आह्रिसे प्रवृत्तिबाट माथि उठौं
जीवनप्रसाद राई । जेनजी अर्थात सन १९९७ देखि २०१२ भित्र जन्मेका पुस्ताले हामीलाई धेरै शिक्षा दिए । उनीहरुले गरेको भदौ २३ र २४ गतेको आन्दोलनले को कति पानीमा छन भन्ने बिषयमा स्पष्ट रुपमा शिक्षा दिएका छन । सबभन्दा पहिलो बिषय त अब राजनीति दर्शनका साथ यसलाई समय सपेक्षा रुपमा परिवर्तन र परिमार्जन आवश्यक छ भन्ने बिषयमा ठुलो शिक्षा दिलाएका छन । तर त्यो बिषय बुझ्नु र नबुझ्नु राजनीतिक दलहरुको बिषय हो । अन्ध रुपमा ब्याख्या गरिएको राष्ट्रवाद र समाजवादले हामीलाई भड्खालोमा हाल्छ भन्ने यो भन्दा गतिलो र उपयुक्त शिक्षा अरु के हुन सक्ला ? । आम राजनीतिका कार्यकर्ता पंक्तिमा पनि हनुमान हुदा र बन्दा नेताहरुले कसरी छुट पाउँछन भन्ने पनि शिक्षा दिन सफल भए । सबैलाई शिक्षा दिदाँदिदै पनि आफुले आफैलाई पनि शिक्षा दिएका छन ।
यसभन्दा अघिका राजनीतिक घट्ना तथा आन्दोलनहरु सबै बिदेशीहरुको ईसारामा भएको थियो । २००७, २०१५, २०३६, २०४६, २०६३ र २०७२ सालमा । तर २०८२ भदौ २३ मा गरिएको जेन्जी पुस्ताले गरेको आन्दोलनलाई पनि बिदेशीकै ईसारा भनिएता पनि यसलाई पुर्ण रुपमा नेतृत्व बिहिन तरिकाले नाति पुस्ताले गरेको स्वदेशी र अर्गानिक आन्दोलन हो भन्न सकिन्छ ।

(जीवनप्रसाद राई )
अहिलेको समयमा आरोप लाग्नु नौलो कुरा होईन तर त्यसलाई पुष्टि गर्ने आधारहरु खोजिनु पर्दछ । सामाजिक संजाल नै हेरेर र स्मार्ट फोनमा खेलेर हुर्केका पुस्तालाई बिदेशी वा स्वदेशी ईसारा भन्दा पनि उनीहरुलाई डिजिटल बारेमा राम्रो जानकारी राख्ने पुस्ताको रुपमा हेर्न सकिन्छ । एउटै मोबाईल तथा ल्याबटबमा संसारमा कहाँ के भईरहेको छ र संसार कसरी परिवर्तन भईरहेको छ भन्ने बिषयमा एकदमै जानकार पुस्ता नै जेनजी पुस्ता हो । र यो पुस्ता पारदर्शीता जवाफदेहिता खोज्ने पुस्ताको रुपमा पनि लिन सकिन्छ । त्यो पनि ढिला होईन तुरुन्तै चाहिन्छ भन्ने पुस्ता हो । भलै उनीहरु अनुभवका लागि भने माफी योग्य हुन्छन । उनीहरुले आम नेपालीहरुको सोच तथा बिगतको हाम्रो परम्परागत शैली भन्दा बेग्लै रमाईलो हुने भाषालाई नयाँ ढंगले प्रस्तुत गरेर सबैको मनमा उत्साह ल्याउने जागरण पनि गर्छन यो उनीहरुको खुबी हो । भनिन्छ डिजिटल शिक्षाका लागि पुरानो पुस्ता संग संगत गरेर हुदैन यसका लागि नयाँ र पछिल्लो पुस्ता संगै संगत गरिनु पर्दछ । अझ भनौ नाति पुस्ता संग संगत गर्नाले डिजिटल युगको अर्थ लगाउन र यसको अनुभव गर्न सकिन्छ । उनीहरुले दिएको योगदानको सुन्दर पाटोहरुका बारेमा छलफल गरौ ।
