उदयपुरमा ट्रकसँग मोटरसाइकल ठोक्किँदा महिलाको मृत्यु, श्रीमान् घाइते
उदयपुर । उदयपुरमा ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट कटारीतर्फ जाँदै गरेको स ५ प ४९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख २८४२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक उदयपुरगढी गाउँपालिका–३ निवासी २८ वर्षीय एमबहादुर बिक घाइते भएका छन्। पछाडि सवार उनकी श्रीमती २८ वर्षीया यमुना बिक गम्भीर घाइते भएकी थिइन्। उपचारका लागि जिल्ला अस्पताल गाईघाट लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनामा संलग्न ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


