मोरङमा बलात्कारपछि नाबालिकाको हत्या
विराटनगर । मोरङको धनपालथान गाउँपालिका–६ बबियामा पाँच वर्षीया नाबालिकाको रहस्यमय अवस्थामा शव फेला परेको छ। प्रहरीको प्रारम्भिक अनुमान अनुसार बालिकामाथि बलात्कारपछि हत्या गरिएको आशंका गरिएको छ।
स्थानीय अक्षय सरदारकी छोरी आत्तिका सरदार शनिबार राति ३ बजे बेपत्ता भएकी थिइन्। उनी घरमा अभिभावकसँगै सुतेकी थिइन्। बिहान ५ बजे बालिका हराएको थाहा पाएपछि परिवारले प्रहरी चौकी कर्सियामा खबर गरेका थिए।
त्यसपछि खोजतलास गर्दा घरदेखि करिब १०० मिटर टाढा रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा बालिकाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार बालिकाको अनुहार, घाँटी र शरीरका अन्य भागमा चोटपटक देखिएको छ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी र जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर सरोज खनालको टोली पुगेर अनुसन्धान थालेको छ। शवलाई कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोशी अस्पताल पठाइएको छ।
‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या जस्तो देखिन्छ, तर पुष्टि पोस्टमार्टमपछि मात्र हुनेछ,’ प्रहरी स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।


