हावाहुरीले लेटाङ अन्धकारमा
लेटाङ,१४ चैत । मोरङको लेटाङ क्षेत्रमा गएराति परेको मुसलधारे वर्षा र तीव्र हावाहुरीका कारण विद्युत सेवा अवरुद्ध भएको छ।
लेटाङ विद्युत कार्यालयका प्रमुख गोपाल पराजुलीका अनुसार किर्तिमान, बुधबारे, कमलपुर र खेरुवा क्षेत्रमा हालसम्म १२ वटा हाईटेन्सन लाइनका पोलहरू ढलेका छन्। लेटाङ बजार क्षेत्रमा आज साँझसम्म विद्युत आपूर्ति पुनःस्थापना गर्ने प्रयास भइरहेको जनाइएको छ भने क्षतिको पूर्ण विवरण अझै संकलन भइरहेको छ।
लेटाङ नगरपालिका–३ किर्तिमान क्षेत्रमा असिनापानीसहित आएको हावाहुरीले थप क्षति पुर्याएको छ। सडक किनारमा गाडिएका विद्युतका पोल ढलेपछि मुख्य सडक अवरुद्ध बनेको छ भने सवारी साधनको आवतजावत पूर्ण रूपमा प्रभावित भएको स्थानीयले बताएका छन्। हावाहुरीका कारण कम्तीमा दुई वटा ट्रान्सफर्मर भुइँमा लत्रिएको र विद्युतका तारहरू घरआँगनसम्म झुन्डिएको अवस्थामा रहेका कारण जोखिम समेत बढेको छ।
ढलेका पोल र तार हटाउने काम सुरु गरिएको भए पनि पूर्ण रूपमा विद्युत सेवा सुचारु हुन समय लाग्ने अनुमान गरिएको छ।


