मोरङमा घर निर्माणका क्रममा दुर्घटना हुंदा एक महिलाको मृत्यु, ३ जना गम्भिर घाईते
बेलबारी। मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ खोर्सानेमा घर निर्माणका क्रममा दुर्घटना हुँदा मंगलबार साँझ १ जना महिलाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
निर्माणका क्रममा मसला बोक्ने याङ्गलको डोरी चुँडिएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घटना साँझ करिब ५ः२० बजेतिरको हो । स्थानीय होमबहादुर कटुवालको घर ठेक्कामा लिएर निर्माण गर्दै आएका खड्गबहादुर कार्कीले लगाएका कामदारले याङ्गलको प्रयोग गरेर मसला बोक्ने क्रममा दुर्घटनामा भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
उनका अनुसार मसला बोक्ने क्रममा डोरी चुँडिएर झरेको याङ्गलले किच्दा बेलबारी नगरपालिका–९ डाँगीहाटकी ४८ वर्षीय देवकुमारी राजवंशीको मृत्यु भएको हो ।
याङ्गलले लागेर गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर प्रहरीले उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाएको थियो । अस्पताल पुर्याउनसाथ साँझ ६ः१० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।याङ्गलले किचेर बेलबारी–९ की ५० वर्षीया डामानी राजवंशी, ४० वर्षीया शर्मीला राजवंशी र ३१ वर्षीया रेनुका राजवंशी घाइते भएका छन् ।
नोबेल अस्पतालमै उपचाररत उनीहरुमध्ये डामानी र शर्मीलाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । रेनुकाको अवस्था सामान्य छ ।
लापरबाहीपूर्ण तरिकाले घर निर्माण गरिँदा दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।