धमिलो पानीमा माछा मार्ने काम :
जतिसुकै पबित्र मन र बचन भएका मानिसहरुले पबत्र उद्धेश्य राखेर आन्दोलनको आयोजना गरे पनि त्यहाँ घुसपैठ हुन्छ भन्ने बिषय जेनजीहरुको आन्दोलनमा देखियो । संसारको सबै ठाँउ र मुलुकमा घुसपैठ हुन्छ भन्ने हामीले बुझ्नु पर्दछ । यस्तै प्रकारको आन्दोलन भईरहोस भनेरै कैयौ मानिसहरु दाउ हेरेर बसिरहेका हुन्छन । किनभने उनीहरुलाई त्यो भीडको मौका उठाउने हुटहुटी सधै हुन्छ । काठमाण्डौ एउटा यस्तो ठाँउ हो जहाँ हरेक प्रकार ठुला बिबाह समारोह तथा भोजहरुमा छदमभेषमा भोज बजाउने पेशेवारहरु थुप्रै हुन्छन । कर्ण शाक्यले आफ्नो अनुभवमा पनि उल्लेख गरेका छन ।
चिटिक्क कोट पाईन्टमा सजिएका मानिसहरु कुनै चिनजान नै नभएको मानिसहरुको बिहेभोजमा सरिक हुन्छन र त्यहाँ भद्र भएर सबैलाई चिनेको नाटक गर्दै पेटभरी खाना खाने प्रबृति अहिलेको मात्रै होईन उहिल्यै देखिको हो ।
उनीहरु हसिँलो अनुहार तथा चमकदार कोट पाईन्टमा सजिएका छदमभेषीहरुलाई कसैले पनि त्यो भोजका निम्तेदार होईनन भनेर अनुमान गर्दैनन बरु सबैले उनलाई आदर सत्कार गरेर अन्तरंग कुराकानी गर्दछन । ति छदमभेषीहरुले के कुरा चाहि जानेका हुन्छन भने सबै प्रकारका राजनीतिक, आर्थिक तथा सामाजिक बिषय बस्तुहरुमा समेत कुराकानी गर्न । उनीहरु त्यहाँ केवल एकछाक भोक मेटाउन आएको भनेर कसैले अनुमान लगाउन सक्दैनन । हो यही हो हाम्रो समाजले चिन्न नसकेको प्रबृतिपना ।
२०८१ साल चैत १५ गते राजातन्त्र स्थापना गरिनुपर्छ भनेर दुर्गा प्रसाईले गरेको आन्दोलनमा जुन रुपमा भाटभटेनीमा लुटपाट भयो त्यो त्यसैको उपज हो । आन्दोलनमा सरिक हुने । बाक्लो भीड भएको देखाउनमा मद्धत पनि गर्ने, कथंमकदाचित मरिहालेमा आन्दोलनमा सहभागी भएर मरेको हो भनी दाबी गर्न पनि पाउने । अनि उनलाई सरकारले दिने सुबिधिा पनि लिने सहिद घोषणा पनि गरिमाग्ने । मौका पाउने बित्तिकै लुटिहाल्ने क्या गजबको आईडिया । उनीहरुलाई भीडमा जानुको मजा नै अर्कै हुन्छ । प्राय मानिसहरु भीडमा जानु हुदैन भन्छन । यसैले नेपाली उखान पनि हुलमुलमा ज्यान जोगाउनु भन्ने नै छ । यो प्रबृतिले आन्दोलन भईरहोस भन्ने कामना गरेर बसेको हुन्छन लुटेरा प्रबृतिवाला । यसैगरि युद्ध हुनु धेरै नेपालीलाई व्रmुर वा नराम्रो लाग्छ तर युद्धबाट अकुत रुपमा फाईदा लिनेहरुले युद्ध सधै भईरहोस भनेर कामना गरिरहेका हुन्छन । यो मनोविज्ञान पनि छ भन्ने बिषय हामीले बुझ्नु पर्दछ ।
