अवसर र चुनौतीको बीच नेपाल

जीवनप्रसाद राई । २०८२ भदौ २३ र २४ गते नेपालमा सायदै कसैले कल्पना गरेको घट्ना भयो । यो सुनियोजित थियो भन्ने केही मानिसहरुको आशंका छ । राजनीति तरल भईसकेको अवस्थामा यस्ता घट्नाहरु हुन्छन भन्ने बिषय हामीले बिगतको राजनीतिक ईतिहासबाट नसिक्नु र नजान्नु चाहि कमजोरी थियो । यतिबेला एकले अर्कोलाई दोषारोपण गर्नुभन्दा पनि हाम्रो कमजोरीहरु के कस्ता छन भन्ने बिषयमा खोजी गर्दै त्यसलाई सुधार गर्ने दिशामा अघि बढे राम्रो हुनेछ । यसलाई अवसरमा बदल्न आवश्यक छ । कसैको कमजोरी नभई यस्तो घट्नाहरु घटदैनन । देशीबिदेशी शक्तिले यस्ता घट्नाहरु घटाउन हर प्रयास गरिरहन्छन भन्ने बिषय कुसल राजनीति गर्नेहरुले बुझ्नै पर्दछ । यदि यति पनि नबुझ्ने र बुझ्न नसक्नेहरुले कुनै पनि नाममा राजनीति गर्न र गरिनु हुदैन । यसप्रकारका घट्ना नेपालमा मात्रै होईन अन्य मुलुकमा पनि धेरै घटेका घट्नाहरु छन । राजनीति केवल भित्तामा नाम लेखाउन, राज्यका सुबिधा पाउन र ऐस आरामका लागि मात्रै होईन । यसमा सफल हुदाँ ईतिहासमा स्वर्णिम अक्षरले लेखिने अवसर समेत हो भने असफल हुदाँ ईतिहासकै सबैभन्दा गद्धार र फासीमा चढ्नलाई तयारी पनि हो । यही बिषय नबुझ्दा नै आजको दिनमा राजनीति धमिलो भएको हो ।

के यो सुनियोजित तरिकाले घटाईएको घट्ना हो ?

थोरै समयमा धेरै क्षति भएको नेपाली ईतिहासमै यो पहिलो राजनीतिक घट्ना हो । तर यो एक्कासी भएको घट्ना थिएन, बारम्बार रुपमा बिज्ञहरुले सतर्क गरेको, नेपाल र नेपाली बचाउ अभियन्ता दुर्गा प्रसाईले गरेको अभियानले बारम्बार भनिरहेको, अर्का अभियन्ता रिता खनालले दिएको अभिब्यक्ति, बेला बेलामा काठ मेयर बालेन शाहले सिंहदरबार जलाउने लिखित अभिब्यक्ति दिएको, सत्तापक्षका सांसद डा सुनिल शर्माका अभिब्यक्तिहरु, अर्का सांसद डा चन्द्र भण्डारीको असन्तुष्टि अनि अभिब्यक्तिहरु, त्यसैगरि बेला बेलामा प्रचण्डले दिने अल्टिमेटम, नो नट अगेनका संस्थापक रबि लामिछानेले बोलेका उत्तेजनात्मक भाषणहरु, राजा स्थापित गर्नका लागि गरिएको आन्दोलनहरु, सत्तामै रहेर पनि शक्ति प्रदर्शन गर्नका लागि तम्सिएका नेकपा एमाले र नेकपा माओवादीहरुको तमासा लगायतका घट्नाहरुले सिन र अनसिन दुवै तरिकाले यो गम्भिरताको सुचना दिईरहेको यथार्थ थियो । यसैले यो एक्कासी र राज्यलाई थाहै नदिई भएको आन्दोलन थिएन । संभवत यस्तो घट्ना हुन गईरहेको छ भन्ने बिषयमा सरकारलाई सुचनाहरु समेत दिईएको हुनुपर्दछ । त्यस्तो सुचनाकै आधारमा नै खबरदारी गर्नका लागि नेकपा एमाले र माओवादीले आफुहरु सत्तामा रहेर पनि शक्ति प्रर्दशन गर्न उचित ठानेको हुनुपर्दछ ।

