धनकुटाबाट अपहरण,शरीर बन्धक र जबर्जस्ती करणी कसुरमा दुई जना पक्राउ
धनकुटा,१७ फागुन । धनकुटामा अपहरण,शरीर बन्धक र जबर्जस्ती करणी कसुरमा २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ३ गढीगाउंका १९ बर्षिया सनिश याख्खा र मोरङको उर्लाबारी नगरपालिका ५ सूर्य चोक बस्ने १९ बर्षिया प्रतीक विक रहेका छन् ।
आज बिहान करिब ४ बजे एक जना स्थानीय र एक जना उर्लाबारी मोरङ ठेगाना भएका गरी जम्मा दुई जना १४/१४ वर्षीया नाबालिकाहरूलाई ललाइफकाइ गरी भगाई ल्याई याख्खाको घरमा विगत ३ दिनदेखि राखिरहेको भन्ने सुचना पाएपछि प्रहरी चौकी मुढेबासबाट खटिएको प्रहरी टोलीद्वारा दुबै जनालाई पक्राउ गरि ल्याइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रबक्ता डीएसपी ओमप्रकाश खनालले धनकुटा खबरलाई जानकारी दिए ।
दुबै बालिकाको उद्धार गरिएको र नीज दुबै व्यक्तिमाथि अपहरण,शरीर बन्धक र जबर्जस्ती करणी कसूरमा जाहेरी लिई अनुसन्धान भैरहेको साथै जिल्ला अदालत मोरङबाट मिति २०८१ जेठ ९ गतेको फैसला आदेश अनुसार याख्खाको ८ वर्ष ६ दिन र विकको ६ वर्ष २ महिना ६ दिन कर्तव्य ज्यान सम्बन्धी मुद्दामा कैद सजाय तोकी फरार रहेको अभिलेखबाट देखिएको पनि डीएसपी खनालले बताए ।


