धनकुटाको हिलेमा रेन्बो ट्राउट माछा प्रबर्दनका लागि कार्यक्रमको शुरुवात
धनकुटा खबर संवाददाता । धनकुटाको छथरजोरपाटी गाँउपालिका सिंधुवा स्थित जुना श्रेष्ठले संचालन गरिरहेको रेन्बो ट्राउट माछापालन कार्यलाई बजारमा प्रबर्धन तथा प्रचारप्रसार गर्ने उद्धेश्यका साथ चैत २४ गते देखि श्रेष्ठ एण्ड राई होमस्टे धनपा १, हिलेमा माछाको परिकार खाने कार्यवक्रम संचालनको शुरुवात भएको छ ।
हिजो भएको उक्त कार्यक्रमा पहिलोपटकका लागि स्थानीयहरुलाई प्राथमिकता दिईएको थियो । ट्राउट माछाको कहिल्यै स्वाद नलिएका तथा लिईसकेकाहरुका लागि फरक स्वादमा ट्राउट माछा खाने कार्यक्रम गरिएको हो ।
धनकुटा जिल्लालाई कृषिजन्य हब तथा नमुना बनाउनका लागि श्रेष्ठ एण्ड राई होमस्टेले स्थानीय उत्पादनहरुलाई बिगत २ बर्ष देखि प्रबर्धन गरिरहेको छ । नियमित रुपमा ट्राउट माछा खाने कार्यक्रम बनाउनका लागि प्रत्येक शुक्रवार र शनिवारको दिन होमस्टेमा माछाको परिकार खान सकिने होमस्टे संचालक पार्वती श्रेष्ठले बताउनु भयो । यस कार्यव्रmमको पहिलो दिन धनकुटा नगरपालिका वडा नम्बर १ हिलेका स्थानीयहरुलाई आमन्त्रण गरिएको थियो ।
अबको कार्यक्रममा भने सुनसरी, मोरंग तथा झापा जिल्लाका बासिन्दाहरुलाई आमन्त्रण गरिने र लालीगुराँस फुल्ने सिजन भएकोले समेत ट्राउट माछाको परिकार खाने तथा कृषि संग अन्य पर्यटन संचालन गर्न संभव हुने कुरा कार्यक्रम संयोजक जीवनप्रसाद राईले बताउनु भयो ।
कार्यक्रममा छथरजोरपाटी गाँउपालिका वडा नम्बर ६ का अध्यक्ष दिपक गुरुङ तथा उहाँको साथमा सहकर्मीहरुको उपस्थिति थियो । यसैगरि पशुबिज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुंगानाको समेत उपस्थिति भएको कार्यक्रममा स्थानीय ७० जनाले रेन्बोट्राउट खाएर नयाँ फरक स्वाद लिएका थिए ।
यस कार्यक्रमले धनकुटा जिल्लामा उत्पादित ट्राउट माछाको बिक्री वितरणमा सहयोग पुग्ने मात्रै नभएर थप नयाँ ब्यवसाय बिकासमा समेत टेवा पुग्ने एउटा ब्यवसाय जोगाउन सक्दा हजारौ सपना तथा ब्यवसायीहरुलाई उत्साह र उर्जा प्रदान गर्न सकिने विश्वास कार्यक्रम संयोजक राईले बताउनु भयो ।