(जीवनप्रसाद राई )

अत, यस्तो हुदैछ भन्ने सुचना सत्तामा बस्ने नेताहरु, बिज्ञ तथा बौद्धिक बर्ग वा समुह सबैले यो जानकारी र सुचना पाईसकेका थिए । तर यसमानेमा हाम्रो सरकार र सरकार चलाउने दलका नेताहरु गम्भिर नहुनु चाहि हाम्रो लागि ठुलो दुर्भाग्य हो । यस्तो अवस्थामा समेत नागरिक सरकारले सतर्कता अपनाउन नसक्नु, नचाहनु र यो अवस्थालाई बेलैमा समाधान पहिल्याउन नसक्नु सर्बथा सत्ताधारीहरुको कमजोरी मात्रै होईन खेलाची पनि हो ।

 

यतिका बर्ष र साल सम्म सत्तामा बसेका र ४ पटक र ५ पटक प्रधानमन्त्री भईसकेकाहरुले खेलाँची सम्झनु बालापन हो । माथिको सुचना भनेको के हो भने आगो बाल्नका लागि दाउराको पुरापुर मात्रामा तयारी भएको छ । आगो बाल्न अर्थात चैत बैशाखकै जस्तै बाहिरी बातावरण सुक्खा भएको छ भन्ने सन्देश हो ।

यस्तो सन्देशका बेला के गर्ने र कसरी तयारी हुने भन्ने बिषयमा गम्भिरता पुर्वक तयारी नगर्नु सत्ताको सोह्रैआना कमजोरी हो । जसरी मदन भण्डारीको हत्या र दरबार काण्ड भयो त्यो पनि सुनियोजित तरिकाले धेरै बर्ष पहिलाबाट गरिएको घट्ना थियो । तर तत्कालिन अवस्थामा सुरक्षाको ख्याल नगरिदा भएको घट्नाहरु थियो । हो यसैगरि भदौ २३ र २४ गतेको घट्ना निश्चय नै धेरै पहिला देखिको योजना अनुसार भएको थियो । यसबारेमा बिज्ञहरुले पटक पटक सुचना दिदै गरेको तर सत्तापक्षले कम्तिमा यो घट्ना हुन नदिनका लागि तयारी नगरेको बरु माहौल उत्तेजित बनाउने काम गरेको थियो ।

घट्नाको नाटक मंचन र यसका सिन अनसिन पात्रहरु :

म जस्तै जेन एक्स पुस्ता र सो भन्दा माथिका उमेर समुह अर्थात ४५ बर्ष माथिका मानिसहरुले जीवनमा कहिल्यै नसुनेको जेन जेड अर्थात सन १९९७ देखि २०१२ सम्ममा जन्मेको पुस्तालाई नाम दिईएको छ । जेनेरेशन जेड भन्ने शब्द पहिलो पटक सुनेको ७२ घण्टामा मुलुकमा देशको राजधानी काठमाण्डौमा रहेको ब्यवस्थापिका संसदभवन, कार्यपालिका सिंहदरबार र न्यायपालिका सर्बोच्च अदालत तिनै अंगहरु ध्वस्त भए र ५१ जना होनहार युवाहरुको हत्या भयो अनि हजारौ घाईते भए । ईतिहासमै यो अत्यन्तै निर्मम अनि अकल्पनीय थियो । पहिलो दिन भदौ २३ गते १९ जना युवाहरुको हत्या भएको आक्रोशमा भदौ २४ गते काठमाण्डौमा नेकपा एमालेका १३ जना, नेपाली कांग्रेसका १० जना, माओवादी केन्द्रका ८ जना, लोसपाका १ जना र जसपाका २ जना गरि जम्मा ३४ जना नेताहरुको घरमा आगजानी हुनुका साथै भाटभटेनी सुपरमार्केटका धेरै शाखा, धेरै ब्यापारिक संस्था र भवनहरुले नोक्सानी ब्याहोर्न पर्यो ।

