एम्बुलेन्स दुर्घटना, चालक सहित चार जना घाइते
बांके । बाँकेको बैजनाथ गाउँपालिका–१ हात्तिसारस्थित रत्न राजमार्गमा एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।
रुकुम पश्चिमबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे.१ झ.३६५ नम्बरको एम्बुलेन्स अन्य सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ। एम्बुलेन्स रुकुम पश्चिमको चौरजहारी नगरपालिका–५ का ३४ वर्षीय दिपेश ढकालले चलाएका थिए।
दुर्घटनामा चालक ढकालसहित चौरजहारी नगरपालिका–१० का २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनिता रेग्मी र ७२ वर्षीया लिलावती बुढा घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको छ। उनीहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।