अर्थात धमिलो पानीमा माछा मार्न बानी भएकाहरुले समाजमा सधै अशान्ति भईरहोस भन्ने कामना गर्दछन । यो बिषय भाटभटेनीमा लुट्नेहरुले मात्रै होईन राजनीतिमा लुट्न पल्केकाहरुले पनि सोच्ने त्यस्तै हो । अझ भाटभटेनीमा लुट्नेहरुले एउटा ब्यक्तिलाई क्षति पुर्याउछन भने राजनीतिमा लुट्नेहरुका सोचले सारा नेपालीलाई क्षति गराउँछन । यसबारेमा अमेरिकामा धेरै पहिला बैक लुटिएको घट्नाको कथा निकै रोचक छ । बैक लुटेराले २ करोड डलर लुटेको हुन्छ तर बैक मेनेजरले ५ करोड लुटेको प्रतिबेदन बनाउँछ । केही क्षणमै बैक मेनेजरले ३ करोड डलर कमाउँछ लुटेरा उल्टै उल्लु हुन्छ । अहिलेको जेनजी पुस्ताले गरेको डिजिटल आन्दोलनले अर्को उजागार गरिदिएको बिषय हो । समाजमा धेरै प्रकारका मानिसहरु लुकेर बसिरहेका हुन्छन । अर्थात समाज कुनै एउटा बर्ग, समुह, जात, धर्म अनि साम्प्रदायका मानिसहरु बाटै मात्र बनेको हुदैन । त्यही समाज भित्र अनेकौ सोच बिचार र प्रबृति भएका मानिसहरु द्धारा निर्मित हुन्छ । यसलाई अझ अर्को अर्थमा पनि बुझौ कि एउटै बर्ग, समुदाय र जातमा पनि अनेकौ प्रबृतिहरु हुन्छन भन्ने कुरा बुझ्नु पर्दछ ।
दाउ हेरेर बस्नेहरु समाजमा सबैभन्दा खतरनाक हुन्छन भन्ने बिषयमा पनि गहिरो ज्ञान दिए । त्यो प्रबृतिको अधिकतम उजागार भएको देखियो भदौ २४ गतेको बिध्वंसमा ।
भदौ २४ गतेको घट्नामा कतिको कुण्ठा, जलन, आरिस, प्रतिसोध, लगायतको प्रतिविम्ब प्रष्ट संगले देखियो । आम नेपाली समाजमा त्यो प्रबृति छचल्किरहेको मात्रै थियो पोखिने मौका भने भदौ २३ गते सिर्जित माहौलले २४ गते अनुहार देखाउने मौका पायो ।
सरकारी कार्यालयहरु, संसद भवन, सर्बोच्च अदालत, नेपाल राष्ट्र बैक, कार्यपालिका भवन सिंहदरबारहरु हाम्रै आँखा अघि जले । प्रचण्ड, देउवा, ओली लगायत ३४ जना सत्ताका मतियारहरुको घर जले यि त थिए सत्ता संचालकहरुले सही मार्गमा सत्ता संचालन गर्न नसकेको आव्रmोस । तर यतिमा मात्रै रोकिएन जलाउने कार्यहरु । ब्यापारिक संस्था र घरानाका भवन जले र ब्यावसायहरु पनि जले । जति जलाईए जानीजानी नै जलाईए । नेपाली सेनालाई यही जलाउने बिषयमा बिवादमा पनि तान्ने कार्य भयो । तर सेनाले सही समयमा निर्णय नलिएको थियो भने देशैभर धेरै सम्पत्ति जल्नेवाला थियो । मानिसहरु अर्काको सम्पत्ति जलाउनका लागि पुरै तयारी अवस्थामा थिए तर सुरक्षा निकायको सुझबुझ खासगरि नेपाली सेनाले सत्तालाई ब्यवस्थापन गर्ने कार्य गर्यो । धेरै र अकल्पनीय क्षति हुन रोकेकोबाट सेनाले रोकेको छ । यस्तो अवस्थामा सेनाले जे गरे पनि विवादित नै हुनेथियो । अकल्पनीय रुपमा जुन क्षति नेपालले थोरै समयमा ब्यहोरेको थियो त्यसमा जस्ले जतिसुकै प्रकारको बिषयमा बहस गरोस तर आम नेपालीपनमा भएको आरिसे प्रबृतिले धेरै काम गरेको थियो । आरिसे प्रबृति उत्पति भनेको नजिकैको चीनजान भएको साथीभाई, ईष्टमित्र, नालनाता तथा रगतको साईनो लाग्ने हरुबाट शुरुवात हुन्छ ।