धेरै कारणहरु मध्ये यसको अन्तिम कारण थियो सरकारले सामाजिक संजालहरु बन्द गर्नु । जेनजी जेड पुस्ता भनेको यस्तो पुस्ता थियो जो जन्मिदै सामाजिक संजाल र स्मार्ट मोबाईल चलाएर हुर्किएको पुस्ता हो । बिश्लेषक भरत दाहालका अनुसार यो सारासार जानीजानी नै नाटक मंचनकर्ताले सरकारलाई बन्द गर्न लगाएको थियो सामाजिक संजाल । यस हिसाबले सरकारले आफ्नै स्वबिवेकले सामाजिक संजाल बन्द पनि गरेको थिएन । मुलुकमा एउटा अस्थिर राजनीति तरंग ल्याउन र भड्काउनका लागि यो नै सबैभन्दा गतिलो माध्यम नाटकका स्क्रिप्टका लेखकले लेख्ने काम गरे र निर्देशन गर्नेले निर्देशन गरे । सरकारले यसलाई पहिलोपटक बन्द गर्ने भनेको थिएन । अन्तिमपटक यो भनिरहँदा ६ पटक भएको थियो । अर्थात यसलाई यसरी पनि बिश्लेषण गरौ ।

 

यस घट्नाको खलपात्रको रुपमा एमाले र काँग्रेसका गठबन्धन सरकार अनि त्यसको नेतृत्व गरिरहेको प्रधानमन्त्री केपी ओली हुन । अन्य सहायकहरुमा सरकारका सन्चारमन्त्री पृथ्बीसुब्बा गुरुङ र गृहमन्त्री रमेश लेखक भए । अझ जनताले बुझ्ने भाषामा भन्नुपर्दा अन्तिम रुपमा बिर्सन नसकिने सहायक पात्र हुन पृथ्बीसुब्बा गुरुङ किनकी उनले नै जनताको रगत उमाल्ने काम गरेको थियो ।

त्यो भाषा यस्तो थियो जतिबेला घट्ना घटिसके पछि माफी माग्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्नेमा प्रमंले अहिले राजीनामा दिदैनन भनेका थिए । यो शब्दले नै सरकार र परिस्थिति प्रति आक्रोसित भीड जम्मा गर्ने र आगो सल्काउने काम गरे ।

जेनजीको आन्दोलनमा सरकार खलनायकको रुपमा चित्रण गर्न सकिन्छ भने यसमा जेनजी नायकको भुमिकामा देखिन्छ । तर यसको पर्दा पछाडि खेल्नेहरु को थिए भन्ने बिषय नै रहस्यमय बनेको छ । केही बिश्लेषकहरुका अनुसार यो अमेरिकन खेमाबाट भएको भन्छन भने कोही भारतीय डिजाईन हो भनेका छन । तर घट्नाका प्रकृति हेर्दा यो पुरै अमेरिका र पश्चिमाहरुको खेल हो भन्ने निचोडमा पुग्न सकिन्छ । भरखरै श्रीलंका र बंगलादेशमा भएको यस्तै प्रकृतिको आन्दोलन पनि पश्चिमाहरुकै डिजाईनमा भएको थियो । अमेरिका र पश्चिमाहरु के चाहन्छन भने दक्षिण एसियामा कुनै पनि हालतमा अस्थिरता पैदा गराउने । पहिला भारत आसपासका मुलुकहरुमा अस्थिरता पैदा गर्ने र अन्तिममा भारतमा गर्ने । त्यो अवस्था बिस्तारै देखिन्दैछ । पछिल्लो समय भारतमा पनि नेपालकै जस्तै आन्दोलन शुरु भएको पनि छ । भारतमा पछिल्लो समयमा मोदी प्रति जनतामा धेरै घृणाभाव उत्पन्न गराईएको छ भने उनको लोकप्रियता क्रमिक रुपमा घटेर गएको छ । त्यो भारतको पछिल्लो चुनावी नतिजाले समेत देखाईरहेको छ । अझ भारतमा त राजनीतिक अस्थिरता मात्रै होईन राज्यहरुलाई टुक्राएर अलग्गै राज्य निर्माण गर्ने सम्मको तयारी भईरहेको देखिन्छ ।

