हयारी केनको गोलसँगै इंग्ल्याण्ड अन्तिम १६ मा प्रवेश
काठमाडौं, १८ असार । फिफा विश्वकप २०२६ को अन्तिम–३२ चरणमा डिआर कङ्गोलाई २–१ ले हराउँदै इंगल्याण्ड अन्तिम १६ मा सुरक्षित भएको छ ।
कप्तान ह्यारी केनले अन्तिम १५ मिनेटमा गरेको २ गोलको मद्दतमा इंग्ल्यान्ड अन्तिम १६ मा प्रवेश गरेको हो ।
अटलान्टा स्टेडियममा बुधबार राति भएको खेलमा डिआर कङ्गोले ७ औं मिनेटमा नै अग्रता लिएको थियो । कंगोको ब्रायन सिपेङ्गाले गोल गर्दै इंग्ल्यान्डलाई दबाबमा पहिलो हाफ र दोस्रो हाफको अन्तिम १५ मिनेटसम्म दबाबमा राखेको थियो ।
पहिलो हाफभरि इंग्ल्यान्डले खेलमा पकड बनाए पनि गोल गर्न नसके पछि उसको अन्तिम १६ को यात्रा अनिश्चित झै भयो । डिआर कङ्गोका गोलरक्षक लियोनाल एम्पासीले लगातार उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाइरहन सफल भए ।
तर, दोस्रो हाफको ७५औं मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको क्रसमा उत्कृष्ट हेडरमार्फत केनले बराबरी गोल गरे र त्यसपछि निर्धारित समय सकिन ४ मिनेट बाँकी रहँदा फेरि अर्को गोल गरे, जुन जीतका लागि निर्णायक भयो । विश्वकपमा उनको यो पाँचौं गोल हो।
अब इंग्ल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि सह–आयोजक मेक्सिकोसँग प्रतिस्पर्धा गर्नेछ। यता, उत्कृष्ट प्रदर्शन गरे पनि डिआर कङ्गो अन्तिम समयमा विश्वकपबाट बाहिरिएको छ।

