मोरङमा करिब १९६ ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ
मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मङ्गलबारेस्थित एक घरबाट प्रहरीले १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पथरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त प्रहरी टोलीले मोतिराज लिम्बुको घरमा खानतलासी गरेको थियो। खानतलासीका क्रममा १९६ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर फेला परेपछि प्रहरीले उक्त पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा पथरीशनिश्चरे नगरपालिका–१० का ३३ वर्षीय मोतिराज लिम्बु र रंगेली नगरपालिका–६ का ३३ वर्षीय मिथुन शाह रहेका छन्।
दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