यसैले के भन्न सकिन्छ भने यो भारतीय डिजाईनमा होईन कि पश्चिमा र अमेरिकन डिजाईनमा भएको घट्ना हो । त्यसको पुष्टि यसरी पनि गर्न सकिन्छ कि जतिपनि सामाजिक संजालहरु छन त्यो सबै पश्चिमा र अमेरिकन कम्पनीहरु हुन । त्यो सामाजिक संजालहरु सरकारले बन्द गर्नु भनेको खलनायक भुमिका खेल्नु हो र हाम्रो सामाजिक संजालहरु बन्द हुदा कस्तो नतिजा आउँछ देख्यौ भन्ने तरिकाबाट नेपाललाई गरेरै देखाउने खेल पश्चिमा र अमेरिका खेल्नु स्वभाविक छ । तर हामीले कुटनीति, राजनीति, सामाजिक संजालको महत्व, यसको उपदेयता लगायतका बिषयहरु बुझ्न नसक्नु सोह्रैआना कमजोरी हो ।

डिजिटल युग र क्रान्तिको नयाँ परिभाषा:

संसार डिजिटल युगमा गईसकेको र त्यसबाट नेपाल अछुतो नहुने बिषय सरकार र राजनीतिक दलहरुले बुझ्न नसक्नु नै अहिलेको सबैभन्दा गलत हो । अब जेन एक्स र सो भन्दा माथिल्लो पुस्ताले बुझेको क्रान्ति  र अहिलेको डिजिटल युगमा हुनसक्ने क्रान्तिको बीच आकाश जमिनको फरक छ । हिजो माओवादीले बन्दुकबाट मात्रै सत्ता कब्जा गर्न सकिन्छ भन्ने थियो, काँग्रेसले हतियार नै बोकेर आन्दोलन गरेको थियो । एमालेले धेरै लामो संघर्ष गरेको थियो सत्ता परिवर्तनका लागि । तर आजको युग डिजिटल हो । बन्दुक होईन, लामो समय होईन मानिसहरुलाई बुझाउन सामाजिक संजालबाट सजिलो गरि सकिन्छ भन्ने स्पष्ट सन्देश दिएका छन । सही सुचनाहरु दिएर भीड जम्मा गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने सबैभन्दा महत्वपुर्ण सन्देश दिएका छन जेनजी पुस्ताले । उनीहरुले सत्ता कब्जा गर्नका लागि लामो संघर्ष गरिरहन नपर्ने शिक्षा पनि दिए । उनीहरुले प्रत्येक सरोकारवालालाई निकै महत्वपुर्ण बिषयमा पनि सिकाएका छन त्यो हो ।

छैठौ पटक प्रधानमन्त्री बन्छु भनेर पालो कुरिरहेका शेर बहादुर देउवालाई श्रीमति खान्दानी मात्रै होईन राम्रो र परिस्थिति बुझ्न सक्ने चाहिने रहेछ ।

यसैगरि केपी ओलीलाई सल्लाहकार राम्रो चाहिन्छ भनेर सिकाएका छन । माओवादी अध्यक्ष प्रचण्डलाई आगो बाल्ने बस्तु त अरु संग पनि हुन्छ भनेर सिकाएका छन । यसैगरि रबिलाई नो नट अगेन भन्नेहरु अरुहरु पनि हुन्छन, काठमाण्डौ मेयर बालेन शाहलाई बोल्न र आक्रोश  पोख्न जति सजिलो छ तर जिम्मा लिन त गारो पर्ने हुन्छ, हर्क साम्पाङलाई मानिसहरुको सेन्टिमेन्ट लिन मात्रै होईन तिनलाई मिलाएर राख्न पनि सक्नुपर्दछ । राजनीतिकर्मीहरुलाई कुकर्म र लुटको सम्पत्तिको आयु लामो हुदैन भनेर सिकाएका छन ।