नेपाली उखानमा ईख नभएको मानिस र बिष नभएको सर्पको काम छैन भनिएको छ । यो बिम्बात्मक उखान प्रगति गर्नका लागि सान्दर्भिक छ । तर ईख लिदा अर्काको हानी नगरिकन आफ्नो प्रगति गर्न, र अर्काको बिगार्न हुदैन भनेर सिकाईएको छैन ।
आरिसले अन्नत हानी आफैलाई हो । यो मनोविज्ञान आम नेपालीलाई बुझाउन अत्यावश्यक छ ।
पहुंच, योग्यता र ईमानदारिता बीचको फरक :
समाजमा केही यस्ता छट्टु र गोयबल्स शैलीमा प्रचार गर्न रुचाउने मानिसहरु हुन्छन । उनीहरु ताक परे तिवारी नत्र गोतामे नेपाली उखान जस्तै हुन्छन । गाईको गोबरलाई शुद्ध मानिएको छ गाईको गोबरले लिपपोत सबै गर्न सकिन्छ, चोख्याउने र शुद्ध गर्नका लागि पनि प्रयोग गरिन्छ तर भाईको गोबरलाई छुनै सकिन्दैन । पछिल्लो नेपाली समाजमा गाईको गोबर र भाईको गोबरलाई एकै ठाँउमा राख्ने प्रयास गरिएको छ । अनि नेपाली समाजमा पनि कुन गाईको गोबर हो र कुन चाहि भाईको गोबर हो त्यो छुटाउने प्रयास गरिएन । स्याल हुईया एउटाले भनेको बिषयमा धेरै भीड लगाउने जमर्को यस बीचमा भएको थियो । यस्तो हुनुमा आम नेपाली समाजमा अध्ययनको कमी देखिन्छ । अर्थात समाजमा हुर्किएको आरिसे प्रबृति एकातिर गहिरो समस्या भएको छ भने अर्कोतिर न्याय अन्याय असल, खराब, सही वा गलत छुटाउन नसक्ने अवस्थामा पुगेको देखिन्छ ।
पहुँच एउटा महत्वपुर्ण बिषय हो । जस्तै बलिउड र हलिउडका फिल्म उधोगका सुपरस्टरहरुका छोराछोरीहरु अन्य सामान्य मानिसहरुका छोराछोरीहरु भन्दा सजिलै त्यो उधोगमा पहुँच राख्दछन त्यो बिषय त्यहीका अन्य सामान्य नागरिकले बुझेका हुन्छन । ठीक यही कुरा नै नेपालमा पनि हुन्छ भन्ने बिषय हामीले बुझ्न नसक्नु बहुत बिडम्बना हो । हो सत्ताका नजिक हुनेहरुले पहुँच राख्दछन यसलाई अन्यले ठुलो आरिसको रुपमा ब्याख्या गरिएको छ । यसलाई मात्रैै सामान्य मान्ने हो भने स्थितिलाई धेरै हदसम्म सहज बनाउन सकिन्छ ।
यहाँ ठुलाको मात्रै आरिस होईन एउटा गिटी कुट्नेले अर्को गिटी कुट्नेको पनि आरिस गरिरहेकै हुन्छ । खासमा कम उन्नती गर्ने गिटी कुट्नेले बढी उन्नती गर्नेलाई आरिस गर्दछ ।
