झापामा साइकल सहित हिलोमा गाडिएको अवस्थामा पुरुष मृत फेला
झापा । झापाको हल्दीबारी गाउँपालिका–२ कलाधर बस्तीस्थित हल्दीबारी–बिर्तामोड भित्री पक्की सडकछेउको जोतिएको खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
स्थानीयले बिहीबार बिहान करिब ५ः२० बजे साइकलसहित अनुहार हिलोमा गाडिएको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी चौकी हल्दीबारीबाट खटिएको टोली घटनास्थल पुगेको थियो।
प्रहरीका अनुसार मृतक बिर्तामोड नगरपालिका–९ निवासी ४९ वर्षीय होमप्रसाद सुवेदी हुन्। उनको पहिचान छोरी हल्दीबारी गाउँपालिका–२ निवासी योगमाया सुवेदी भट्टराईले गरेकी हुन्।
घटनास्थल सुरक्षित राखेर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। सुवेदीको मृत्युको कारण भने हालसम्म खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।