लुटेराहरुलाई कानुन नभएकै राम्रो तर कानुन भएपछि के हुन्छ भन्ने बिषयको ज्ञान दिएका छन । आरजु देउवालाई पैसाले सुरक्षा हुदैन भन्ने बिषयमा सिकाएका छन । तत्कालिन गृहमन्त्री लेखकलाई शक्ति छ भन्दैमा जे पनि गर्न पाईन्दैन भनेर सिकाएका छन । जनतालाई नेताहरु मात्रै होईन मौकामा जनता पनि लुटछन है भनेर शिक्षा दिएका छन भने जेनजीले जेनजीलाई नै जतिपनि अरुले यो गरेन त्यो गरेन भनेर भन्न र प्रश्न गर्ने ठाँउमा बस्न सजिलो छ नि त्यतिनै उत्तर दिने र समाधान गर्ने ठाँउमा अनुभवीहरु चाहिन्छन भन्ने सन्देश दिएका छन । उनीहरुले दिएको यो सन्देश सदा रहनेछ र यसैमा टेकेर यो मुलुक निर्माण गर्न सकिन्छ भनेर आशा गरौ ।

डिजिटल युग र डिजिटल बिषय अब सबै नेपालीका अनिवार्य आवश्यक र खानपिन जस्तै भईसकेको छ । यसको महत्व बुझनका लागि जोसुकै होस युवा दिमाग चाहिएको छ । जसरी विश्वमा कृषि क्रान्ति भयो त्यसको बलमा टेकेर औधोगिक क्रान्ति भयो । यसै औधोगिक बलमा टेकेर नै संसारका मुलुकहरु आज शक्तिशाली बन्ने दाउमा छन जुन देशले औधोगिक बलका आधारमा शक्तिशाली बन्ने दौड गरिरहेको छ तिनै देशहरु सफल छन । हो यस्तै आजको दिनमा सुचनाको युग र सामाजिक संजालको युगलाई प्रयोग गरेर मुलुकलाई निर्माण गर्न सकिन्छ भन्ने बिषय सरकार चलाउने जोसुकै होस उनले बुझ्नु पर्दछ । बिना सुचना न नागरिक, न समाज, न देश कसैले पनि प्रगति गर्न सक्दैन । यसैगरि सामाजिक संजाललाई सही तरिकाले चलाउँदा यसले बनाउने नै काम गर्दछ । यसको संसार र महत्व कति धेरै छ भन्ने बुझेका युवापुस्ताले जम्मा ७२ घण्टामा मानिसहरुलाई लाखौको संख्यामा जम्मा पारेर दुईतिहाईको सरकारलाई नै ढालिदिएका छन । त्यो पनि दुईवटा ठुला पार्टीले संचालन गरेको लगभग कसैले पनि ढाल्न नसक्ने सरकार ढालिदिए । कसैले संभव छ भनेर सोच्दछ भने त्यो युवा पुस्ता हो र सामाजिक संजालका माध्यमले हो ।

डिजिटल प्रबिधिलाई चलाउन सक्दा र जान्दा यसबाट सबैकुरा संभव बनाउन सकिन्छ । कृषिलाई आधुनिक तरिकामा रुपान्तरण गरेर यसबाट आयातलाई बिस्थापित गरि निर्यातमा व्रmान्त्रि गर्न सकिन्छ, पर्यटनमा चौतर्फी प्रगति गर्न सकिन्छ, स्वदेशमै रोजगारी निर्माणमा महत्वपुर्ण फड्को मार्न सकिन्छ, उत्पादनमा छलाङ मार्न सकिन्छ तर यसको मर्म र महत्व बुझेर कार्य गर्नुपर्दछ । हो यही मर्म र महत्व बुझ्न नसक्नेहरुकै कारणले गर्दा यसको मर्म बुझेकाहरुले सरकारलाई बन्दुक नचलाई नै ढालिदिन्छन । सरकार पुरानै बन्दुकमा भर परेर बसेको छ । नयाँ पुस्ता नयाँ सामाजिक बिचारको हतियार बोकेको छ ।