यहाँनेर नेपालीले के कुराको बिचार गर्दैनन भने बुद्धि र बिवेक प्रयोग गर्न जान्नेले अरु भन्दा बढी प्रगति गर्दछन र त्यसबाट शिक्षा लिन पर्दछ र सिक्नु पर्दछ भन्ने बिषय बिर्सन्छन ।
अर्को हो योग्यता, योग्य मानिसहरु सही ठाँउमा र सही समयमा भएनन भने धेरै बिषयबस्तुहरु बिग्रदै जान्छन । अहिलेको नेपालको अवस्था ठीक त्यही हो । जस्तै कुलमान घिसिङ एक कुशल प्रशासक र प्राबिधिक हुन भन्ने कुरा नेपाली काँग्रेसका डा. रामशरण महतले नै ठम्याएका हुन यसै आधारमा पुष्पकमल दाहाल प्रचण्डले उनलाई बिधुत प्राधिकरणमा ल्याएका थिए । दुईतिहाईको सरकारले उनलाई बलजफ्ती प्राधिकरणबाट निकालिए तर फेरि उनलाई उर्जा मन्त्रीमा स्थान पाए त्यो उनको योग्यता र क्षमताको कारणले हो । अर्थात कुलमानको योग्यता र क्षमता भनेको उर्जा क्षेत्रका लागि हो । तर नेपाली समाजका केही बिजेहरुले भन्छन कुलमानलाई प्रधानमन्त्री बनाउनु पर्छ हो यही बिषय नै गहिराईमा गएर नबुझ्नु हो । कुलमानले उर्जा क्षेत्रमा जति दत्तचित्त भएर काम गर्न सक्छन त्यो प्रधानमन्त्री भएर गर्न सक्दैनन । कुलमान दक्ष तथा दुरदृष्टि भएका अब्बल प्राबिधिक ब्यवस्थापक हुन भन्ने बिषय नै हामीले भुल्न नहुने कुरा हो । अत अहिलेको अवस्थामा योग्यहरुलाई सही स्थान नदिएर ठुलो समस्या निम्तिएको सही हो भन्ने बिषय भुल्नु हुदैन ।
अब रह्यो ईमान्दारिताको कुरा । नेपालमा अब्बल क्षमता कुलमान भन्दा पनि अब्बल अरु प्राबिधिक ब्यवस्थापकहरु छन तर उनीहरु ईमान्दार छैनन भन्ने बिषय बुझ्नु पर्दछ । नेपालमा अब्बल तथा योग्य मानिसहरु धेरै छन तर केही बाहेक अरु ईमान्दार छैनन भन्ने हो । अर्थात बेवी वुमर्स तथा जेन एक्स पुस्ता भनेको भ्रष्ट्राचार गर्न रुचाउने तथा सम्पत्ति कमाएर अकुत रुपमा राख्न रुचाउने पुस्ता हो । नेपालको अहिलेको अवस्थामा जति पनि प्रशासक, नेता, राजनीतिज्ञ, ब्यापारी, कर्मचारी रहेका छन ति सबै जेन एक्स पुस्ताका बाहुल्य रहेका छ । उनीहरुको जीन नै भ्रष्ट्राचार गर्ने भन्ने सोचले ग्रसित हुन्छन तर त्यो भित्रमा केही मानिसहरु भने अपबाद हुन्छन उनीहरु ईमान्दार हुन्छन । हो त्यस्ता ईमान्दार ब्यक्तिहरुले धेरै बेईमानहरुले स्थान दिदैनन ।
पछिल्लो अन्तरिम सरकारले जुन रुपमा तीनजना मन्त्रीहरुको नियुक्ति गरेको छ तिनीहरु आफ्नो कार्यक्षेत्रमा ईमानदार मानिसहरु हुन । अब उनीहरुले बिना रोकावट काम अघि बढाउन पाउनु पर्दछ ।
निष्कर्ष :
