संखुवासभामा भिरबाट खसेको ढुंगाले लागेर घाइते वृद्धको विराटनगरमा मृत्यु
विराटनगर । संखुवासभामा भिरबाट खसेको ढुंगाले लागेर गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ।
मृत्यु हुनेमा संखुवासभाको सिलिचोङ गाउँपालिका–४ माङतेवाका ६८ वर्षीय बागसिङ कार्की रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका अनुसार खेतमा पानी ल्याउन कुलोको मुहान सफा गरी घर फर्किने क्रममा सोमबार दिउँसो करिब ४ बजे भिरबाट खसेको ढुंगाले कार्कीको टाउकोमा प्रहार गरेको थियो।
घटनामा गम्भीर घाइते भएका कार्कीलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल ल्याइएको थियो। तर, अस्पताल ल्याइपुर्याएलगत्तै चिकित्सकले मंगलबार बिहान करिब ४ बजे उनलाई मृत घोषणा गरेका थिए।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


