैजाँदा चितुवाले सताउँछ, गोठमा कुर्दाकुर्दै बाच्छाबाच्छी मार्दिन्छ, कैयौँ दिन त नसुतीकनै गोठ कुरिन्छ, तर पनि हुँदैन ।”

चितुवाको आक्रमण बढेको सुनाउँदै उहाँले भन्नुभयो, “चितुवा बढेको हो कि आहारा कम भएको बुझ्नै सकिएको छैन, घाँसको कमी उस्तै छ, हिउँ चितुवाले पनि सताउने क्रम बढेको छ, बाच्छाबाच्छीलाई सुरक्षित राख्ने भनेर खोरमा राखिन्छ, तर कहिलेकहीँ त माउलाई नै मार्दिन्छ, बच्चा हुर्काउनै मुस्किल हुन्छ ।”

मनाङ ङिस्याङ–१ पिसाङका ७० वर्षीय याङदुङ गुरुङले घाँस कम हुने, गोठाला नपाउने र हिउँ चितुवाको आक्रमण बढ्दै जाँदा पुशपालन घट्दै गएको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले सयौँ याकचौँरी, भेडा, घोडा पाल्दै आए पनि अहिले घटाउँदै लगेको छु, गोठाला पाउनै मुस्किल छ, घाँस घटेको छ ।” गोठ माथि खर्क लैजाने बेलामा पशुचौपाया हेर्न गोठाला बिना नहुने अवस्था रहेको उहाँले सुनाउनुभयो ।

चितुवाको आक्रमणले पशुचौपाय मार्ने र घाइते बनाइदिने भएपछि गोठाला बिना पशु पाल्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हिउँ कम पर्छ, हिउँ नपरेपछि केको घाँस पलाउनु पानी नै हुँदैन, पानी र घाँसको अभावले वस्तु पाल्न पनि कम गर्नुपर्ने बाध्यता आउन थालेको छ ।”

बिस्तारै हिमाली जिल्लामा नै हिउँ कम पर्न थालेको पाइन्छ । हिउँ कम पर्दै जाँदा कृषि र पशुपालनमा लागेका किसान मारमा पर्ने गरेका छन् । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।