भोजपुर,इलाम र तेह्रथुममा सहित पहिरो र बाढीले विभिन्न राजमार्ग प्रभावित, केही सडक अझै अवरुद्ध
काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित भएका छन्। नेपाल प्रहरीले असार १९ गते बिहान ९ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक एकतर्फी सञ्चालनमा रहेको, केही पूर्ण रूपमा सुचारु भएको तथा केही सडकखण्ड अझै अवरुद्ध रहेको जनाएको छ।
प्रहरीका अनुसार कोशी प्रदेशको भोजपुर नगरपालिका–५ बोखिमस्थित मध्यपहाडी लोकमार्ग पहिरोका कारण एकतर्फी सञ्चालनमा छ भने इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको छ। तेह्रथुमको म्याङलुङ नगरपालिका–६ सिस्नेखोलास्थित मध्यपहाडी लोकमार्ग भने सञ्चालनमा आएको छ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ क्षेत्रमा बाढीको जोखिमका कारण खुर्कोट–नेपालथोक–कटुञ्जेबेंसी हुँदै चल्ने बीपी राजमार्गमा सवारी सञ्चालन रोकिएको छ। कालढुंगा–भ्याकुरे खोलास्थित बीपी राजमार्ग भने सञ्चालनमा आएको प्रहरीले जनाएको छ। यस्तै, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ अन्तर्गतको कुलेखानी–फाखेल–हुमाने–फर्पिङ सडकखण्ड मर्मतका लागि असार २५ गतेसम्म पूर्ण रूपमा बन्द रहनेछ। चितवनको इच्छाकामना गाउँपालिका–६ पानीधारास्थित मुग्लिङ–नारायणगढ सडकखण्ड भने एकतर्फी सञ्चालनमा रहेको छ।
लुम्बिनी प्रदेशमा अर्घाखाँचीको पाणिनी गाउँपालिका–२ ढुङ्गेखोलास्थित सालझण्डी–ढोरपाटन सडकखण्ड तथा पाल्पाको तानसेन नगरपालिका–८ डुम्रेस्थित सिद्धार्थ राजमार्ग सञ्चालनमा आएका छन्।
कर्णाली प्रदेशको रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोलामा आएको बाढीका कारण जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर सडकखण्ड भने पूर्ण रूपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ।


