सामुदायिक वनबाट ११ थान अवैध भरुवा बन्दुक बरामद
पर्वत । पर्वत प्रहरीले जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा लुकाइराखिएका ११ थान अवैध भरुवा बन्दुक बरामद गरेको छ।
जिल्लाभित्र हुन सक्ने वन्यजन्तु तथा पशुपक्षीको अवैध सिकार नियन्त्रण तथा शान्ति–सुरक्षा कायम राख्ने उद्देश्यले सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत शुक्रबार कुश्मा नगरपालिका–१४ स्थित पानी सामुदायिक वनबाट ७ थान र जलजला गाउँपालिका स्थित सौरेनी सामुदायिक वनबाट ४ थान गरी ११ थान बेवारिसे भरुवा बन्दुक फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
प्रहरीले बरामद भएका सबै बन्दुक कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएर राखिएको जनाएको छ।
प्रहरीका अनुसार हालसम्म अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट कुल १९ थान बेवारिसे अवैध एकनाले भरुवा बन्दुक बरामद गरिएको छ।