यदि अब नयाँ युवा पुस्ता संग सहकार्य वा भिडन्त जे गरे पनि डिजिटलबारे गहिरो अध्ययन गर्नैपर्दछ । डिजिटलमा प्रतिबन्ध लगाउनु भनेको बन्ध्याकरण गरिसकेकाहरुले बच्चा जन्माउन खोज्नु जस्तै हो ।

अहिले धेरै मानिसहरु सामाजिक संजालका माध्यमबाट राम्रो कमाईरहेका मात्रै होईन राम्रो संगले ब्यापार गरिरहेका पनि छन । नेपालमा सामाजिक संजालको माध्यमबाट आईरहेको डलर सकारात्मक छ अन्य ब्यापारहरु नकारात्मक हुने गरेकोमा सामाजिक संजालबाट आउने हुने आम्दानी सकारात्मक हुनु जेनजी पुस्ताहरुका कारणले हो । यो र यस्ता बिषय बुझ्न नसक्नु सरकारी कमाजोरी हो । हो सरकारी कमीकमजोरीहरुको बारेमा लेख्न पाउनु जनताको अधिकार हो भनेरै लोकतान्त्रिक संबिधान जारी गरिएको हो । लेख्न पाउदा नै नागरिकहरुले सुन्दर बिषयहरु प्रस्तुत गरिरहेको हामीले देखेका छौ के यसलाई रोक्नु सही हो त ? सामाजिक संजाल सुन्दर सिर्जनाहरुको संगालो पनि हो । आफ्नो सिर्जना लेख्न र बोल्न सक्नेहरुले सिर्जना ब्यक्त गर्दछन । तर केहीले यसको दुरुपयोग पनि गरेका छन । सरकारको आवश्यकता भनेको नियमन गर्ने मात्रै हो ।

के अन्तरिम सरकारले समस्या समाधान गर्न सक्छ र ?

धेरै नेपालीहरुले बिगतमा जस्तै नयाँ बनेको सरकारले समस्या समाधान गर्नेमा शंका गरिरहेका छन । ठीक हो शंकाको सुबिधा सबैले पाउँछन नै । तर यसबीचमा धेरै नेपालीहरुले काँग्रेस, एमाले र माओवादीले गरेका गल्तीहरुको नसियत पाउनुपर्ने माग रहेको छ । तर त्यो नसियत दिन सजिलो छ त ? यतिबेला सबैभन्दा पहिला राज्यबाट लुट्नलाई पल्केकाहरुले त्यो माग कुनै हालतमा सही लागेको छैन । उनीहरु यसप्रकारका अनुसन्धानलाई खुलेआम चुनौती दिन्छन । लेख्नलाई र बोल्नलाई भएको स्वतन्त्रता माथि टेकेर उनीहरुको समेत तर्क सुन्नु पर्दछ ताकि कुन तर्कले लुट्न पाईन्छ भनेर उनीहरुले बहस गर्ने रहेछन ? यो बारेमा अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले नै सबै बिषयमा टुंगो लगाउने होईनन । धेरै केशहरु छन ति धेरै प्रकारका केशहरु मध्ये केही यस्ता गम्भिर तथा तत्काल छानबिन नगरे अन्य केशहरु समेत ओझेलमा पर्दछन । ति केशहरु माथि कार्कीले छानबिनको दायरामा ल्याएर टुंगो मात्रै लगाए पनि स्थिति धेरै हदसम्म सामान्य बन्न सक्छ । तर प्रतिकारका लागि अनेकौ खालका प्रयास गर्नेछन राज्य लुटेरा समुहले ।

एउटा सिनेमामा गुण्डाहरुले जति नै ज्यादती गरेको भए पनि उनीहरु समाप्त नभए सम्म अनेकौ षडयन्त्र गरिरहन्छन नै । हो यो खेल त्यसतै हो भन्न सकिन्छ ।

