धरानमा ब्राउन सुगर र नगद सहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाका दुई स्थानबाट प्रहरीले ब्राउन सुगरजस्तो देखिने लागूऔषध र नगदसहित दुई जनालाई पक्राउ गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी पोस्ट जोरसखुवाको संयुक्त टोलीले असार १८ गते सञ्चालन गरेको अभियानमा धरान–१५ बिग फुटसल नजिकबाट ४३ वर्षीय शंकर गिरीलाई पक्राउ गरेको हो। उनको साथबाट २.०८ ग्राम ब्राउन सुगरजस्तो पदार्थ र ६ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
यस्तै, धरान–७ पानमारा स्टेनस्थित होटल सञ्चालन गर्दै आएका ३६ वर्षीय रितेश भुजेललाई पनि पक्राउ गरिएको छ। उनको साथबाट ३.०४ ग्राम ब्राउन सुगरजस्तो पदार्थ र ४७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय धरानमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।


