चौविसेको राजारानीमा हुने ११ औं संस्करणको रारा गोल्डकपमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड क्लव सहित आठ टिमको सहभागिता हुने
धनकुटा । आगामी जेष्ठ १० गतेदेखि चौविसे गाउँपालिका केन्द्र राजारानीमा हुन लागेको ११ औं संस्करणको रारा गोल्डकपमा सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाईज युनाइटेड क्लव सहित आठ टिमको सहभागिता हुने भएको छ ।
रारा फुटवल क्लवको आयोजना हुने प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज सहित झापाको विर्तामोड युनाइटेड क्लव, गतसंस्करणको रारा गोल्डकप विजेता सिरहाका सलहेश यूवा क्लव, उपविजेता डाँडाबजार फुटवल क्लव, मोरङको डाँगीहाट यूथ क्लव, भोजपुर जिल्ला फुटवल संघ, मकवानपुरको रियलस्टार यूवा क्लव हेटौडा र आयोजक गरि आठ टिमको सहभागीता रहने प्रचारप्रसार संयोजक सविन अधिकारीले बताए ।
गतसंस्करण भन्दा यो संस्करणमा विजेता तथा उपविजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ । प्रचारप्रसार संयोजक अधिकारीका अनुसार ११ औं संस्करणको विजेताले नगद ५ लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछ । त्यसैगरी उपविजेता टिमले नगद २ लाख ५० हजार रुपैया र ट्रफी पाउनेछ । गतसंस्करणको विजेताले नगद ३ लाख र उपविजेता टिमले नगद १ लाख ५० हजार रुपैया प्राप्त गरेका थिए ।
त्यस्तै हरेक खेलमा म्यान अफ द म्याच पुरस्कारको व्यवस्था गरिएको छ । म्यान अफ द म्याच हुने खेलाडीले नगद ७ हजार रुपैया प्राप्त गर्ने छ । त्यस्तै प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैया सहित ट्रफी, विधागत तर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर र उदयीमान खेलाडीले जनही १०÷१० हजार रुपैया र ट्रफी प्राप्त गर्नेछन् ।
जेठ १६ गतेसम्म संचालन हुने प्रतियोगितालाई भव्य रुपमा संचालन गर्न आवश्यक तयारी भइरहेको छ । खेलाडीहरुको सुविधाका लागि प्लेयर वक्स र खेलमैदान स्तरोन्नोत्तिको काम धमाधम भइरहेको आयोजक रारा फुटवल क्लवका अध्यक्ष मणि चेम्जोङले बताए ।
प्रतियोगिता वारे केही दिनमै पत्रकार सम्मेलनको आयोजना गरि औपचारिक रुपमा जानकारी दिने तयारी भइरहेको उनको भनाई छ ।-एचआर न्यूज