कार्कीले कसरी काम गर्छन त्यो भविष्यले नै बताउनेछ तर सकारात्मक र आशावादी हुनै पर्दछ कार्कीले त्यो गर्नेछन । कार्कीलाई ज्यान मार्ने सम्मका घट्नाहरु हुनेछन । ति सबै चुनौती सामना गर्दै काममा लाग्नेछन । नगरे नेपाली जनता थप निराश हुदै नयाँ खालको रक्तपातका लागि निस्कनेछन ।

निष्कर्ष :

जतिसुकै क्रान्ति वा आन्दोलन भएपनि एकदिन समाज साम्य भएर जानेनै छ । यो नेपालीहरुको बिशेषता हो । हाम्रो चाहना हो पटकपटक आन्दोलन नहोस भन्ने । तर परिवर्तनशील समाजमा हामीले त्यो चाहेर पनि हुदैन रहेछ भनेर बुझ्नु पर्दछ । आन्दोलन जस्ले गरोस वा होस तर नेपाली जनताले अनिवार्य रुपमा श्रम र काम गर्नुपर्दछ । यदि कुनै आन्दोलन पछि सरकारले सबै कुरा गरिदिनेछ भन्ने आशा राखियो भने त्यो सोचले फेरि समस्या ल्याउनेछ । जनताले पाउने कुराको बढी आशा राखेमा समस्या आउनेछ । जागिर पाउने, भत्ता पाउने, कमिशन पाउने, पद पाउने, अवसर पाउने आदि बिषयमा अधिक दाबी हुनु नै समस्याको शुरुवात हो । यस्तो अवसरमा बरु योग्यहरु चुप लागेर बस्छन तर अयोग्य र पाँच पैसाको काम नआउनेहरु नै बढी लाभ लिन मरिहत्ते गर्दछन र समस्याको सिर्जना गर्दछन । आज सम्मको ईतिहासले त्यही कुरा देखाउँछ । योग्य र सक्षमहरु त्यही पद पाउँदा अरु हजारौ का लागि अवसर सिर्जना गर्दछन तर त्यही ठाँउ र पदमा अयोग्यहरुले पकड जमाउँदा हजारौको अवसरहरु समाप्त पारिदिन्छन । हजारौको अवसर समाप्त पार्ने पात्रहरुलाई निरुत्साहित गर्दै हजारौका लागि अवसर सिर्जना गर्ने पात्रहरुलाई प्रोत्साहनको जरुरत नै अहिलेको समाधान हो ।

यसैले भ्रष्ट्रहरुको छानबिन हुन्छ र अन्यायमा पारिएकाहरुको साँच्चिकै छानबिन गरेर न्याय प्रदान गरिन्छ भने यो समयमा त्यसमा अवरोध सिर्जना गर्नेहरु नै बास्तवमा यो राष्ट्रका दुश्मनहरु हुन । तर नेपालीकै परिचयमा, नेपालीपनमै हुने यस्तो अत्याचारहरु अब सच्चा नेपालीहरुले बुझ्नै पर्दछ र खबरदारी गर्नु नै पर्दछ । अन्तरिम प्रधानमन्त्री सुशिला कार्कीले सुशासनको शुरुवाती बाटो खनेर त्यसमा र त्यो ट्रयाकमा मुलुकलाई हिडाउनै पर्दछ उनलाई कुनै हालतमा यो वा त्यो बहानामा छुट हुने छैन ।

लेखकका बारेमा :
लेखक राई बिगत ३५ बर्ष देखि नेपालमै रहेर कृषि पर्यटन अभियान चलाउदै र उधम गर्दै बसिरहेका ब्यक्ति हुन । उनी राजनीति शास्त्रका स्नातकोतर, शिक्षाशास्त्रका स्नातक र कृषि प्राबिधिक समेत हुन । उत्प्रेरणात्मक र कृषि पर्यटन सम्बद्ध उनका २३ पुस्तक प्रकाशित छन । कृषि पर्यटनबाटै मुलुक बन्छ भनेर नेपालको ७७ वटै जिल्ला, सबै नगरपालिका र अधिकांश गाँउपालिका पुग्ने उनी पहिलो नेपाली पनि हुन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।