मापसे गरेर विद्यालयको भ्यान चलाउँदा दुर्घटना, दुई विद्यार्थी घाइते
पोखरा । कास्कीको पोखरा महानगरपालिका–१७ मुस्ताङचोकमा मादक पदार्थ सेवन (मापसे) गरी विद्यालयको भ्यान चलाउँदा दुर्घटना भएको छ। दुर्घटनामा दुई जना विद्यार्थी सामान्य घाइते भएका छन् भने चालकलाई प्रहरीले पक्राउ गरेको छ।
हेप्पी बोर्डिङ स्कुलको ग १ क ६६२२ नम्बरको भ्यान बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पोखरा–६ दिगोपाटनका १६ वर्षीय अमृत परियारको बायाँ खुट्टामा तथा पोखरा–१८ सेदीका १६ वर्षीय अंकित कुँवरको दायाँ हात र खुट्टामा सामान्य चोट लागेको छ। दुवैलाई उपचारका लागि नमस्ते अस्पताल पठाइएको छ र उपचार भइरहेको छ।
दुर्घटनापछि सम्पर्कविहीन भएका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ५२ वर्षीय चालक बलराम भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा उनले मादक पदार्थ सेवन गरेर सवारी चलाएको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


