झापामा करेन्ट लागेर एक पुरुषको मृत्यु
झापा, कार्तिक २२ । झापा जिल्लाको मेचिनगर नगरपालिका–४ बाहुनडाँगीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
शनिबार बिहान करिब १०ः३० बजेको समयमा ५५ वर्षीय विकास प्रधान आफ्नै माछा पोखरीमा हात्ती रोकथामका लागि जडान गरिएको फेन्सिङ तारबाट करेन्ट लिएर माछा मार्ने क्रममा अचानक करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए ।
उनलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । तर, अस्पताल पुर्याउने वित्तिकै करिब ११ः२० बजे डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाको क्रममा पोखरी छेउमा बाँधिएको एक गाईलाई समेत करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको टोलीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ ।