हामी नेपालीहरु अधिकांश अर्काको प्रगतिबाट जल्ने प्रबृतिका छौ । नेपालीहरु संसारको जुनसुकै मुलुकमा पुगेर पनि यो प्रबृति देखाउन उद्यत हुन्छौ । यो नै हाम्रो समस्याको मुल जड हो । यही बिषयले ग्रसित भएर नै काँग्रेसमा गुट, उपगुट हुन्छ । त्यही कुरा एमालेमा पनि रोगको रुपमा आउँछ । माओवादी लगायतका अन्य पार्टीहरुमा समेत महामारीको रुपमा फैलान्छ । जो अगुवा त्यही बाटोमा हगुवा भन्ने नेपाली उखान जस्तै जसबाट शसित हुनुपर्ने हो र उदाहरण प्रस्तुत हुनुपर्ने हो त्यहीबाट समस्या सिर्जना भएपछि त्यो समाजका आम तप्कामा समस्या आउनु स्वभाविक नै हो । त्यो बिषय आम नागरिक समाजमा फैलिन्छ । जसले मुलुक बनाउँदैन उचित मौका र समयमा मुलुकलाई भत्काउने कार्य गर्दछ ।
यस्तो अवस्थामा को राम्रो र को नराम्रो समाजले ठम्याउँन सक्दैन । अतः यसैले मुलुकमा नागरिकहरुका निमित्त आरिसे प्रबृति उन्मुलन गर्नका लागि राज्यले निकै ठुलो धनराशी खर्च गर्नुपर्ने आवश्यकता देखिन्छ । एउटा निश्कर्षमा भन्न सकिन्छ कि मुलुकमा भएको धनजनको क्षतिमा पनि धेरै हदसम्म आरिसे प्रबृतिबाट काम भएको हो भन्न सकिन्छ । यसैले यसको जरा पत्ता लगाएर पुनः यस्तो घट्ना हुन नदिनका लागि बिशेष रुपमा काम गर्न पर्ने देखिन्छ । जस्तै अमेरिकामा ११ सेप्टेम्बर, २००१ मा भएको आतंककारी हमलामा धेरै ठुलो क्षति भएको थियो । त्यसबारेमा हमलाकारीहरुको मनोविज्ञान के छ ? किन उनीहरु त्यसरी गर्छन ? कस्तो शिक्षा दिन्छन र कसरी उत्प्रेरित गर्छन भनेर बुझ्नका लागि धेरै लगानी गरियो । अर्थात धेरै मात्रामा त्यो अध्ययनका लागि अमेरिकाले खर्च गरेको देखिन्छ । त्यसयता अमेरिकामा त्यो खाले घट्नाहरु भएको छैन । २५ बर्ष सम्म रोक्न सक्नु त्यो अमेरिकाको ठुलो सफलता हो । यस्तै बिषयमा नेपालमा पनि आरिसे प्रबृतिलाई न्युनिकरण गर्न र नेपाली नेपाली बीच रचनात्मक प्रतिस्पर्धा गर्नका लागि एक छुट्टै प्रकारको लगानी गर्नुपर्ने आवश्यकता देखिन्छ । आरिस के हो ? आरिस किन ? आफुले के काम गर्दा आरिस हुदैन भन्ने बिषयमा सरकारले छुट्टै परामर्श केन्द्र खोलेर अनलाईन शिक्षाहरु प्रदान गर्न ढिलाई गरिनु हुदैन ।
लेखकका बारेमा :
(लेखक राई बिगत ३५ बर्ष देखि नेपालमै रहेर कृषि पर्यटन अभियानमा प्रतिबद्ध ब्यक्ति हुन । एम.ए., बि.एड गरेका उनी कृषि प्राबिधिक समेत हुन । कृषि पर्यटन अभियान लिएर देशको ७७ वटै जिल्लाको कुनाकन्दरामा पुग्ने पहिलो नेपाली समेत हुन । उनका कृषि पर्यटन र उत्प्रेरणात्मक २३ पुस्तक प्रकाशित छन । भोजपुर होम्ताङमा जन्मिएका उनी स्थायी कर्मक्षेत्रका लागि धनकुटाको हिलेलाई रोजेका छन । – सह सम्पादक)


